२३-२९ वैशाख २०७५ | 6-12 May 2018

आधुनिक टेबल–पोस

Share:
  

टेबल–पोसः परम्परागत सीपमा ऊनी धागोबाट हातले बुनेर बनाइएको (बायाँ) र प्लास्टिकबाट बनेका आयातित ।
टेबल–कभर, टेबल–क्लोथ, टेबल–सिट वा टेबल पोस झट्ट हेर्दा सजावटका लागि मात्र प्रयोग गरिए जस्तो देखिन्छ । तर यसको उपयोगिता यतिमै सीमित छैन ।

इन्टेरियर डिजाइनर सृष्टि प्रधान टेबलमा राखिएका वस्तुको आकर्षण बढाउन, प्रदूषण, दागबाट जोगाउन टेबल–पोस लगाइने बताउँछिन् । बजारमा प्लास्टिक, पोलिस्टर, रेसम वा अन्य कपडाबाट बनेका टेबल–पोस पाइन्छन् ।

टेबल–कभरको प्रयोग १९औं शताब्दीदेखि शुरु भएको मानिन्छ । त्यतिबेला टेबल–पोस कपडाबाटै बनेका हुन्थे । टेक्सटाइल उद्योग स्थापनासँगै ठूलो मात्रामा उत्पादन शुरु भए पनि २०औं शताब्दीदेखि मात्रै नयाँ नयाँ डिजाइनका टेबल–पोस आउन थालेका हुन् । पछिल्लो केही वर्षयता हातले बुनेका वा कपडाबाट बनेका परम्परागत टेबल–पोसलाई प्लास्टिकका आधुनिक टेबल–पोसले विस्थापित गर्दै लगेका छन् । “परम्परागत टेबल–पोसको स्थान प्लास्टिकबाट बनेका आधुनिक टेबल–पोसले लिन थालेको छ”, इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सानुराजा शिल्पकार भन्छन् ।

हेर्दा आकर्षक, जुनसुकै रंग वा आकारमा उपलब्ध, सफा गर्न सजिलो, पानीले नभिज्ने, भिजिहाले पनि छिटो सुक्ने र तुलनात्मक रुपमा सस्तो भएकाले प्लास्टिकका टेबल–पोसको माग बढेको छ । धूलो बढी उड्ने ठाउँमा पनि प्लास्टिकको टेबल–पोसको प्रयोग बढेको पाइन्छ । फर्निचर पुरानो र राम्रो रंग नलगाएको भए पनि टेबल–पोसको प्रयोगले त्यसलाई आकर्षक देखाउँछ । कोठा वा हल चित्ताकर्षक तुल्याउँछ ।

बुट्टेदार कपडाको टेबल–पोस ।
कसरी छान्ने ?

आवश्यकता, महत्व, सजावट, प्रयोजन जस्ता कुरामा ध्यान दिएर टेबल–पोस छनोट गर्नुपर्दछ । प्रयोजन अनुसार फरक फरक रंग वा आकारको टेबल–पोस छान्न सकिन्छ । जानकारहरूका अनुसार सामान्यतया क्याजुअल डाइनिङमा ६ देखि ९ इन्चसम्म तल खस्ने टेबल पोस राम्रो मानिन्छ । फर्मल डाइनिङबाट १५ देखि १८ इन्च तलसम्म टेबल–पोसले ढाक्ने गरिन्छ । शिल्पकार बफेट टेबलमा भने भुईंसम्म पुगेको टेबल–पोस नै राम्रो हुने बताउँछन् ।

औपचारिक कार्यक्रममा कम बुट्टा भएका, सेतो रंगका टेबल–पोसको प्रयोग बढेको देखिन्छ । अनौपचारिक रुपमा भने चमकदार वा धातु रंग राम्रो मानिन्छ । यद्यपि छनोट व्यक्तिको इच्छामा निर्भर रहन्छ । हल वा कोठाको टेबल–पोस बेलाबेलामा फेर्दा फ्रेश अनुभव गर्न सकिन्छ । शयन कक्ष वा अध्ययन गर्ने कोठामा मधुर रंगको टेबल–पोस उपयुक्त मानिन्छ ।

टेबल जस्तो आकारको छ, टेबल–पोस पनि त्यस्तै हुनुपर्दछ । तर अण्डाकार टेबलमा आयातकार र गोलो आकारको टेबलमा वर्गाकार टेबल–पोस राम्रो देखिन्छ । “आकार र रंग छनोट गर्दा भद्दा नदेखियोस् भन्ने ध्यान दिए पुग्छ”, एसोसिएसनका अध्यक्ष शिल्पकार भन्छन् ।

comments powered by Disqus

रमझम