हात (न) मिलाउनुस्

Share:
  
- शेखर खरेल
पश्चिमाहरू संक्रमणको डरले सकेसम्म हात मिलाउनु नपरोस् भन्छन् तर हामीचाहिं आधुनिक देखिनै पनि नमस्कार त्यागिरहेका छौं।

हालै एक स्वास्थ्य सम्बन्धी कार्यक्रममा प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले ‘नो ह्याण्डसेक’ अर्थात् हात मिलाउने बानीलाई निरुत्साहित गर्ने नीति ल्याउने तयारी गरिरहेको खुलासा गरे । ‘हात मिलाउनु नेपालीको मौलिक संस्कृति पनि नभएको र हात मिलाइँदा कीटाणुको संक्रमण हुनसक्ने भएकाले यस्तो नीति उपयुक्त हुने’ उनको तर्क थियो । मन्तव्यका लागि मन्तव्य मात्र हो वा पौडेल साँच्चै यस्तो नीति ल्याउँदै छन्, समयले बताउने नै छ । तर, ‘नो ह्याण्डसेक’ को पौडेल दलिल सहजै कार्यान्वयन होला त ?

त्यसो त बल्ल साबुनपानीले हात धुने र दिसामुक्त क्षेत्र घोषणाजस्तो अभियान चलिरहेको, कृषि र श्रमजन्य रोजगारीमा बहुसंख्यक नागरिक आबद्ध रहेको हाम्रो जस्तो मुलुकमा हात मिलाउनु स्वास्थ्यको दृष्टिले पनि उपयुक्त होइन । ‘ह्याण्डसेक’ हाम्रो मौलिक अभिवादन संस्कार त हँुदै होइन । ‘नमस्कार’ जति श्रुतिमधुर छ, यसले प्रवाह गर्ने सन्देश झ्नै संस्कारयुक्त छ ।

‘ह्याण्डसेक’ पश्चिमा संस्कृतिको सिको हो । तर पनि, यसले जब्बर संस्कृतिकै रूप लिइसकेकाले सजिलै उखेल्न सम्भव छैन । बरू यो संस्कृतिको उद्गमस्थल पश्चिमा मुलुकहरूमा त्यो हदसम्म हात मिलाइँदैन, जसरी ‘नमस्कार’ का सन्तति हामी ‘ह्याण्डसेक’ मा अभ्यस्त भइरहेका छौं । उनीहरू परिचित वा अपरिचित दुवैथरीसँग आँखा (आइकन्ट्याक्ट) जुध्दा ‘हाई’, ‘हेलो’ भन्छन्, कहिले अलिकति माथि हात उठाउँछन् त कहिले फिस्स हाँसो छाड्छन् । औपचारिक स्वागत वा बधाई दिंदा बाहेक हात मिलाउने चलन कम हुँदै गएको छ । यस्ता अवसरहरूमा उनीहरू आलिङ्गन पनि गर्छन् । महिलाहरूबीच हल्का आलिङ्गन सँगसँगै गालामा गाला हल्कासँग जोड्ने ‘जेस्चर’ पनि प्रचलित छ ।

अझ् पश्चिमा सम्भ्रान्त अनि शासक वर्ग ‘ह्याण्डसेक’ बाट टाढै बस्न रुचाउने तथ्य बेलायती राजपरिवारको रवैयाबाट पनि पुष्टि हुन्छ । बेलायतकी महारानी एलिजावेथ द्वितीया प्रजासँग हात त मिलाउँछिन्, तर पञ्जा लगाएर मात्र । त्यसको उद्देश्य फेसन नभएर हात मिलाउँदा सर्न सक्ने सूक्ष्म जीवाणुको संक्रमणबाट आफूलाई सुरक्षित राख्नु हो । कतिसम्म भने एड्स रोगले महामारीको रूप धारण गर्दै गरेको बखत सन् १९८७ मा बेलायतकी तत्कालीन युवराज्ञी डायनाले लण्डनस्थित उपचार केन्द्रमा एड्स प्रभावित व्यक्तिसँग पञ्जा विनै हात मिलाउँदा ठूलै सनसनी फैलिएको थियो ।

