१६ भदौ २०७० | 1 September 2013

बर्डफ्लू उदासीन सरकार

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ र नवीन झा
बर्डफ्लूको जीवाणु मानिसमा संक्रमित भएमा उत्पन्न हुनसक्ने महासंकटप्रति सरकार उदासीन रहेको उसको शून्य तयारीले देखाउँछ ।

तस्वीरः बिक्रम राई, आवरण तस्वीरः नभेष चित्रकार
बर्डफ्लू लागेपछि कुखुरा मार्नका लागि १८ साउनमा भक्तपुरको एक पोल्ट्री फार्मभित्र पस्दै सरकारी टोली ।
बर्डफ्लूमा चरम लापरबाही गरेर रु.६४ अर्बको पोल्ट्री उद्योग डुबाएको सरकारले बर्डफ्लूको सम्भावित महामारीबाट जनतालाई जोगाउने तयारी समेत थालेको छैन । झपाबाट शुरू भएको बर्डफ्लूले राजधानीमै आतंक मच्चाएपछि मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले साउन अन्तिम साता स्वास्थ्य मन्त्री, कृषि मन्त्री र मातहतका कार्यालयहरूलाई विशेष ध्यान दिन निर्देशनसम्म दिए पनि सम्बन्धित मन्त्रीदेखि सचिव र विभागीय प्रमुखसम्मका सरकारी अधिकारीहरू केवल चिन्ता जताएर बसिरहेका छन् ।

उनीहरूले उपत्यकाका तीन जिल्लालाई संक्रमणग्रस्त क्षेत्र घोषणा गरेर कुखुरा त मारिरहेका छन् तर, मान्छेमा सरे के गर्ने भनेर रणनीति बनाएका छैनन् । मानिसमा बर्डफ्लूको संक्रमण भइहाले कसरी उपचार गर्ने भन्ने कुनै तयारी छैन । बचाउका लागि न औषधिको जोहो छ न त उपचार केन्द्र । डेढ वर्षअघि सरुवा रोग नियन्त्रण केन्द्र टेकूमा निर्माण गरिएको ७ बेडको आइसोलेशन वार्ड भवनमा न चिकित्सक छन्, न त नर्सिङ स्टाफ ।

सरकारी लापर्वाही

बर्डफ्लू संक्रमण र सम्भावित खतरा रोक्ने तयारीबारे जिज्ञासा राख्दा स्वास्थ्य मन्त्रालय समेत सम्हालिरहेका मन्त्री विद्याधर मल्लिकले यसमा विभागहरूले काम गरिरहेकाले उनीहरूलाई नै सोध्नुपर्ने बताए । मन्त्रालयका सचिव डा. प्रवीण मिश्र बर्डफ्लूबारे बोल्नै तयार भएनन् भने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. लखनलाल साहले ‘मान्छेमा सर्यो भने बर्डफ्लूले महामारी निम्त्याउने’ बताउँदै नियन्त्रणको तयारी विभाग अन्तर्गतको इपिडिमियोलोजी शाखाबाट भइरहेको बताए । बर्डफ्लू मान्छेमा स¥यो भने टेकूको आइसोलेशन वार्डले नथेग्ने बताउँदै महानिर्देशक डा. साहले बढी खर्चिलो हुने भएकाले यस्तो वार्ड अरू कुनै सरकारी र निजी अस्पतालहरूमा नभएको जानकारी दिए । ६ भदौमा हिमाल प्रतिनिधि टेकू अस्पताल पुग्दा अहिले तयार अवस्थामा राख्नुपर्ने आइसोलेशन वार्ड बन्द थियो ।

