१६-२२ वैशाख २०७५ | 29 Apr- 5 May 2018

सौसुरिया रामचौधरीई

Share:
  
- कमल मादेन
हुम्लाको चुङ्सा उपत्यकामा फेला परेको रैथाने वनस्पतिले नेपाली नाम पाएको छ– सौसुरिया रामचौधरीई ।

तस्वीरहरूः राम चौधरी
चुङ्सा उपत्यका, हुम्लामा पाइने रैथाने वनस्पति जसले सौसुरिया राम चौधरीई भन्ने वानस्पतिक नाम पायो ।
सन् २०१८ फेब्रुअरीमा न्युजिल्याण्डबाट प्रकाशित फाइटोट्याक्सा जर्नलमा लेख छापियो– सौसुरिया रामचौधरीई (एस्टेरेसी), अ न्यू स्पेसिस फ्रम नेपाल । लेखक थिए– हुमकला राना, हाङ सुन, आशा पौडेल र सुरेशकुमार घिमिरे ।

सौसुरिया रामचौधरीई, वनस्पतिविद् प्रा.डा. रामप्रसाद चौधरीको नामसँग जोडिएको छ । लेखक टोलीले २०१६ सेप्टेम्बरमा त्रिभुवन विश्वविद्यालयबाट सेवानिवृत्त प्रा.डा चौधरीको सम्मानमा वनस्पतिको नयाँ प्रजातिलाई उनैको नाम दिएका हुन् ।

नयाँ प्रजाति

वनस्पतिविद् सुरेशकुमार घिमिरेलगायतको टोलीले सन् २०१२ मा हुम्लाको उत्तरपश्चिमी चुङ्सा उपत्यकाको ४,६५० मिटरको उँचाइमा आकर्षक र अनौठो वनस्पतिको नमूना फेला पारे । अनुसन्धानका क्रममा यो वनस्पति एस्टेरेसी परिवारको नयाँ प्रजाति भएको पत्ता लाग्यो । स्वाभाविक थियो, नयाँ प्रजातिको न्वारान गर्ने दायित्व पनि अनुसन्धानकर्ताहरूले नै पाए । वनस्पति अध्ययन अनुसन्धानमा अहोरात्र खटेका गुरु रामप्रसाद चौधरीलाई उनीहरूले सम्झ्एि ।

सुन्दर फूल फुल्ने सौसुरिया रामचौधरीई वनस्पति ४–६ सेन्टिमिटर अग्लोसम्म पाइएको थियो । यसको काण्ड मुश्किलले दुई–तीन सेन्टिमिटरसम्म लामो र पातहरू काण्डको वरिपरिबाट फैलिन्छन् । पात झ्ण्डै मुलाको जस्तो, ७ सेन्टिमिटरजति लामो र एक सेन्टिमिटर भन्दा थोरै कम चौडाइको हुन्छ । पातको किनारमा दुवैतिर पातला प्रष्ट देखिने दुई मिलिमिटरसम्मको दाँती अर्थात् चुच्चा आकृति हुन्छन् ।

काण्ड वरिपरि फैलिएको रुवाजस्तो डल्लो आकृतिका कारण सौसुरिया जाति बेग्लै छुट्टिन्छ । यसका सबैजसो प्रजातिमा औषधीय गुण पाइन्छ । तर, नेपालमा खासै अध्ययन नभएको यो वनस्पति चीनतर्फ बढी निर्यात हुने बताइन्छ ।

सौसुरिया रामचौधरीई अहिलेसम्म हुम्लाको चुङ्सा उपत्यकामा मात्रै देखिएको छ । जर्नलमा प्रकाशित लेखका अनुसार, चुङ्साको एकै ठाउँ यो वनस्पतिका करीब ३० वटा जति बिरुवा मात्र थिए । यस्ता वनस्पतिलाई ‘अत्यन्त संकटापन्न’ मान्न सकिन्छ ।

नेपालीका नाममा

वनस्पतिमा नेपाली नागरिकको नाम जोडिने क्रमको शुरूआत झ्ण्डै ९० वर्षअघि नै भएको थियो । नेपाली सेनाका मेजर लालध्वज सुनुवारको नाममा सन् १९२९ मा नामकरण गरिएको हेरार्क्लियम लल्ली लाई सन् १९८२ मा टेट्राटिनियम लल्ली भनिन थाल्यो । त्यसपछि रसायनशास्त्री खडानन्द शर्माको नाममा सन् १९४१ मा प्रिमुला शर्मी दर्ता भएको देखिन्छ ।

त्यसक्रममा अहिलेसम्म १६ जना नेपालीको नाममा २७ प्रजाति (१ च्याउ, २ ढुसी र २४ फूल फुल्ने वनस्पति) को नामकरण गरिएको छ । र, तीमध्ये २१ प्रजाति त नेपालमा मात्रै पाइने रैथाने वनस्पति हुन् । तर, रैथानेमध्ये कति प्रजाति लोप भइसके, कति अस्तित्वमा छन् भन्नेबारे भने अध्ययन हुनै बाँकी छ ।

वनस्पति विभागले केही रैथाने वनस्पति गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानमा रोपेर संरक्षण गर्ने कार्यमा थालनी पनि गरेको छ । तर, अल्पकालीन चिन्ता भन्दा पनि दीर्घकालीन कार्ययोजना बनाउनु जरूरी छ । फ्लावरिङ प्लान्टस् अफ नेपाल, एन इन्ट्रोडक्सन’ (सन् २०१७) पुस्तकका अनुसार, नेपालमा फूल फुल्ने वनस्पतिका ३१२ प्रजाति पाइन्छन् । हरेक प्रजातिको संरक्षण र स्थितिबारे विभागलाई पर्याप्त जानकारी हुनुपर्छ ।

comments powered by Disqus

रमझम