नेपालको कुल जनसंख्याको ९ प्रतिशत मात्र बौद्ध धर्मावलम्बी छन् । बौद्ध धर्मावलम्बी हुँदैमा बौद्ध धर्म–दर्शनबारे जानकार हुन्छन् नै भन्ने अनिवार्य नहुने यथार्थलाई ध्यानमा राख्दा ९ प्रतिशतमध्ये पनि कमैलाई मात्र बुद्ध र बौद्ध धर्मका सम्बन्धमा जानकारी रहेको स्पष्ट हुन्छ । यसमा बौद्ध धर्मका सम्बन्धमा गहिरो जानकारी राख्ने अन्य धर्मावलम्बी पनि जोड्न सकिन्छ । यस्तो जमात बढ्दो भए पनि संख्या सानै छ । यसका साथै बौद्ध धर्मावलम्बी नभए पनि ‘बुद्ध नेपालमा जन्मेका हुन्, यसमा सबै नेपालीले गर्व गर्नुपर्छ’ भन्ने सोच राख्नेहरूको संख्या त ठूलै छ । सही शिक्षाको अभावमा कतिपय बौद्ध भिक्षुहरू पनि यस्तो जमातमा देखापर्ने गरेका छन् । बेलाबेला उनीहरू अनेकौं व्यर्थ क्रियाकलाप गरेर समय कटाइरहेका हुन्छन् । पैसामा भगवान बुद्धको तस्वीर हुनुपर्छ भन्दै गरिने कसरत पनि यस्तै व्यर्थको क्रियाकलापमा पर्छ । यसमा नेपालीहरूको भावुकता छ, तर बौद्ध भावना छैन ।
गौतम बुद्ध पौराणिक नभएर ऐतिहासिक पात्र भएकोमा कुनै संशय छैन । उनको जन्म इ.पू. ५६३ को वैशाख पूर्णिमामा लुम्बिनी उपवनमा भएको थियो । उक्त स्थल वर्तमान नेपालमा परेको तथ्य संसारभर स्थापित छ । लुम्बिनीलाई १ डिसेम्बर १९९७ मा संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले विश्व सम्पदा सूचीमा राखेको छ, जुन नेपालको लागि गौरवको विषय हुँदै आएको छ । कुनै राष्ट्रले आफ्नो गौरवको कुरालाई विशिष्ट स्थान दिनु स्वाभाविक हो । राष्ट्रहरूले आफ्नो नोट वा सिक्कामा सामान्यतः शासक वा विशिष्ट व्यक्तित्वहरूको तस्वीर राख्ने गरेको पाइन्छ । नोट वा सिक्कामा राष्ट्रिय गौरवका सम्पदाहरूलाई पनि समेट्ने गरिएको छ । त्यही मेसोमा बुद्धको मुहार पनि मौद्रिक वस्तुमा राख्ने कुरा भने बौद्ध भावनासँग मेल खाँदैन ।
आफूलाई बौद्ध राष्ट्रका रूपमा चिनाउने देशहरूले समेत आफ्ना नोट र सिक्काहरूमा गौतम बुद्धको तस्वीर राखेका छैनन् । उनीहरूले नपाएर वा नसकेर नराखेका होइनन् भन्ने प्रष्टै छ । इतिहासमा त्यस्तो काम नभएको भने होइन । सर्वप्रथम बुद्धको मुहार मुद्रामा अंकित गर्ने कुषाण राजा कनिष्क (इस्वीको दोस्रो सदी) थिए । उनी बौद्ध धर्मको संरक्षण र प्रसार गरेका मौर्य सम्राट अशोक (३०४–२३२ इ.पू.) जत्तिकै प्रभावशाली र बौद्ध धर्मका पक्षपाती कुषाण वंंशका राजा थिए । बुद्ध मूर्ति पनि कनिष्क कालमै बन्न थालेका थिए । उनीपछिका राजाहरूले बुद्ध मूर्ति बनाउने चलनलाई निरन्तरता दिए पनि मुद्रामा अंकनलाई निरुत्साहित गरे । पुजिने मूर्ति उचित ठाउँमा राखिने भएका कारण मूर्तिको प्रचलनले गति लियो भने मुद्राको प्रयोग जस्तोसुकै रूपमा हुनसक्ने भएकाले त्यसमा बुद्धको तस्वीर राख्ने चलन अगाडि बढेन ।
विश्वका कसैले आफ्नो धर्मको मुख्य पात्रको मुहार मुद्रामा अंकित गर्नुपर्ने आग्रह नराख्ने तर नेपालमा त्यस्तो माग र ‘लबिङ’ हुनु ताजुबको विषय हो । यस्तो माग र ‘लबिङ’ गर्नेहरूले फोटोशपमा बडो सीप लगाएर तयार पारेको बुद्धको मुहार अंकित नोट फेसबूकलगायत सामाजिक सञ्जालमा देख्न पाइन्छन् । फेसबूकमा यस्तो क्रियाकलाप नगर्न अनुरोध होइन, लाइक र सेयर गर्नेहरूकै लर्को देखिन्छ । यसले नेपाली जनमानसमा बुद्ध र बौद्ध विषय सम्बन्धी शिक्षा कति कमजोर छ भन्ने देखाउँछ । त्यसो त, ‘सोविनियर’ का रूपमा गौतम बुद्धको आकृति अंकित सिक्का निकाल्ने देश पनि नेपाल नै हो, जुन नगर्नुपर्ने थियो ।
चार पाँच वर्र्षअघि नेपालले धर्मचक्रलगायत बौद्ध विषयवस्तु अंकित नोट निस्कन लागेको समाचार प्रकाशित भएलगत्तै भारतको एक दैनिक पत्रिकाले भारतको राष्ट्रिय चिह्न (धर्मचक्र) ले नेपाली नोटमा ठाउँ पाउन लागेको भन्दै समाचार छापेको थियो । त्यो खिसी बुझेरै हुनसक्छ, नेपालले उक्त नोट प्रकाशन रोकेर राम्रै गरेको थियो ।