टेकू अस्पतालका कार्यवाहक निर्देशक डा. अर्जुन पन्तले वार्ड स्वास्थ्य सेवा विभागले अस्पताललाई हस्तान्तरण नगरेको भए पनि आफूहरूले सञ्चालनका लागि १० डाक्टर सहितको दक्ष टीम माग गर्दै विभागमा पत्र पठाएको तर, जवाफ नआइसकेको बताए । सो वार्ड सञ्चालनका लागि ब्याङ्कक्मा तालीम लिएका डा. वासुदेव पाण्डे, डा. मुरारि उपाध्याय लगायत ६ जना चिकित्सक अहिले सरुवा भएर देशका ६ स्थानमा पुगेका छन् । रामेछापमा कार्यरत भाइरोलोजिष्ट डा. पाण्डेले फोनमा भने, “अहिलेको अवस्थामा बर्डफ्लू मान्छेमा फैलियो भने भगवानले मात्रै बचाउन सक्ने स्थिति देखिन्छ ।”

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को तथ्याङ्क अनुसार, हालसम्म विश्वभर ६३३ मानिसमा बर्डफ्लू संक्रमण देखिएकोमा ३७७ जना (६० प्रतिशत) को मृत्यु भइसकेको छ । चीन, पाकिस्तान, थाइल्याण्ड, म्यानमार, इन्डोनेसिया, इजिप्ट, भियतनाम, इराक, नाइजेरिया, अजरबैजान लगायतका देशमा बर्डफ्लूबाट मानिस मरेका छन् ।

नेपालमा यो रूपमा देखिएको बर्डफ्लू मानिसमा सर्न नदिने योजना र कार्यक्रमका साथ तत्पर रहनुपर्ने स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा भने निष्क्रिय जस्तै छ । यसका निर्देशक डा. गरीबदास (जीडी) ठाकुर सारा सरकारी काम छाडेर आगामी चुनावमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्ने दौडधूपमा व्यस्त छन् (हे.बक्स) ।

महामारीको खतरा

देबकी विष्ट
पाटन, बगलामुखी मन्दिरछेउ ५ भदौमा बिक्रीका लागि राखिएको कुखुराको मासु ।
नेपालमा देखिएको एच(५)एन(१) भाइरसको बर्डफ्लू रोग मान्छेमा सर्न सक्ने खतरा छ । यो रोग अहिले १९ जिल्लाका कुखुरामा देखिसकिएको छ भने काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, मकवानपुर र कास्की यसको संक्रमणबाट बढी प्रभावित छन् ।

२० चैत २०६९ देखि ८ जेठसम्म चितवनको १५ वटा पोल्ट्री फर्ममा देखिएको यो जीवाणु नियन्त्रणमा उतिवेलै गम्भीरता देखाइएको भए राजधानीसम्म सम्भवतः आइनपुग्ने जनस्वास्थ्य वैज्ञानिक डा. समिरमणि दीक्षित बताउँछन् । अहिले पनि कृषि मन्त्रालय अन्तर्गतको पशु स्वास्थ्य सेवा विभागले चलाएको कुखुरा मार्ने अभियान वाहेक अरू काम भएको छैन । कुखुरा निमिट्यान्न नपारेसम्म जोखिम ज्यूँका त्यूँ रहने विज्ञहरू बताउँछन् ।

२ साउनदेखि ३ भदौसम्म करीब ९ लाख ७१ हजार ७५६ कुखुरा, १० लाख १६ हजार ९१० वटा अण्डा, ७२ हजार ७५१ केजी दाना नष्ट गरिएको छ । उपत्यकाका तीन जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेर खुकुरारहित बनाउन पशु सेवा विभाग लागिपरेको छ । तर, यस्तो संकटकालमा पनि लापरबाही कस्तो छ भने, यो अवधिमा ललितपुरको सैबुबाट कीर्तिपुर लगिंदै गरेका ३०० र भक्तपुरबाट कोटेश्वर ल्याउँदै गरिएको १२० वटा कुखुरा तथा भक्तपुरको मनोहराबाट बालाजु लैजाँदै गरेका २६ वटा हाँस बरामद गरिएको थियो । संकटग्रस्त क्षेत्रबाट बाहिर लगिंदै गरेका ती हाँस–कुखुराको स्वास्थ्य प्रमाणपत्र थिएन । द्रुतगतिमा नियन्त्रण गर्नुपर्ने एच(५)ःएन(१) भाइरसलाई सरकारले लापर्वाही गरेर रैथाने जीवाणु बनाउन खोजेको झैं गरेको बताउने डा. दीक्षित भन्छन्, “कुखुरामा महामारी फैलिएको थाहा पाउँदा पाउँदै सरकारले कहिले मासु बेच्न दिने कहिले नदिने मनपरीसँगै जनस्वास्थ्यमा खतरनाक खेलबाड गरिरहेको छ ।”

