त्यसको झण्डै एक सातापछि बजारमा यस्तै नामको अर्को पुस्तक देखियो— ह्याण्डबूक अफ फ्लावरिङ प्लान्टस् अफ नेपाल (भाग–१) । लेखक– डा. कृष्णकुमार श्रेष्ठ, डा. सन्देश भट्टराई र प्रवीण भण्डारी । प्रकाशक– साइन्टिफिक पब्लिसर्स (भारत) ।
संयोग, उस्तै नाम गरेका र एक साताको फरकमा निस्किएका दुवै पुस्तकको लेखोट पनि एउटै हो– नेपालमा पाइने फूल फुल्ने वनस्पतिको सूची अर्थात् ‘चेकलिष्ट’ ।
नेपालले सन् १९९२ मै संयुक्त राष्ट्रसंघीय जैविक विविधता महासन्धि (सीबीडी) मा हस्ताक्षर गरिसकेको छ । सीबीडीको पक्ष राष्ट्रका नाताले सरकारले ‘राष्ट्रिय जैविक विविधता रणनीति र कार्ययोजना (२०१४–२०२०)’ पनि तयार पारेको छ, जसमा सन् २०२० सम्ममा नेपालका वनस्पतिको नालीबेली ‘फ्लोरा अफ नेपाल’ प्रकाशन गरिसक्ने प्रतिबद्धता जनाइएको छ ।
बेलायतको रोयल बोटानिकल गार्डेन इडिनबर्ग र नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नाष्ट) बीच सन् १९९९ मै ‘फ्लोरा अफ नेपाल’ जम्मा १० भागमा प्रकाशन गर्ने समझदारी भइसकेको थियो । तर, अहिलेसम्म एउटा भाग–३ मात्र प्रकाशित भएको छ ।
‘फ्लोरा अफ नेपाल’ को बाँकी नौ भाग प्रकाशनको टुंगो नलागेकै बेला यस्तो सूची तयार पार्ने वनस्पति विभागको पहल आफैंमा प्रशंसायोग्य मान्न सकिन्छ । विभागका जैविक विविधता प्रमुख सुवास खत्री सूचीका बाँकी दुई भाग पनि सन् २०२० सम्म प्रकाशन भइसक्ने बताउँछन् ।
गर्नैपर्ने काम
सन् २००० मा न्याचुरल हिष्ट्री म्युजियम लण्डन र त्रिभुवन विश्वविद्यालय केन्द्रीय वनस्पति विभागले यस्तै अर्को पुस्तक एन एनोटेटेड चेकलिष्ट अफ फ्लावरिङ प्लान्टस् अफ नेपाल पनि निकाल्यो । जेआर प्रेस, कृष्णकुमार श्रेष्ठ र डिए सुटन लिखित यो पुस्तकमा नेपालमा यस्ता वनस्पतिको २१६ परिवार, १ हजार ५३४ जाति, ५ हजार ३४५ प्रजाति भेटिएको जानकारी समावेश गरिएको थियो ।
सन् २००० यता नेपालबाट विश्वका निम्ति थुप्रै नयाँ अर्थात् रैथाने वनस्पति पत्ता लागिसकेका छन् । जसमध्ये कति प्रजाति नेपालका लागि मात्रै नयाँ पनि छन् । भर्खरै विमोचित राजभण्डारी र राई लिखित अ ह्यान्डबूक अफ दि फ्लावरिङ प्लान्टस् अफ नेपाल (भाग–१) मा ५८ वनस्पति परिवारका ४२१ जाति र १ हजार ७१५ प्रजाति समावेश गरिएको छ । पुस्तकमा ३०४ प्रजातिको तस्वीरसहित जानकारी समाविष्ट छ ।
