घर फर्कने छटपटी

Share:
  
- उपासना खड्का, बेरुतबाट
फेरि फर्कन नपाइने डरले लेबनानमा राम्रैसँग काम गरिरहेका नेपाली महिला कामदारहरू आफ्नै देश जान सकिरहेका छैनन्।

तस्वीरहरुः उपासना खड्का
घरेलु कामका लागि विदेशिएका नेपाली महिलाहरूका शोषणका कथाहरू सुनिइरहेका बेला लेबनानी परिवारलाई सघाइरहेकाहरूको अनुभव भने फरक छ । नेपालले लेबनान लगायत खाडी मुलुकहरूमा जान महिलालाई प्रतिबन्ध लगाएकै कारण उनीहरू विदाका बेला पनि घर फर्कन सकिरहेका छैनन् । नेपाल पुगेपछि फेरि लेबनान फर्किन पाइँदैन भन्ने डर उनीहरूमा छ ।

सन् २०१७ को शुरूताका पश्चिम एशियाका मुलुकहरूमा जान नेपाली महिलालाई प्रतिबन्ध लगाइएपछि त्यसअघि नै आएकाहरू पनि प्रभावित भएका छन् । जाने–आउने सबै खर्च रोजगारदाताले बेहोर्ने भए पनि उनीहरू आफ्ना परिवार भेट्न पाइरहेका छैनन् ।

दश वर्षदेखि लेबनानको एउटा परिवारलाई सघाइरहेकी निरु परिवारकी सदस्य झ्ैं भइसकेकी छन् । शनिबारको विदा अन्य नेपाली साथीहरूसँग भेटघाट गरेर बिताउने उनलाई काममा खासै अप्ठ्यारो छैन । अझ् धेरै कमाइ गर्न यूरोप जाने योजना बुन्दै निरु केही वर्षअघि नेपाल पुगिन् । तर, यूरोप यात्रा सोचेजस्तो सहज भएन । लेबनानी मालिकले फेरि बोलाए ।

“त्यसबेला मालिक आफैं फूल लिएर बेरुत एअरपोर्टमा लिन आएका थिए, निकै सम्मान देखाए, आफू बसेको पुरानो कोठामा पुगेपछि घर जस्तै लाग्यो”, निरु भन्छिन् । अहिले एउटै गुनासो छ– प्रत्येक दुई वर्षमा तलब र जातेआते टिकटसहित घर विदाको उपयोग गर्न उनी आफ्नो देश जान सक्दिनन् । ताप्लेजुङमा रहेका वृद्ध बाबु–आमालाई भेट्न नपाउँदा उनलाई नरमाइलो लाग्छ ।

निरुजस्तै लेबनानमा एक दशकदेखि काम गरिरहेकी दीपा आफ्नो मासिक तलब (६०० अमेरिकी डलर) मध्ये धेरै बचाउँछिन् । जबकि उनका दाजु–बहिनीले नेपालमा रु.१५ हजार पनि बचत गर्न सक्दैनन् । तर, पैसा मात्र भएर नहुने रहेछ । केही महीनाअघि मात्र बुबाको निधन हुँदा दीपा घर फर्कन सकिनन् । “हामी यहाँ खुशी छौं तर, घर फर्कने वातावरण नबनाएर आफ्नै सरकारले किन सजाय दिइरहेको होला ?” दीपाको प्रश्न छ ।

अन्य आप्रवासी श्रमिकको कामभन्दा फरक, रोजगारदाता र कामदार एउटै घरभित्र रहनुपर्ने हुनाले पनि घरेलु कामदारको काममा एक प्रकारको साझ्ेदारी र सामीप्य हुन्छ । त्यसो त यहाँ पनि महिला कामदारमाथि शोषण र दुव्र्यवहार हुँदै नभएको होइन तर, तुलनात्मक रूपमा नेपालीहरूले राम्रो व्यवहार र सुविधा पाइरहेका छन् । नेपाली कामदार भरोसायोग्य, खाना बनाउने सीप भएका, बालबालिका स्याहार्नमा निपुण र परिवारसँग छिट्टै झयाम्मिने भएकाले पनि धेरैले रुचाउने रोजगारदाताहरू बताउँछन् ।
“मलाई छोरीले जस्तै माया गर्छे, काम पनि अह्राइरहनु पर्दैन” निरुका रोजगारदाता भन्छन्, “मेरा केटाकेटी पनि उसैलाई पछ्याउँछन् । ऊ परिवारकी सदस्य झैं भइसकेकी छ ।”

लेबनानको बेरुतमा कार्यरत एक नेपाली घरेलु कामदार बार्दलीबाट शहर नियाल्दै ।
कृष्णाकी रोजगारदाता पनि उनी प्रत्येक वर्ष नेपाल जाउन् र आफ्नो छोरासँग केही समय बिताउन् भन्ने चाहन्छिन् । तर फेरि आउन नपाइने जोखिम मोल्न कृष्णा तयार छैनन् । उनकी रोजगारदाता भन्छिन्, “अपराधबोध जस्तो पनि हुन्छ, तर मैले के नै पो गर्न सक्छु र !”

