१६ भदौ २०७० | 1 September 2013

कसरी भयो यस्तो

Share:
  
- डा. शीतलकाजी श्रेष्ठ
बर्डफ्लू रोग नियन्त्रण आदेश २०६४ को न्यूनतम पालना गर्दा टर्ने बर्डफ्लूले देशको कुल गार्हस्थ्य उत्पादनमा ३.४ प्रतिशत योगदान दिन थालेको पोल्ट्री उद्योगलाई मात्र धराशायी बनाएन मान्छेलाई समेत खतरामा पारेको छ ।

बिक्रम राई
यसपालि उपत्यकामा देखिएको बर्डफ्लूले सरकारको हेलचेक्र्याइँलाई छताछुल्ल बनाइदिएको छ । यस्तो संवेदनशील घडीमा सबै सरोकारवाला मिलेर रोकथाममा लाग्नुपर्नेमा जिम्मेवार व्यक्ति÷निकायहरू आ–आफ्नै ढंगले समस्या लुकाउन सक्रिय भए । कतिपय व्यवसायीले संक्रमित कुखुरा रातारात बजार पु¥याए । कतिले जाँच गर्न आएका चिकित्सकहरूलाई खोरमा पस्नै दिएनन् । कतिपय चिकित्सकले रोगी कुखुरालाई स्वास्थ्य प्रमाणपत्र जारी गरिदिए । यसरी बर्डफ्लूको प्रमाण लुकाउन सबैले भगीरथ प्रयत्न गरे ।

बर्डफ्लू नियन्त्रणका लागि जिम्मेवार पशु सेवा विभागले ‘बर्डफ्लू रोग नियन्त्रण आदेश’ अनुसार उपत्यकाका तीनै जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरे पनि कार्यान्वयन गर्न सकेन । अरू त अरू जिल्लाका बर्डफ्लू रोग नियन्त्रण प्राविधिक समितिलाई समेत सक्रिय बनाउन सकेन । जबकि, जिल्लाभित्र बर्डफ्लू रोकथाम, नियन्त्रण तथा क्षतिपूर्ति सम्बन्धी सम्पूर्ण कामको अधिकार ती समितिहरूमा छ । त्यसो त बर्डफ्लू रोग नियन्त्रण आदेश २०६४ का न्यूनतम कुराहरूको पालना गरेको भए यो स्थिति आउने नै थिएन ।

यस वर्ष ६२ पटक ‘आउट ब्रेक’ हुँदा एक पटक पनि ‘बर्डफ्लू संकटग्रस्त क्षेत्र’ घोषणा गरिएन । पछिल्लो पटक भक्तपुरमा बर्डफ्लू देखिंदा ३१औं दिनमा त्यस्तो घोषणा गरियो, तर पूरै जिल्लालाई संकट क्षेत्र भन्दै । जबकि, प्रयोगशालामा पुष्टि भएपछि नमूना लिइएको ठाउँ वरिपरिका तीन किलोमिटर क्षेत्रलाई मात्र संकटग्रस्त क्षेत्र घोषणा गर्ने प्रावधान छ ।

संकटग्रस्त क्षेत्रभित्र कम्तीमा तीन महीनासम्म पन्छी पालन, उत्पादन, प्रशोधन तथा बिक्री वितरण गर्न नपाइने प्रावधान बिर्सेर जम्मा एक साता त्यस्तो अवधि तोकियो । बर्डफ्लूले डरलाग्दो रूप लिइरहँदा २५ साउनमा प्रतिबन्ध फुकुवा गरेर सरकारी निकायहरूले हदैसम्मको खेलाँची गरे । झपा र पोखरामा बर्डफ्लू देखिंदा पशु सेवा विभाग अन्तर्गतको टोलीले ¥यापिड रेस्पोन्स टीम बनाएर २१ दिनसम्म क्याम्प बसाएर नियन्त्रण गरेको थियो । यस पटक विभागले त्यसो गर्नु जरूरी नठान्दा नियन्त्रण प्रक्रिया फितलो हुन पुग्यो ।