श्रेष्ठ, भट्टराई र अधिकारी लिखित ‘ह्यान्डबूक अफ फ्लावरिङ प्लान्टस् अफ नेपाल (भाग–१) पुस्तकमा भने ९१ परिवारका ६९६ जाति २ हजार ८५७ प्रजाति समावेश छ । यसका अलावा ११३ आयातित र १३७ शंकास्पद वनस्पति प्रजातिको सूची पनि छ । मुख्य विषयवस्तुबाहेक पुस्तकमा अन्य ७ वटा परिशिष्टमा अत्यन्त उपयोगी विवरण दिइएको छ । विश्वमा पाइने वनस्पतिको तथ्यांकसहित नेपाली वनको किसिम, रैथाने वनस्पति, उपयोगको आधारमा वनस्पतिको उपादेयता संक्षिप्त रुपमा लेखिएको छ । तर, पुस्तकमा दिइएका जानकारीहरु नयाँ अनुसन्धानभन्दा पनि पुरानै प्रकाशित सामग्री र तथ्यांकका आधारमा लेखिएको जस्तो देखिन्छ । पुस्तकमा उल्लिखित वनस्पतिको नमूना कसले संकलन गरेको हो, कहाँ संग्रह गरिएको छ भन्ने जस्ता महत्वपूर्ण जानकारी खुलाइएको छैन ।
असावधानी र अन्योल
पछिल्लो समयमा वनस्पति वर्गीकरण प्रणालीमा एञ्जिओस्पर्म फाइलोजेनी ग्रुप (एपीजी) प्रचलनमा आएको छ । यो प्रणाली थप वैज्ञानिक भएको भन्दै पुरानो वर्गीकरण प्रणालीलाई विस्थापित गरिरहेको छ । त्रिवि केन्द्रीय वनस्पति विभागका प्रमुख एवं एपीजी प्रणाली अध्यापन गराइरहेका प्रा.डा. मोहन शिवाकोटीका अनुसार, यो प्रणाली अन्तर्गतको वर्गीकरणमा वनस्पतिको बाहिरी भागभन्दा डीएनए विश्लेषणलाई आधार मानिन्छ । यो विश्लेषणबाट पहिले एकै जातिअन्तर्गतका प्रजातिहरु अहिले भिन्नभिन्न जातिमा विभाजन तथा समायोजनमा परेका उदाहरण थुप्रै छन् ।
जस्तो कि, पहिले घाँस समूहको कोब्रेसिया जातिलाई अहिले क्यारेक्स जाति भन्न थालिएको छ । नेपालका दुई वटा रैथाने वनस्पति कोब्रेसिया मल्लई र कोब्रेसिया एसबिराजभण्डारीई को नयाँ नाम क्यारेक्स मल्लई र क्यारेक्स एसबिराजभण्डारीई भएको छ । कुनै वनस्पतिको त परिवार नै फरक परेको छ । पहिले बम्बाकेसी परिवारमा रहेको सिमल रुख अहिले माल्भेसी परिवारमा छ । तर, एपीजी प्रणाली नै अपनाइएको भनिएको श्रेष्ठ, भट्टराई र भण्डारी लिखित पछिल्लो पुस्तकमा क्यारेक्स र कोब्रेसियालाई फरक जाति मान्ने गल्ती गरिएको छ । अहिले क्यारेक्स ब्रेवीप्रोफाइला नाम परिवर्तन भइसकेको प्रजातिलाई पनि पछिल्लो पुस्तकमा पुरानै नाम कोब्रेसिया गन्डकियन्सिस् भनेका छन् ।
डा. भक्तबहादुर रास्कोटीको नाममा सन् २०१४ मा बुल्बोफाइलम रास्कोटीइ नाममा सुनाखरीको प्रजाति नामकरण गरिएको छ । तर, लेखकत्रयले यी र यस्ता थुप्रै नयाँ र रैथाने प्रजाति छुटाएका छन् । लिपारिज ओलीभासी पहिले नेपालको रैथाने थियो । तर, अहिले भारतमा पनि फेला परेको छ । लेखकत्रय यहाँ पनि जानकारी अद्यावधिक गर्न चुकेका छन् ।
