९-१५ वैशाख २०७५ | 22-28 April 2018

वाल पेन्टिङ

Share:
  

घर आम नेपालीको सपना हो । त्यसैले सानो–ठूलो जस्तोसुकै भए पनि आफ्नो पसिनाको सिर्जनामुनि ओत लाग्न पाउँदा सबैलाई आनन्द लाग्छ । त्यसपछिको काम शयन कक्ष, बैठक कोठा, भान्सा र शौचालयमा आवश्यक सरसामानको सही व्यवस्थापन गर्नु हो । अनि मात्र आउँछ, साजसज्जा । आम मानिसका लागि पहिलो प्राथमिकता सजावटभन्दा पनि अत्यावश्यक सामग्रीको जोहो नै हो ।

घरको साजसज्जाले व्यक्तिको रुचि, सोख र आर्थिक हैसियत उजागर गर्छ । किनभने, गाँस, बास र कपासको जोहो भइसकेपछि मात्र सजावटको कुरा आउँछ ।

घर सजावटमा बाहिरी र भित्री भागलाई ध्यान दिइन्छ । खासगरी बाहिरी भागमा सबैको आँखा पर्ने भएकोले घरको डिजाइन, रङरोगन, बगैंचा सजावट, प्रकाश व्यवस्थापनमा खास महत्व दिइन्छ । भित्री अर्थात् इन्टेरियर डिजाइन र सजावटलाई पछिल्लो समय निकै महत्व दिन थालिएको छ । त्यसैमध्येको नयाँ शैली हो– ‘पर्मानेन्ट टेक्स्चर पेन्ट’ र वाल पेन्टिङ ।

यो शैलीअन्तर्गत कोठाका भित्ता क्यानभास हुन्, जहाँ कुचीको प्रयोगले सुन्दर कलाको सिर्जना गरिन्छ । जुन अर्कोपटक रङ नलगाउञ्जेलसम्मका लागि स्थायी रुपमा बस्छ ।

त्यसो त यसअघि पनि घरका भित्ता आकर्षक कलाले नसजिएका भने होइनन् । आफूलाई मनपर्ने विभिन्न डिजाइनका वालपेपर, ठूला–साना स्केच, सुन्दर दृश्य र तस्वीर झुण्ड्याउने र टाँस्ने चलन नयाँ होइन । तर, अहिले घरभित्र कलालाई खास स्थान दिन थालिएको छ ।

तिनैमध्येमा पर्छन्, काठमाडौं, धुम्बाराहीका केभिन अमात्य । घरलाई मर्मत र पुनः रङरोगन गर्ने क्रममा उनले बैठक कोठाको भित्तामा ‘पर्मानेन्ट टेक्स्चर पेन्ट’ गराए । अहिले बैठक कोठाको भित्ता बुट्टेदार कलाले सजिएको छ ।

“बुट्टेदार कलाले कोठाको रौनक नै थपिदिएको छ”, अमात्य भन्छन् । चित्र देखेपछि घरमा आउने पाहुना र साथीहरू प्रतिक्रिया नदिइरहन सक्तैनन् । “सबैले राम्रो गरेछौ भनेको सुन्दा आनन्द लाग्छ”, उनी भन्छन् । बुट्टेदार कला पोतिएको भित्तामा धूलोमैलो लागेमा पानीले पुछ्न पनि मिल्छ ।

धेरैले वाल पेन्टिङमा फूल, रुख, पातैपातका हाँगा, पशुपक्षी, जून–ताराहरू बनाउने गरेका छन् । यसले घरभित्रै बस्दा पनि प्राकृतिक शीतलताको अनुभूति दिलाउन मद्दत गर्छ । यसबाहेक मानिसका आकृति, प्रेमभावका कला पनि कोर्न लगाउने गरेका छन् । बालबालिकाको कोठामा भने बालकथाका पात्र, कार्टून र चर्चित सिरियलका कलाकारहरू पनि बनाइने गरेको छ ।

वाल पेन्टिङले कोठालाई फरक र आकर्षक बनाउनेमा दुईमत छैन । तर, यसका लागि अलि खर्च पनि लाग्छ । करीब २०० वर्ग फिटको बैठक कोठाको एकापट्टिको भित्तामा मात्रै पर्मानेन्ट टेक्स्चर पेन्ट गर्दा झण्डै रु.३० हजार लागेको उनी बताउँछन् । “प्रति वर्ग फिट रु.१५० देखि रु.२०० सम्म लाग्छ”, अमात्य भन्छन् ।

सविना देवकोटा

comments powered by Disqus

रमझम