डा. दीक्षितका अनुसार, कुखुरामा बर्डफ्लू लागेको १७ दिनसम्म लक्षण देखिंदैन । तर, सरकारले एकातिर संक्रमण भएका कुखुरा मार्ने अनि अर्कोतिर मासु बेच्न दिएर जोखिम निम्त्याइरहेको उनले बताए । “मान्छे ठूलो कि पैसा ?” सरुवा रोग अनुसन्धानमा केन्द्रित सेन्टर फर मलेक्युलर डाइनामिक्स, नेपाल (सीएमडीएन) मा कार्यरत डा. दीक्षित भन्छन्, “व्यवसायीहरू आफैं बर्डफ्लू नियन्त्रण गर्न लाग्नुपर्नेमा रातारात कुखुरा बजार पठाउँदा मकवानपुर र सिन्धुलीसम्म रोग फैलियो ।”

कृषि मन्त्रालयका प्रवक्ता प्रभाकर पाठक भने छोटो अवधिमा धेरै काम गर्नु परिरहेकाले सरकारको तर्फबाट कहीं कतै कमजोरी भएको हुनसक्ने बताए । तर, परिस्थिति सानातिना कमजोरी गर्न मिल्ने खालको छैन । सामान्यतः चिसो मौसममा देखिने बर्डफ्लूले नेपालमा गर्मीयाममा तहल्का मच्चाइरहेको छ । अर्थात्, यो प्रचण्ड गर्मी पचाउन सक्ने भइसकेको छ । प्रवक्ता पाठकले २ साउनबाट काठमाडौं र आसपासका क्षेत्रमा बर्डफ्लू फैलिनुको वैज्ञानिक आधार अन्तर्राष्ट्रिय प्रयोगशालाहरूको रिपोर्ट आएपछि मात्रै थाहा हुने बताए ।

विज्ञहरूका अनुसार, अहिले नेपालमा देखिएको बर्डफ्लूको भाइरसले अलिकति मात्रै स्वरुप परिवर्तन गर्यो भने मानिसमा सर्न सक्छ । विश्व ब्याङ्कको सहयोगमा सञ्चालित पशु सेवा विभागको जुनोसिस कार्यक्रमका आयोजना प्रमुख डा. इन्द्रकान्त झले यो खतरा हेरेर भक्तपुरका ३० र हेटौंडाका १० जनाको परीक्षण गरिएको बताए । “यसअघि परीक्षण गरिएका काठमाडौं र ललितपुरका २३ जनामा संक्रमण देखिएन”, डा. झा भन्छन् ।

नेपालमा देखिएको एच(५):एन(१) भाइरस कतै पनि मान्छेमा सरेको प्रमाणित भएको छैन । चीनमा देखिएको एच(९)ःएन(७) भाइरस भने मान्छेबाट मान्छेमा पनि सरिसकेको छ । चीनमा १३४ जनामा बर्डफ्लू संक्रमण भएकोमा ४५ जनाको मृत्यु भइसकेको छ । डा. दीक्षित एच(५):एन(१) र एच(९):एन(७) भाइरसले नयाँ स्वरुप लियो भने स्थिति भयावह हुने बताउँछन् । उनका अनुसार, हालसम्म बर्डफ्लूका ८ थरी भाइरस पहिचान भएका छन् । तीमध्ये एच(५):एन(१) बढी खतरनाक हो । यसको मृत्युदर प्रति १०० मा ६० जना छ भने एच(९):एन(७) को मृत्युदर २० प्रतिशत छ । “यो दुवै एक भएर फैलियो भने मान्छेमा कुखुरामै जस्तो महामारी हुन्छ”, डा. दीक्षित भन्छन् ।

