प्रसङ्ग नदिएको राजीनामाकै

Share:
  
- भैरव रिसाल
निर्दलले जितेपछि देशमा राजनीतिक मुद्दा नै सकिएको भन्ने तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको तर्कप्रति तुलसी गिरीको कटाक्ष थियो, ‘होइन, पहिले सबै नेपाली पञ्च र सबै पञ्च नेपाली थिए, अब नेपाली पञ्च, अपञ्च ठहरिए।’

गेट्टी इमेज
पूर्व प्रधानमन्त्री डा. तुलसी गिरी ।
२०३० असार २५ गते सिंहदरबार आगलागी लगत्तै कीर्तिनिधि बिष्टले राजीनामा दिएपछि १ साउनमा नगेन्द्रप्रसाद रिजाल प्रधानमन्त्रीमा नियुक्त भए । तर, उनी पनि बर्खास्तगीमा परे । राजाले १५ मंसीर २०३२ मा डा. तुलसी गिरीलाई प्रधानमन्त्रीमा नियुक्त गरे ।

२२ भदौ २०३४ को बेलुकी साढे आठ बजेको समाचारमा अचानक रेडियो नेपालले ‘डा. तुलसी गिरीले प्रधानमन्त्री पदबाट दिनुभएको राजीनामा श्री ५ महाराजाधिराजबाट स्वीकृत गरिबक्स्यो’ भनेर फुक्यो । किन ? यसअघि झैं कारण खुलेन ।

त्यतिबेला फैलिएको हल्ला, त्यही साँझ राजासँग प्रधानमन्त्री गिरीको भेट भएको थियो । त्यहाँ राजा र गिरीको कुरो मिलेनछ । निवास फर्केर रेडियोमा गिरीले आफ्नै राजीनामा स्वीकृत भएको समाचार सुनेर अचम्मै परेछन् । तर, भोलिपल्ट प्रधानमन्त्री गिरीबाट भैरहवामा लुम्बिनी फ्लोर (मैदा) मीलको उद्घाटन हुने कार्यक्रम थियो । आयोजकहरूले रातारात पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई ल्याई उद्घाटन टारेछन् । २७ भदौमा कीर्तिनिधि बिष्टकै प्रधानमन्त्रीत्वमा नयाँ सरकार गठन गरियो ।

पञ्च, अपञ्च

वास्तवमा डा. गिरीले दिएको राजीनामा स्वीकृत भएको हो वा नदिएको, पत्तो लागेन । अन्ततः गिरीलाई नै फोन गर्नुपर्‍यो । “आज कसरी सम्झनु भो त ?” हालै मात्र भएको कुराकानीमा उहाँले बडो शिष्ट भाषामा भन्नु भो । मैले “नदिएको राजीनामा स्वीकृत भएको घटनाका बारेमा यसो लेखौं कि भनी दुःख दिएको” भनें । गिरी हाँस्नुभो र प्रधानमन्त्रीबाट हटेको दिन बिर्सें भन्नुभो । राजीनामाबारे स्पष्ट हुन खोजें । तर, ९३ वर्षका बिरामीले थलिएका गिरीको बोली ९० वर्षको मेरो कानले टिप्नै सकेन । कुराकानी टुंगिनुअघि गिरीले भन्नुभएको थियो “म नयाँ बन्दोबस्त गर्न लागेको तिमीले राजीनामा गर्नुपर्‍यो हुकुम भएथ्यो भनेको बुझेको थिएँ ।” थप झिजोल्न मेरो आत्माले अनुमति दिएन ।

डा. गिरी नेपाली राजनीतिका भिन्नै ‘टेम्पोरामेन्ट’ का मान्छे । एउटा मात्र उदाहरण, २०३७ सालमा जनमत संग्रह भयो । ४ लाख २५ हजार ४८७ मतान्तरले निर्दल पञ्चायतलाई जिताइयो । तब तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा, ‘अब राजनीतिक मुद्दा टुङ्गियो । बहुदल र निर्दलको फैसला भो’ भन्दै निर्दलले जित्यो बहुदलले हार्‍यो भन्ने जिकिर गरिरहन लागे । तर, डा. गिरी भने भन्न लागे, ‘निर्दल र बहुदलको असली मुद्दा त बल्ल शुरू भयो । यसअघि सबै नेपाली पञ्च र सबै पञ्च नेपाली भनिन्थ्यो । अब २० लाख ७ हजार ९६५ (४५.२१ प्रतिशत) अपञ्च ठहरिए । २४ लाख ३३ हजार ४५२ (५४.७९ प्रतिशत) मात्र पञ्च ठहरिए ।’

एकैपल्ट धेरै पुस्तक

एकैपटक धेरै किताब पढने डा. गिरीको रमाइलो बानी रहेछ । त्यो बेला उनी पदमा थिएनन्, सानेपातिर बस्थे । फुर्सदका बेला गफिन म उनीकहाँ जान्थें । बौद्धिक कुरा हुने !