हामीकहाँ आफूलाई केही आधुनिक, समतावादी र अझ् भन्नुपर्दा प्रगतिशील र क्रान्तिकारी देखाउने हेतुले पनि ‘ह्याण्डसेक’ को प्रचलन बढ्दो छ । किनकि, ‘साना’ (उमेर र सबैखाले हैसियत) ले ‘ठूला’ सँग हात मिलाउने आँट गर्न सक्दैनन् । तर, ठूलाले ‘समतावादी हूँ’ भन्ने जनाउका खातिर सानासँग हात मिलाएको पाइन्छ । निजी भेटघाटका बेला नमस्कार अपेक्षा गर्ने तिनै ठूलाहरू सार्वजनिक स्थल वा समारोहमा सानासँग हात मिलाउँदै गरेका भेटिन्छन् । तर, सबै अवसरमा ‘ह्याण्डसेक’ शोभनीय हुन सक्दैन । खासगरी नाता वा उमेरमा साना व्यक्तिहरूले मान्यजन र विपरीत लिङ्गीप्रति अभिवादन साटासाट गर्दा ।

आमरूपमा हामीकहाँ विपरीत लिङ्गीसँगको अभिवादनमा ‘ह्याण्डसेक’ को प्रचलन नभए तापनि गणतान्त्रिक नेपालको निशाना छापमा पुरुष र महिला हात ‘ह्याण्डसेक पोजिसन’ मा देखिन्छन् । निशाना छापको व्याख्यामा यस ‘जेस्चर’ लाई पुरुष र महिलाबीच लैङ्गिक समानताको रूपमा व्याख्या गरिए तापनि ‘ह्याण्डसेक’ अस्वाभाविक देखिन्छ । महिला र पुरुषबीचको सह–कार्य र मेलबाट राष्ट्रोन्नतिको सन्देश शायद कलाकार दिन चाहँदा हुन् । यदि त्यसो हो भने, त्यसनिम्ति महिला र पुरुषका हातहरूले नेपाल (नक्शा) उठाएको देखाउन सकिन्थ्यो ।

रमाइलो चाहिं नेपालमा ‘ह्याण्डसेक’ को प्रचलन धेरै हदसम्म मुख्यमन्त्री पौडेलको राजनीतिक विचारधारासँग सम्बद्ध छ । किनकि, ‘ह्याण्डसेक’ को विस्तारमा प्रगतिशील वा कम्युनिष्टका व्यवहार धेरै जिम्मेवार छन् । विद्रोह र समानता स्थापनाका लागि भन्दै कम्युनिष्टले नमस्कार गर्न भन्दा हात मिलाउन रुचाए । कम्युनिज्मको विस्तारसँगै ‘ह्याण्डसेक’ को अभ्यास बढ्दै गयो । अझ् माओवादीले सशस्त्र युद्ध थालेपछि झ्नै कसिलोसँग हात मिलाउन थालियो ।

एउटा कसिलो ‘ह्याण्डसेक’ को चिसो अनुभव यस पंक्तिकारको पनि छ । केही वर्षअघि वृत्तचित्र निर्माणका क्रममा कपिलवस्तुको ग्रामीण सार्वजनिक विद्यालय पुग्दा तीन बीस भन्दा बढी हिउँद कटाइसकेकी वृद्धालाई नमस्कार गर्दा उनले कसिलो ‘ह्याण्डसेक’ गरेकी थिइन् । विद्यालय व्यवस्थापन समितिकी सदस्य ती वृद्धालाई कसले के पढाइदिए, तर उनले हात बढाउँदा पंक्तिकार एकछिन ट्वाँ परेको थियो ।

comments powered by Disqus

रमझम