१० वर्षदेखि बेरुतको एउटा परिवारको स्याहार गरिरहेकी धनका रोजगारदाताले उनलाई विदाका बेला नेपाल पठाउन कायरो (इजिप्ट) स्थित नेपाली दूतावासबाट कागजपत्र बनाइदिएका थिए । तर, नेपाल गएपछि फर्कन पाइँदैन कि भनेर उनी जान मानिनन् । रोजगारदाता भन्छन्, “नेपालमा रहेका आफ्ना परिवार भेटेर फर्कन पाउनु धनको अधिकार हो ।”

लेबनानमा कार्यरत नेपालीहरूका अनुसार दुई वर्षमा एकपटक पाइने घर विदा, तलब र सुविधामा पुनः छलफल गर्ने रणनीतिक समय पनि हो । रोजगारदाताहरू पनि यसबारे छलफल गर्न तयार छन् । तर कामदारहरू घर फर्कनै नसक्ने भएपछि यो समय र अवसरको सदुपयोग हुनसकेको छैन । लेबनानमा ‘पार्ट टाइम’ काम गर्ने घरेलु कामदारहरू पनि छन् जो आफूजस्तै साथीहरूसँग बेग्लै अपार्टमेन्टमा बस्छन् । घरमा साना नानीहरू वा वृद्धवृद्धा नभएका एकभन्दा बढी ठाउँमा काम गर्न उनीहरू स्वतन्त्र हुन्छन् ।

“मालिक्नीले नै मलाई आफ्ना साथीहरूकहाँ सिफारिश गरिदिन्छन्, साताभर नै भ्याईनभ्याई हुन्छ”, एकजना घरेलु कामदार भन्छिन् । लेबनानमा अवैध रूपमा बसिरहेका केही नेपाली त घण्टाको सात डलरसम्म पनि कमाउँछन् जुन वैधानिक रूपमा बसिरहेकाको भन्दा धेरै हो । तर, विद्यमान सम्झैताले पार्ट टाइम घरेलु कामदारको मुद्दालाई भने सम्बोधन गर्दैन । यसले जोखिम बढाएको छ ।

पश्चिम एशियाली देशहरूमा श्रमिकका रूपमा जान नेपाली महिलालाई प्रतिबन्ध लगाइए पनि दिल्ली वा मुम्बईहुँदै वा विमानस्थलका अधिकारीलाई ‘मिलाएर’ त्यसतर्फ जाने क्रम रोकिएको भने छैन । जसले तस्कर वा रोजगारदाताको शोषणमा पर्ने जोखिम पनि बढाएको छ ।

रोजगारदातासँग कति नेपाली घरेलु कामदारको सम्बन्ध राम्रो छ भन्न कठिन छ । कतिपय कामदार चूपचाप दुव्र्यवहार सहिरहेका पनि हुनसक्छन् । सबै रोजगारदाता घरेलु कामदारप्रति दयालु पनि हुँदैनन्, कतिपयले कामदारलाई किनेको निजी सम्पत्तिजस्तो व्यवहार गर्छन् ।

त्यसैले पनि घरेलु काम उक्त देशको श्रम कानून मातहत ल्याउनु र दुई देशका सरकारबीच सम्झैता भई सोही अनुसार निगरानी र अनुगमन गर्नु जरूरी छ । त्यसो हुँदा प्रत्येक घरेलु कामदार र घरको आवश्यक जानकारी दूतावासमा राख्न र परेका बेला सहयोग गर्न सकिन्छ । लेबनानमा अप्ठ्यारोमा परेका श्रीलंका, बाङ्लादेश, इथियोपिया र फिलिपिन्सका कामदारहरूले सम्बन्धित देशको दूतावासमा सहयोग माग्न सक्छन् तर बेरुतमा नेपालीका गुनासो सुन्ने दूतावास त परको कुरा कन्सुलर जनरलको कार्यालय समेत छैन ।

घरेलु महिला कामदारलाई विदेश जान लगाइएको प्रतिबन्ध अस्थायी समाधान मात्रै हो । अब यसबारे सोच्नुपर्ने बेला आइसकेको छ । कम्तीमा पनि हाल विदेशमा रहेका घरेलु महिला कामदारका लागि मात्रै भए पनि बेलाबेला स्वदेश फर्कने वातावरण बनाउनु जरूरी छ । किन पनि भने, पश्चिम एशियाली देशहरूमा आर्थिक समृद्धिसँगै वृद्धवृद्धाको संख्या बढ्दै गएकोले घरेलु कामदारको माग बढ्दो छ ।

लेबनानमा कार्यरत नेपाली समुदायको सहयोगमा ।


‘भाग्यको खेल’

स्वदेशमा बेरोजगार हुनुको पीडा भोगेका वा निकै कम ज्यालामा काम गरिरहेका कामदारहरू ठूलो जोखिम हुँदाहुँदै पनि वैदेशिक रोजगारीमा जान तत्पर हुन्छन् । विदेश गएका, फर्केकाहरूसँगको सम्पर्क, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पाइने सूचनाबाट सम्भावित जोखिमबारे जानकार हुँदाहुँदै पनि विदेशिने निर्णय गर्नेहरू पनि थुप्रै छन् । कतारमा रहेर थुप्रै नेपाली कामदारको उद्धार गरिसकेका महेश विदेश जानुलाई चिट्ठा पर्नुसरह ठान्ने सोचका कारण पनि यस्तो समस्या आएको बताउँछन् ।

