३० वैशाख - ५ जेठ २०७५ | 13-19 May 2018

रोमाञ्चक तर खतरनाक

Share:
  
- युवराज श्रेष्ठ, पोखरा
अन्नपूर्ण क्षेत्रको मनमोहक र रोमाञ्चकारी मर्दी ट्रेकमा जोखिम पनि उत्तिाकै छ।

मर्दी हिमाल बेसक्याम्पमा कोरी ।
‘लजमा छु, आज असिना र हुस्सुले मौसम निकै खराब छ । यति माथि आइसकेपछि यसै फर्कनु नमज्जा हुन्छ । भोलि बिहान ५/६ बजे हामी सबैभन्दा उँचो स्थानमा पुग्दैछौं– सूर्योदयसँगै सम्पूर्ण हिमाल हेर्न ।’

८ फागुन २०७४ मा मर्दी ट्रेकको हाइक्याम्पबाट छोरीलाई यस्तो सन्देश पठाएकी डच नागरिक कोरी भ्यान भेगल (४९) आधारशिविर पुगेर फेरि हाइक्याम्प फर्किएदेखि बेपत्ता छन् । कोरीले नेदरल्याण्डस्मा रहेका छोराछोरीलाई त्यसै दिन पठाएको (माथिको) तस्वीर नै उनको ‘अन्तिम चिनो’ बनेको छ ।

२४ माघ २०७४ मा काठमाडौं ओर्लिएकी कोरीले त्यसलगत्तै पोखरा आएर अन्नपूर्ण आधारशिविरतर्फको यात्रा थालिन् । अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) चेकपोष्टको रेकर्डमा उनी १ फागुनमा बिरेठाँटी पुगेको उल्लेख छ । तर होटलहरूका अनुसार उनी त्यहाँबाट पुनहिलसम्म मात्रै पुगिन् र फर्किएर मर्दी हिमालतर्फको पदयात्रा शुरू गरिन्– यद्यपि मर्दी पदयात्राका लागि उनले एक्यापबाट स्वीकृति लिएकी थिइनन् । ७ फागुनमा मर्दी पदमार्गको हाइक्याम्पस्थित ट्रेकर्स प्याराडाइज होटलमा बेग्लै कोठा नपाएर डाइनिङ टेबलमै रात बिताएकी कोरी भोलिपल्ट मर्दी आधारशिविर पुगेर फर्केपछि भने होटल माछापुच्छ«ेमा बसिन् । अर्को दिन बिहान होटलबाटै छोरीलाई तस्वीरहरू पठाएकी उनी त्यसपछि कता लागिन् पत्तो छैन ।

पदयात्राबाट फर्केपछि पोखरा विपश्यना केन्द्रमा दुई साता ध्यान गर्ने योजना थियो उनको । तर, तोकिएको मितिमा केन्द्रमा नआएपछि उनीसँग रहेको मोबाइलमा फोन गर्दा लागेन, इमेलको जवाफ पनि आएन । र, केन्द्रले नेदरल्याण्ड्समा रहेकी छोरी राइनलाई उनी सम्पर्कविहीन भएको जानकारी दियो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीमा छोरी हराएको जानकारी गराउँदै जेनी भ्यान भेगल ।

कोरी बेपत्ता भएको खबर पाएपछि उनको परिवारले नेपालमा रहेका मित्र र ट्रेकिङ एजेन्सीमार्फत खोजी गरायो । त्यसपछि कोरीकी ७६ वर्षीया आमा जेनी भ्यान भेगल छोरी खोज्न आफैं आइपुगिन् । प्रहरीको टोली र तालिमप्राप्त कुकुर लिएर पदमार्ग वरपर खोजी गर्दा पनि कोरी भेटिएकी छैनन् ।

मर्दी पदयात्राको हाइक्याम्पबाट ओर्लने दुईवटा बाटोमध्ये सिदिङ गाउँ हुँदै झ्र्ने छोटो तर खतरनाक बाटो रोजेपछि कोरी त्यतै चिप्लेर बेपत्ता भएको निष्कर्षमा पुगेकी छन् आमा जेनी । चौंरी पनि चिप्लेर हराउने गरेको नयाँ बाटोमा मान्छे चिप्लिएपछि भेट्टिन नसकिने पोखराको लेकसाइडस्थित इथिकल ट्रेकिङ नेपालका गाइड दिलीप आचार्य बताउँछन् । उनी भन्छन्, “त्यो बाटो एक्लै पदयात्रा गर्ने जस्तो छैन, गाइडलाई सँगै लैजानु राम्रो हुन्छ ।”

कोरी आमा जेनीसँगै मुस्ताङमा ।

आमा–छोरी जेनी र कोरी सन् १९९८ मा पहिलो पटक नेपाल आएका बेला मुस्ताङमा पदयात्रा गरेका थिए । पहिलो पटक आएदेखि नेपाल मन पराएकी जेनी भन्छिन्, “छोरी यतै हराएपछि, अब नाति–नातिनालाई के जवाफ दिनु !”

सात वर्ष अघिदेखि पर्यटकका लागि खुला गरिएको मर्दी हिमाल ट्रेकमा पदयात्री हराएको यो पहिलो घटना होइन । यसअघि ३० असोज २०७३ मा मर्दी आधारशिविरबाटै इजरायली नागरिक अमित रिचम्यान (४५) हराए । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एमबीबीएसकी छात्रा, काठमाडौं–३ बसुन्धराकी विपना उप्रेती (२१) पनि गत माघ अन्तिम साता देउराली भन्ने स्थानबाट बेपत्ता भइन् ।

यो पदमार्गमा यात्रा गर्दा पर्यटक झुक्किन/हराउन सक्ने ठाउँहरूमा बाटो पहिल्याउने संकेत चिह्नहरू छैनन् । छिनछिनमा बदलिने मनमोहक दृश्य र मौसम अनुभव गर्दै हिमालको काखसम्म पुगिने मर्दी पदयात्रा रोमाञ्चक भए पनि बाटो जोखिमपूर्ण छ । स्थानीय व्यवसायीले पदमार्गको सामान्य पहिरो पन्छाउने काम गरे पनि त्यो पर्याप्त नभएको सिदिङका व्यवसायी सुदीप गौतम बताउँछन् । मुख्य जिम्मेवार एक्याप भने पर्यटक हराउने क्रम बढ्दा पनि कानमा तेल हालेर बसेजस्तै छ ।

comments powered by Disqus

रमझम