सरकारले नै लापर्वाहीवश संक्रमण फैलाउने काम गरेको बताउने डा. दीक्षितले जोखिम बढी भएकाले पन्छीजन्य मासु र अण्डा घरमा नभियाउन सुझाव दिएका छन् । अहिले कुखुरामा फैलिएको बर्डफ्लू राजधानीका घर र मठ–मन्दिरमा छरिएका परेवामा सर्यो भने यसले ल्याउने विपत्तितर्फ कसैको ध्यान पुगेको छैन ।

नालायक अधिकारी

देबकी विष्ट
राजधानीको शंखमूलमा ५ भदौमा बिक्रीका लागि राखिएका कुखुरा ।
डा. जीडी ठाकुर प्रमुख रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सन् २००९ मा एभियन्जा इन्फ्लुञ्जा कन्ट्रोल प्रोजेक्ट (एआईसीपी) आयोजनाका लागि विश्व ब्याङ्कबाट १८ मिलियन अमेरिकी डलर ऋण सहयोग लिएकोमा २०११ जुलाईसम्ममा ९ मिलियन डलर (रु.८० करोड) खर्च गरेको थियो । तर, एआईसीपीले यत्रो रकम केमा खर्च गर्यो भन्ने आधिकारिक विवरण सार्वजनिक गरेको छैन ।

स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. यशोवद्र्धन प्रधान र महाशाखाका निर्देशक ठाकुरबीच रकम खर्च गर्ने विवाद चुलिएपछि ब्याङ्कले पशु सेवा विभाग अन्तर्गतको कार्यक्रमलाई मात्र यथावत् राखेर आयोजनाको ‘फन्डिङ’ नै रोकिदिएको थियो । ब्याङ्कले पशु सेवा विभाग अन्तर्गतको कार्यक्रमलाई ७ मिलियन र बाँकी २ मिलियन डलर बर्डफ्लू नियन्त्रणका लागि उपयोगी बायो सेफ्टी ल्याब बनाउन दिएको थियो ।

तर, स्वास्थ्य सेवा विभागको आन्तरिक किचलोका कारण ल्याब पनि बन्न नसकेर रकम फर्किएको थियो । स्वास्थ्य मन्त्रालयका एक अधिकारी भन्छन्, “देशको हित सम्झेर त्यो रकम खर्च गरिएको भए अहिलेको त्रासदी आउने थिएन ।”

विश्व ब्याङ्कको रकम २०१२ अगस्तबाट पशु सेवा विभागको जुनोसिस परियोजनामा लगानी गरिएकैले अहिले बर्डफ्लू नियन्त्रणमा थोरै भए पनि काम भइरहेको ती अधिकारीले बताए । जुनोसिस परियोजनाका लागि अहिलेसम्म ३ लाख ८६ हजार डलर खर्च भएको छ । कुखुराको क्षतिपूर्ति पनि यही परियोजनाबाट भइरहेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा पशु सेवा विभाग मार्फत बर्डफ्लू नियन्त्रणका लागि रु.५ करोड छुट्याएको छ । तर, जब काम गर्ने वेला आउँछ, मन्त्रालय र विभागबीच हानथाप हुने गरेको छ । कुखुरामा संक्रमण भए कृषि मन्त्रालय अन्तर्गतको पशु सेवा विभाग र मानिसलाई संक्रमण हुन नदिन स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग अग्रसर हुनुपर्ने भए पनि यी दुई पक्षबीच जहिल्यै किचलो हुने गरेको छ ।