केन्द्रीय वनस्पति विभागकी प्रा.डा. संगीता राजभण्डारी पनि दुई पुस्तकले अन्योल थपेको बताउँछिन् । उनका अनुसार, जमाने मान्द्रोलाई लेखकत्रयले माहोनिया एकान्थिफोलिया र माहोनिया नापाउलेन्सिस् भनेका छन् भने लेखकद्वय राजभण्डारी र राईले बरबेरिज नापाउलेन्सिस् । यस्तै, पछिल्लो पुस्तकमा जिम्नोस्पर्मस् पनि समावेश छ, जबकि एपीजीको पछिल्लो संस्करण अनुसार यो फूल फुल्ने वनस्पति नै होइन । यस हिसाबमा पनि एपीजी प्रणाली बेवास्ता गरिएको पछिल्लो पुस्तकभन्दा यो प्रणाली पछ्याइएको राजभण्डारी र राई लिखित पुस्तक बढी प्रामाणिक मान्न सकिन्छ ।
विज्ञकै हानाथाप!
नेपाली वनस्पति उपर धेरै पुस्तक लेखिनु राम्रो काम हो । तर, त्यसैबाट थप द्विविधा उत्पन्न गराउन सक्नेतर्फ भने विज्ञहरुकै सुझबुझ नपुगेको देखियो । तर, चार दशकअघिकै पुस्तक एन इनुमेरेसन अफ फ्लावरिङ प्लान्टस् अफ नेपाल को प्रकाशन पृष्ठभूमिबारे एकपटक घोरिएको मात्र भए पनि विज्ञहरुबाट यस्तो भुलचुक हुने थिएन भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
सन् १९५०–१९७० ताका बेलायत र जापानले नेपालबाट फरकफरक रुपमा करीब ५०÷५० हजार वनस्पतिका नमूना संकलन गरेका थिए । दुवै देश नेपालको वनस्पतिको सूची लेख्ने मनसायमा थिए ।
बेलायतका डा. डब्लुटी स्टर्नले जापानले पनि सूचीबारे काम गरिरहेको थाहा पाएपछि खुला हृदयले टोकियो विश्वविद्यालयका डा. हिरोशी हारालाई सूची तयार पार्ने संयुक्त टोलीको नेतृत्व नै गर्न अनुरोध गरे ।
आग्रह स्वीकार्दै जापानी राजघरानाका सदस्य हारा बेलायती नमूना हेर्न उहीं पुगे । हारालाई बेलायतस्थित एक ट्रष्टले पारिश्रमिक समेत उपलब्ध गरायो । त्यसैले पनि बेलायतका वनस्पतिविद्हरु आजसम्म ‘नेपालको वनस्पतिबारे पुस्तक लेख्न जापानी राजघरानाका सदस्यलाई बेलायतमै बोलाएर काम लगाएको’ कुरा गर्छन् ।
तर, हामीकहाँ भने विद्वानहरुमा त्यो उदारचित्त देखिएन । दुवै पुस्तकका मुख्य लेखक डा. केशवराज राजभण्डारी र डा. कृष्णकुमार श्रेष्ठ स्वयंमा वरिष्ठ वनस्पतिविद् मात्र नभई ‘फ्लोरा अफ नेपाल’ का सम्पादक मण्डलका सदस्य समेत हुन् । प्रकाशन निर्णय र सार्वजनिकीकरण र बढी तथ्यगत दृष्टिले वनस्पति विभागको प्रकाशनलाई दोष दिने ठाउँ देखिन्न । तर, विज्ञहरुले आपसी विमर्श गरी अल्मल्याउने नभई एउटै र आधिकारिक संग्रह प्रकाशित गर्नुमै विद्वत्ता झल्किन्थ्यो ।