प्रकोप शुरू भएको ३० दिनपछि भक्तपुरलाई, त्यसको भोलिपल्ट काठमाडौं महानगरपालिकाको एउटा वडा सहित गाविसहरूलाई अनि कीर्तिपुर नगरपालिकालाई संकटग्रस्त क्षेत्र तोकिनुले न गम्भीरता देखाउँछ न त वैज्ञानिकता । संक्रमणको केन्द्र विन्दुबाट तीन किमी बाहिरको ‘सघन निगरानी क्षेत्र’लाई ‘संकटग्रस्त’ भन्नलाई यथेष्ट वैज्ञानिक प्रमाण चाहिनेमा हचुवामा जिल्लाहरूलाई नै त्यसो भन्दा पोल्ट्री उद्योगलाई भताभुङ्ग पार्न मद्दत पुग्यो ।

सरकारी निकायहरूले संकटग्रस्त क्षेत्र घोषणा गरेको ९ दिनसम्म पनि कुखुरा मार्न सकेका छैनन् । विना तयारी रोग नियन्त्रणको लागि अगाडि सर्दा घरपालुवा कुखुरा नियन्त्रणमा लिएर नष्ट गर्ने र सुली व्यवस्थापन समेत ठूलो चुनौती बन्यो ।

सामान्यतया जीवाणुले जैविक सुरक्षा घेरा तोडेपछि बर्डफ्लू संक्रमण हुन्छ । यसबाट सुरक्षित हुने उपाय भनेको खोर–खोरमा जैविक सुरक्षा विधि लागू गर्नु हो । त्यसको लागि ह्याचरी, ब्रिडर फार्म, कमर्सियल फार्म, मासुपसल, दाना उद्योग, ढुवानीकर्ता लगायत सरोकारवालाहरूले आ–आफ्नो क्षेत्रबाट विधि अपनाउनुपर्छ । यसमा राज्य पक्ष प्रमुख जिम्मेवार हो भने सफल गराउने सरोकारवालाहरूको दायित्व हुन्छ ।

बर्डफ्लूको जोखिमको हिसाबले क्रमशः दैनिक सम्पर्कमा आउने कामदार, ढुवानीकर्ता, व्यवसायी र त्यसपछि उपभोक्ताहरू खतरामा हुन्छन् ।

संक्रमित कुखुराको मासु, सुली र र्यालबाट बर्डफ्लू सर्छ । कुखुराको मासु ७० डिग्री सेल्सियसको तापक्रममा पकाउँदा सुरक्षित हुन्छ । अण्डा पनि पूर्ण रूपमा पाकेपछि मात्र खानुपर्छ । फोहोर पसलको मासु त किन्नै हुँदैन ।

मासु जाँच ऐन, २०५२ पूर्ण रूपमा कार्यान्वयन गराई स्वस्थ मासु उपभोक्ताकहाँ पु¥याउनु राज्यको दायित्व हो, जुन अहिलेसम्म हुनसकेको छैन । त्यसमाथि, बर्डफ्लूको बढ्दो संक्रमण जनस्वास्थ्यमाथि ठूलो खतरा बनेर आइलागेको छ । अन्त्यमा, सरकारले बर्डफ्लू लागेको कुखुरा र कुखुराजन्य पदार्थलाई पूर्ण नष्ट गरेर क्षतिपूर्ति दिने गरेको छ, तर त्यस्तो रकम ज्यादै न्यून भएको किसानहरूको गुनासो छ । हुन त, सरकारले बर्डफ्लूको क्षतिपूर्तिमा रोगको चाँडो पहिचान, यसमा किसानहरूलाई अभिप्रेरित गर्ने र रोकथाम तथा नियन्त्रणका प्रक्रिया अवलम्बन गर्न सजिलो होस् भन्ने उद्देश्य राखेको देखिन्छ । तथापि, ४/५ सय रुपैयाँको कुखुराको क्षतिपूर्ति रु.१३० हुन सक्दैन । यसमा समयसापेक्ष परिमार्जन गरिनुपर्छ । नाम मात्रको क्षतिपूर्ति भएसम्म संक्रमित कुखुरा लुकाउने प्रवृत्ति दोहोरिरहन्छ ।

(श्रेष्ठ नेपाल भेटेरिनरी एशोशिएसनका महासचिव हुन् ।)

comments powered by Disqus

रमझम