आँगनैमा फूलको बोट

Share:
  

बिक्रम राई
ज्याकराण्डा ।
बढ्दो शहरीकरण, जनसंख्या वृद्धि र महँगी जस्ता कारणले घरका आँगन साँघुरिएका छन् । घरका वयस्कहरु बसेर सानातिना काम वा गफ गर्ने, बालबालिका खेल्ने, रुख, बुट्यान र फूलले शोभायमान आँगनहरु कमै देखिन्छन् ।

फूल–वृक्ष र आँगनको महत्व समृद्धि र खुशीसँग पनि जोडिएको हुन्छ । आँगनमा फुल्ने फूल र हरियालीले घरको शोभा मात्रै बढाउँदैन, तनाव व्यवस्थापन र पर्यावरण सन्तुलनमा पनि योगदान दिन्छ ।

आँगन सानो हुँदैमा फूल रोप्न नसकिने भन्ने हुँदैन । गमलामा फूल रोप्ने त सबैले गरिआएकै हो तर, सबै सदस्य व्यस्त हुने घरका साना आँगनमा दैनिक हेरचाह नचाहिने र धेरै वर्षसम्म टिक्ने मध्यम आकारका बोट हुने फूल रोप्न सकिन्छ । स–साना बुटा हुने र कटिङ गरेर आकार सानो पार्न सकिने जवाकुसुम (घण्टी फूल), इन्द्रकमल, असारे जस्ता पुष्प वृक्षहरुले घरको शोभा त बढाउँछन् नै दैनिक स्याहार पनि चाहिंदैन ।

घण्टी फूल बाह्रै महीना फुल्ने हुँदा यसलाई बाह्रमासे पनि भनिन्छ । त्यस्तै सानो बोट हुने क्यालियान्ड्रा पनि बाह्रै महीना फुल्छ । यस्ता फूललाई सुक्खा मौसममा पानी दिने र बर्खामा एकपटक काँटछाँट बाहेक धेरै स्याहार नचाहिने फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजू श्रेष्ठ बताउँछन् । उनका अनुसार बोट नै ढाकेर ढपक्कै फुल्ने क्यालियान्ड्रा एक वर्ग फिट जमीनमा मात्रै पनि लगाउन सकिन्छ भने घण्टी फूललाई दुई वर्ग फिट जमीन चाहिन्छ ।

त्यसैगरी भाइबर्नम, क्यामेलिया, हाइड्रेन्जिया जस्ता फूलहरु पनि सानो ठाउँका लागि उपयुक्त हुन्छन् ।

गेट, पर्खालको छेउमा ज्याकराण्डा, गुलमोहर, चेरी, बेगमबेलीजस्ता फूल फुल्ने रुखहरु रोप्दा घर र टोलकै सुन्दरता बढ्छ । यस्ता रुखहरु एक पटक हुर्किसकेपछि वर्षौंसम्म टिक्छन् ।

पुष्प मेलामा राखिएको बेगमबेली ।

पहाडी क्षेत्रमा सानो बोट भएको लालीगुराँस पनि लगाउन सकिन्छ । वनमा धेरैले देखेको यो राष्ट्रिय फूल आँगनमा लगाउने प्रचलन उति छैन । तर काँटछाँट गरी दुईदेखि तीन फिट मात्रै अग्लो राख्न मिल्ने लालीगुराँसको एउटा बोटका लागि दुई स्क्वायर फिट क्षेत्रफल भए पुग्छ ।

बज्रदन्ती, धूपी, पाइन जस्ता धेरै ठूलो नहुने बुटाको सदावहार हरियालीले आँगनको सुन्दरता बढाउँछन् । हाँगाबिंगा र पात धेरै हुने यस्ता बुटालाई काँटछाँट गरी निश्चित आकार पनि दिन सकिन्छ ।

प्रस्तुतिः कल्पना भट्टराई

comments powered by Disqus

रमझम