१६-२२ वैशाख २०७५ | 29 Apr- 5 May 2018

शुद्घ खानेपानी

Share:
  

http://canvassnap.blogspot.com
२०७३/७४ को आर्थिक सर्वेक्षणका अनुसार, मुलुकका ८६.९७ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानी सेवा उपलब्ध छ । यसको सोझो अर्थ हो, अधिकांश भूगोलमा खानेपानीको हाहाकार छैन । तर, स्वास्थ्य सेवा विभाग, महामारी तथा रोग नियन्त्रण महाशाखाको अर्को तथ्यांक पनि छ । महाशाखाका अनुसार, दैनिक अस्पताल पुग्ने झण्डै ४० प्रतिशत बिरामीको प्रमुख कारण एउटै देखिन्छ– पानी । अर्थात्, झण्डै आधा नेपालीले पिइरहेको पानी शुद्ध छैन ।

धेरैलाई थाहा छ, हामीले पिउने पानी शुद्ध छैन । दूषित पानीका कारण झाडापखाला, हैजा, टाइफाइड, जण्डिस, आउँ, हेपाटाइटिस, दाँतको रोग लाग्ने गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार दूषित पानीका कारण लाग्ने रोगबाट विश्वमा वर्षेनि करीब २२ लाखको मृत्यु हुन्छ ।

हामीमध्ये धेरैका घरमा धारा जोडिए पनि शुद्ध पानी आउँदैन, आए पनि पर्याप्त हुँदैन । अधिकांश इनार वा बोरिङको पानीमा हानिकारक जीवाणु साथै हानिकारक लवण हुन्छ । तर, पानी शुद्ध पार्ने तरिकाबारे भने धेरैलाई थाहा छैन ।

डा. सुमन ताम्राकार बजारमा पाइने बोतल वा जारका पानी पनि अधिकांश दूषित हुने गरेको बताउँछन् । त्यसैले पानीलाई शुद्ध पारेर मात्रै पिउनुपर्छ । “बोतल वा जारको पानी पिउने हो भने त्यसको गुणस्तर परीक्षण गरेर भरपर्दो कम्पनीको मात्रै प्रयोग गर्नुपर्छ”, उनी भन्छन् ।

वयस्क व्यक्तिले दैनिक कम्तीमा डेढदेखि दुई लीटर पानी पिउनु आवश्यक मानिन्छ । पानीले स्वस्थ राख्नुका साथै रोग प्रतिरोधी क्षमता बढाउँछ । तर, पानी कसरी शुद्ध राख्ने ? यसबारे सही जानकारी राख्नु आवश्यक छ ।

कसरी शुद्ध पार्ने ?

उमाल्ने, क्लोरिनेसन गर्ने, सोडिस गर्ने, छान्ने पानी शुद्धीकरणका घरेलु उपाय हुन् । यीमध्ये पानीलाई कम्तीमा पाँच मिनेटसम्म उमाल्ने र छान्ने भरपर्दो विधि भएको डा. ताम्राकार बताउँछन् । उमालेको पानी पिउँदा जीवाणुबाट हुने खतरा हटे पनि आर्सेनिक, लिड, क्याडमियम जस्ता रसायन नष्ट हुँदैन ।

खासगरी तराई क्षेत्रका ट्युबबेल वा इनारबाट निकालिने पानीमा आर्सेनिक बढी पाइन्छ । अधिक आर्सेनिक भएको पानी पिउँदा छाला, मुटु रोग साथै क्यान्सर हुने खतरा हुन्छ । आर्सेनिकयुक्त पानी विशेष प्रकारको फिल्टरबाट शुद्ध पार्न सकिन्छ । त्यसैले पिउनुभन्दा अघि पानी प्रयोगशालामा परीक्षण गराउनुपर्ने चिकित्सकको सुझाव छ ।

सोडिस विधिमा पानीलाई पारदर्शी बोतलमा केही भाग खाली राखेर बेस्सरी हल्लाउनुपर्छ । र, चार÷पाँच घण्टासम्म घाममा राख्नुपर्छ । घामको यूभी–विकिरणसँग बोतलको खाली ठाउँमा भएको अक्सिजनले प्रतिक्रिया गर्छ, र पानीको कीटाणु मार्छ । डब्लुएचओले विभिन्न देशमा यसको सफल प्रयोग गरेको छ ।

क्लोरिनेसन विधिमा धाराको पानीमा प्रति लीटर सामान्यतया ०.१ देखि ०.५ मिलिग्राम क्लोरिन हालेर सफा पार्न सकिन्छ । बजारमा पियूषलगायत विभिन्न ब्राण्डका पानीमा हाल्ने क्लोरिन पाइन्छ ।

बजारमा पानी निर्मलीकरण गर्ने विभिन्न प्रकारका फिल्टर पनि पाइन्छन् । यस्ता फिल्टरहरू किन्दा पानी कति शुद्ध हुन्छ भन्ने पहिल्यै बुझ्नुपर्छ ।

comments powered by Disqus

रमझम