पशु सेवा विभागका महानिर्देशक नरबहादुर रजवार बर्डफ्लू संक्रमणको सूचना पाउने वित्तिकै आफ्नो विभागले स्वास्थ्य सेवा विभागलाई पत्राचार गरेर दुवै टोली सँगै पुग्नुपर्ने बताउँछन् । कुखुरा मार्न जाने मान्छेलाई जाँच र औषधि खुवाउनेसम्मको जिम्मेवारी स्वास्थ्यको टोलीले लिनुपर्छ । यसले गर्दा यी दुई समूहले जहिल्यै ‘तैं रानी, मै रानी को भर्ला कुवाको पानी’ भन्ने उखान चरितार्थ गरिरहेका हुन्छन् ।

अर्को समस्या, पशु सेवा विभाग अन्तर्गत हुने खर्च बर्डफ्लू सम्बन्धी आयोजना एभियन्जा कार्यक्रमले बेहोर्छ, तर स्वास्थ्य सेवा विभागले आफ्नो खर्च आफ्नै स्रोतबाट गर्नुपर्छ । त्यसमाथि, विभागका निर्देशक जीडी ठाकुरको ध्यान लामो समयदेखि अन्तै छ । उनको कार्यालयका डाक्टरहरू अहिले पोल्ट्री फर्महरूको निरीक्षणमा सक्रिय भए पनि जनस्वास्थ्यको लागि गर्नुपर्ने केही तयारी छैन । लापरबाही कति छ भने सरकारले खुला सिमाना हुँदै भारतबाट आइरहेको कुखुरा र अण्डा पनि रोक्न सकेको छैन । भारतमा बर्डफ्लू नियन्त्रण भएको छैन । वैशाखमा चितवनमा देखिएको बर्डफ्लू भारतबाटै आएको व्यवसायीहरू बताउँछन् ।

रु.२५ अर्बको नोक्सानी

बन्द वार्डः डेढ वर्षअघि बर्डफ्लू संक्रमितको उपचारका लागि सरुवा रोग नियन्त्रण केन्द्र, टेकूमा निर्माण गरिएको ७ बेडको आइसोलेशन वार्ड भवनमा न चिकित्सक छन्, न त नर्सिङ स्टाफ ।
सरकारले २००९ यता नेपालमा बर्डफ्लू नियन्त्रणको लागि विश्व ब्याङ्कको करीब डेढ अर्ब रुपैयाँ खर्च गरिसकेको छ । यत्रो लगानीको परिणाम भने अकल्पनीय जोखिम र रु.२५ अर्ब नोक्सानीको रूपमा देखिएको छ । “धरासायी बनेको व्यवसाय पूर्वावस्थामा फर्किन कम्तीमा चार/पाँच वर्ष लाग्नेछ”, नेपाल पोल्ट्री व्यवसायी महासंघका उपाध्यक्ष, नारायणहरि खत्री भन्छन्, “म आफैं पनि २५औं वर्ष लगाएर पुगेको स्थानबाट एकाएक भुईंमा झरेको छु, केही दिनमै करीब रु.९ करोड गुमाएको छु ।”

गत आवमा मुलुकभर ८ करोड २३ लाख कुखुरा उत्पादन भएको थियो । कुल उत्पादनको १५ प्रतिशत उपत्यकामै र आधाभन्दा बढी चितवन र आसपासमा हुने गर्दछ । गत आवमा रु.६४ अर्बको कुखुरा, चल्ला र दानाको कारोबार भएको थियो । यो वर्ष कारोबार ३९ अर्बमा झ्र्ने अनुमान छ । भक्तपुर जिल्लामा मात्र रु.५ अर्बको क्षति भएको छ । दाना उत्पादक संघका अध्यक्ष, डा. तिलचन्द्र भट्टराई मारिएका कुखुरालाई सरकारले दिने क्षतिपूर्ति अत्यन्त न्यून भएको बताउँछन् । उनका अनुसार, एउटा कुखुरा हुर्काउन ४÷५ सय लाग्छ तर सरकारले दिने क्षतिपूर्ति प्रति कुखुरा रु.१३० मात्र हुन्छ । “यही कारण साना व्यवसायीहरूले रोग लागेका कुखुरा समेत आँखा छलेर बजारमा पु¥याउन खोज्छन्”, भट्टराई भन्छन्, “चितवनमा बर्डफ्लू लागेका कुखुरा काठमाडौं आएको परिणाम अहिले देखिएको हो ।”