नेपाली महिला कामदारलाई खाडी मुलुक जान सरकारले रोक लगाएको थाहा पाउँदापाउँदै पनि शर्मिलाले कुवेत जाने निर्णय गरिन् । विमानस्थलमा पक्राउ पर्नबाट जोगिन एउटा हाते झोला मात्रै बोक्ने, कसैसँग आँखा नजुधाउने, कसैले सोधिहाले परिवार भेट्न जाँदैछु भन्ने जस्ता कुरा एजेन्टले सिकाएका थिए । नयाँदिल्ली–श्रीलंका हुँदै नेपालबाट उडेको २४ दिनमा दुबई पुगेकी उनका लागि कुवेतमा दुव्र्यवहार गर्ने रोजगारदाता भेटिए । उनीसँग भागेर रित्तोहात नेपाल फर्कनु बाहेक विकल्प रहेन ।

दलाललाई रु.२ लाख ५० हजार बुझाएर गैरकामदार भिसामा यूएई पुगेका रमेशले एजेन्टबाट कुटपिटसमेत सहनुपर्‍यो । अहिले उनीसँग दुबईको एउटै अपार्टमेन्टमा २२ जना कामदारसँगै कोचिएर बसेको सम्झना बाहेक केही छैन ।

२४ वर्षकी भए पनि १६ वर्षकी झैं देखिने समा पासपोर्टमा लेखिएको ३२ वर्षे उमेर देखाउँदै मुख छोपेर हाँस्छिन् । दिल्लीहुँदै दुबई पुगेकी उनलाई त्यहाँको अध्यागमनले विमानस्थलबाटै फर्काइदियो । आफ्नै गाउँका एजेन्टले त्यसअघि गाउँकै दुई महिलालाई कुवेत पठाइसकेकाले उनी गैरकानूनी भए पनि एजेन्टले पार लगाउने विश्वासमा थिइन् ।

नेपाली कामदारले गन्तव्य मुलुकमा पुगिसकेपछि पनि थप जोखिम मोल्ने गरेका छन् । मलेशियामा कार्यरत रामले कम्पनीमा ओभरटाइम काम नपाएपछि अर्को कम्पनीमा गए– कानूनी रूपमा त्यसो गर्न नपाइने जान्दाजान्दै । ६ महीनापछि प्रहरीको फन्दामा परेका उनी साहूको ऋण तिर्न नभ्याउँदै नेपाल फर्कनु पर्‍यो । पक्राउ परेका अन्य नेपाली (हे. तस्वीर) सँगै टिभी मोनिटर राखेको ट्रली डोर्‍याउँदै रित्तै त्रिभुवन विमानस्थलबाट बाहिरिए ।

राम, समा, शर्मिला र रमेश जस्ता थुप्रैले जानाजान यस्तो जोखिम किन उठाउँछन् त ? उत्तर हो, स्वदेशमा उनीहरूले प्रशस्तै अभाव बेहोरेका छन् र यस्तै जोखिम उठाएर विदेश पुगेका केहीले राम्रै कमाइरहेको देखे÷सुनेका थिए ।

नेपालको अध्यागमन नीतिले वैदेशिक रोजगारमा जान चाहने र गइसकेकाहरूको आकांक्षा र वास्तविकता सम्बोधन गर्न सकेको छैन । सबै घरेलु कामदारलाई सोलोडोलोमा प्रतिबन्ध लगाउनु, निःशुल्क भिसा र निःशुल्क टिकटको नीति, गन्तव्य देशमा काम परिवर्तन गर्न नपाइने जस्ता कानूनी व्यवस्थाले वैदेशिक रोजगार झनै जोखिमपूर्ण बनेको छ । अव्यावहारिक नीतिगत वातावरणमा सचेतना र अभिमुखीकरणका कार्यक्रमले खासै अर्थ राख्दैनन्, यसै पनि धेरै नेपालीले जानाजान जोखिम उठाइरहेकै छन् ।

जब कुनै वैदेशिक रोजगारीको असफल कथा विदेश जान लामबद्ध अर्को व्यक्तिहरूले थाहा पाउँछ, उनीहरूको प्रतिक्रिया हुन्छ, ‘ए, उसलाई भाग्यले साथ दिएनछ’ वा ‘दशा लागेको रहेछ ।’ उनीहरू स्वयंमा भने आफूहरू फरक भएको भान पलाइरहेको हुन्छ । तर, आम नेपालीको वैदेशिक रोजगारीका कथा–व्यथा कुनै कानूनी विधि–विधानभन्दा भाग्य र दिनदशामै अडिएको कुरा उनीहरू बिर्सन्छन् ।

(नामहरू परिवर्तन गरिएको छ ।)

comments powered by Disqus

रमझम