एकदिन डायमण्ड शमशेरको सेतोबाघ उपन्यासको कुरा चल्यो । डा. गिरीले ‘पढेकै छैन, पठाइदिनुस् न’ भने, मैले पठाइदिएँ । दुई–तीन महीना बित्यो तर पुस्तक फिर्ता आउँदैन त ! गिरीलाई भनें, ‘पुस्तक पढिसकिएन ?’ उनले जवाफ दिए, ‘भर्खर आधातिर पुग्यो । मेरो आदत लगातार एउटै पुस्तक पढिरहने छैन । एकै घानमा धेरैवटा पढ्न थाल्छु । अरू दुई महीना जति लाग्ला पढिसक्न । तपाईंलाई छिटो चाहिए एउटा सेतोबाघ किनेर पठाइदिनुहोस्, म किताब र पैसा सँगै पठाइदिउँला ।’ पढिसकेर अर्को तीन महीना जतिमा खबर गरे, कथा सकियो ।

पंचायतकालका दुई व्यक्तित्व आफ्नै खालका थिए । ती दुईमा एउटा डा. गिरी र अर्का हुन् खड्गबहादुर सिंह । गिरी उड्ने घर सानेपामा बस्थे भने खड्गबहादुर गुड्ने घरमा बस्थे । उड्ने घर भनेको पखेटा आकारको जग थियो । गुड्ने घर भनेको पांग्रो आकारको जग थियो । यी दुवैले पंचायतलाई प्रजातान्त्रिक भनी कहिल्यै ढाँटेनन् ।

माला लिन काठमाडौं !

२०२१ सालको घटना हो । डा. तुलसी गिरी मन्त्रिपरिषद्का अध्यक्ष थिए । त्यतिबेला भर्खर भर्खर भूमिसुधार योजना लागू भैरहेको थियो । धुलिखेलमा काभ्रे जिल्लासभा सम्मेलनको उद्घाटन गर्न प्रमुख अतिथिको रूपमा डा. गिरी जाँदैथिए । त्यतिबेला म राससको रिपोर्टर थिएँ । डा. गिरीलाई फोन गरें र भनें ‘लगेदेखि रिपोर्टिङ गर्न म जान्छु ।’ गिरीले सहसा भने ‘ह्वाइ नट !’

अरनिको राजमार्ग धमाधम निर्माण हुँदैथियो, ग्राभेल पनि हुन बाँकी नै थियो । साँगा भन्ज्याङ कटेपछि हाम्रो मोटर अघि अघि एउटा विलिस जीप सकेसम्म तीव्र गतिमा बुङ्बुङ्ती धूलो उडाउँदै दौडदै थियो । डा. गिरी लगायत म रसियन जीपमा थियौं । हाम्रा चालकले उछिन्न अथक् प्रयास गरे । तर सकेनन् ।

आखिर किन त्यो जीपले मन्त्रिपरिषद्का अध्यक्षलाई ‘साइड’ दिएन भन्ने बुझ्दा त रोचक तथ्य पत्ता लाग्यो । त्यो जीप त प्रमुख अतिथि डा. गिरीलाई स्वागत गर्न काठमाडौंबाट माला लिएर जाँदै रहेछ । ५४ वर्षअघि त्यस्तो थियो धुलिखेल ! माला लिन पनि काठमाडौं ओर्लनुपर्ने ।

फर्कंदा डा. गिरी रमाइलो टिप्पणी गर्दैथिए, ‘जिल्ला पंचायतको गाडीको ड्राइभरले किन साइड दिन्थ्यो त हामीलाई । ऊ पछि परेको भए त नोकरी नै चेट् हुन सक्थ्यो !’

comments powered by Disqus

रमझम