‘पार्टीहरुको संस्थागत धारणा आउनुपर्छ’

दिलेन्द्रप्रसाद बडू

प्रवक्ता, नेपाली कांग्रेस

बर्डफ्लू आम नागरिकको स्वास्थ्यसँग जोडिएको विषय हो । यसमा पार्टीहरूले संस्थागत धारणा राख्ने वा सरकारलाई सचेत गराउनुपर्ने हो, तर अहिलेसम्म त्यस्तो केही भएको छैन । हामी उपभोक्ता हकको कुरा गर्छौं र व्यवसायीहरूको पनि । उपभोक्ता र व्यवसायी हाम्रा पार्टीका नहुने कुरै भएन । व्यवसायीहरूको ऋण सरकारले मिनाहा गरिदिनुपर्छ ।

‘जनसरोकारका कुरामा दलहरु चुकेका छन्’

प्रदीप ज्ञवाली

प्रवक्ता, नेकपा एमाले

हाम्रा पार्टीहरू जनसरोकारका विषयमा पटक–पटक चुक्तै आएका छन् । सरकारलाई सुझाव र दबाब दुवै दिन सक्नुपथ्र्यो । हाम्रो पार्टीको उपत्यका समिति र किसान संगठनले विज्ञप्ति निकालेर यथासम्भव रोक्न भनेका छन् । सरकारले महामारी नियन्त्रण गरेर किसानहरूलाई राहत उपलब्ध गराउनुपर्छ ।

‘नेताहरुलाई राजनीतिक दौडधूपमै फुर्सद छैन’

पोष्टबहादुर बोगटी

नेता, एमाओवादी

दलका नेताहरू राजनीतिक दौडधूपले बेफुर्सद छन् । तर, यस्तो जनसरोकारको विषयमा दलहरू गम्भीर नभई हुँदैन । सरकारले आफ्नोतर्फबाट पहल गरिरहेकै देखिन्छ । यसमा दलहरूले पनि चासो लिनुपर्छ । बर्डफ्लूको महामारी फैलिन नदिन सबै पक्षको सहकार्य चाहिन्छ ।

‘मधेशी पार्टीहरु पनि मौन देखिन्छन्’

जितेन्द्र सोनल

सह–महामन्त्री, तमलोपा

अहिले देखिएको बर्डफ्लूको संक्रमण मधेशको लागि त झन् खतराको घन्टी हो । किनकि, मधेशमा धेरै लापरबाहीका साथ मासु बिक्री–वितरण हुन्छ । त्यसैले अहिले काठमाडौं उपत्यकामा देखिएको बर्डफ्लूको महामारीप्रति मधेशवादी दलहरू गम्भीर हुनुपर्छ । तर, अहिलेसम्म अरू जस्तै मधेशवादी दलहरू पनि मौन देखिन्छन् ।


डा. जीडीको ताल

राजधानीमा बर्डफ्लू नियन्त्रण बाहिर गएको एक महीना ७ दिनसम्म स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले न एउटा विज्ञप्ति निकालेको छ न त सरोकारवालाहरूसँग छलफल नै गरेको छ । राजधानी सहित देशका धेरै स्थानमा बर्डफ्लू आतंक मच्चिइरहँदा यसका निर्देशक डा. जीडी ठाकुर महोत्तरीबाट आगामी चुनावमा टिकट सुरक्षित गर्ने खेलकुदमा छन् । उनले बर्डफ्लू नियन्त्रणमा दौडाउनुपर्ने विभागका गाडीहरू समेत चुनावी तयारीमा लगाएका छन् ।

७ भदौमा स्वास्थ्य सेवा विभागको बा. १ झ. ८३५२ नम्बरको निशान गाडी चालक सहित महोत्तरीमा ठाकुरको सेवामा थियो । उनले विभागको बा. १ झ. ४३४९ नम्बरको पजेरो र बा. १ झ. ९३६६ नम्बरको पिकअप पनि कांग्रेसका नेता–कार्यकर्ता रिझाउने काममा प्रयोग गरेका छन् । महीना दिनअघिसम्म उनले बा. १ झ. ४३४९ नम्बरको पजेरो जनकपुरमा राखेर विभागका चार जना सवारी चालकलाई हप्तावारी पालो लगाएका थिए । “डा. साहेव चुनावी तयारीका लागि अहोरात्र खटिरहनुभएको छ”, महोत्तरी कांग्रेसका सभापति महेन्द्रकुमार राय भन्छन्, “२० भदौभित्र हामीले केन्द्रलाई गर्ने उम्मेदवारको सिफारिशमा क्षेत्र नम्बर ३ बाट उहाँको दावी छ ।”

२०१२ अगस्तबाट एआईसीपी परियोजनामा विश्व ब्याङ्कको लगानी रोकिनुमा जीडी ठाकुरको कार्यशैली प्रमुख कारक रहेको विभाग स्रोत बताउँछ । स्रोतका अनुसार, ‘चलखेलमा माहिर’ ठाकुरले करोडौं रुपैयाँको परियोजनामा विभागका तत्कालीन महानिर्देशक डा. यशोवद्र्धन प्रधानसँग चर्को विवाद निकालेपछि परियोजना बन्द भएको थियो । “२००९ देखि जुलाई २०११ सम्म रु.८० करोड लगानी भएको बर्डफ्लू नियन्त्रण आयोजना पनि ठाकुरकै कारण कमजोर भयो”, स्रोत भन्छ, “रु.८० करोड लगानीको समयमा ठाकुरलाई तत्कालीन स्वास्थ्य मन्त्री राजेन्द्र महतो र स्वास्थ्य सचिव मिश्रको संरक्षण थियो ।”

विक्रम राई
दुरुपयोगः डा. जीडी ठाकुरले सरकारी गाडी आफ्नो निजी र पार्टीको कामका लागि प्रयोग गर्दै आएका छन् । ७ भदौमा पनि उनी विभागको टोयोटा पिकअप लिएर महोत्तरीको आफ्नो चुनाव क्षेत्रमा व्यस्त थिए ।
कांग्रेसका उमाकान्त चौधरी स्वास्थ्य मन्त्री र डा. प्रवीण मिश्र सचिव भएको वेला विभागको ‘कमाइ गर्ने ठाउँ’ मा निर्देशक भएका डा. ठाकुरको ‘रकमी’ कार्यशैलीबाट आजित नहुने महाशाखामा कमै छन् । उनी स्वास्थ्य मन्त्री र सचिवको बाहेक अरू कसैको कुरा सुन्दैनन् । उनले ‘आगामी चुनावमा कांग्रेसबाट टिकट पाउने र जित्ने निश्चित भएकोले सरकारी जागीरको मतलब नभएको’ धाक लगाउने गरेको कर्मचारीहरू बताउँछन् । हिमाल ले बर्डफ्लू नियन्त्रणको जारी प्रक्रियाबारे जानकारी माग्दा डा. ठाकुरले भने, “अहिले मलाई फुर्सद छैन, कुरा गर्ने/नगर्नेबारे पछि विचार गरौंला ।”

साथमा प्रभात भट्टराई, काठमाडौं, सविता श्रेष्ठ, चितवन

comments powered by Disqus

रमझम