६-१२ जेठ २०७५ | 20-26 May 2018

‘अभियोग लागेपछि निलम्बन गर्नै पर्छ’

Share:
  

फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्न नहुने नेपाली कांग्रेसको अडान विपरीतका धारणा व्यत्ताm गरिरहेका कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ भन्छन्, “जनप्रतिनिधिले अरुभन्दा उच्च चरित्र र निष्ठा प्रस्तुत गर्नुपर्छ।”

फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्न नहुने आफ्नै दलको अडान विपरीत उभिनुभएको छ, किन ?

राजनीतिमा नैतिकता, इमानदारी र निष्ठा हुनै पर्छ भन्ने मेरो मान्यता हो । तर अहिलेको राजनीति धनवाद र डनवादबाट प्रभावित छ । यसलाई राजनीतिबाट अलग नगर्ने हो भने जताततै अराजकता मात्रै हुन्छ । जनताका प्रतिनिधिले गल्ती नै गर्दैनन् भन्ने मान्यता स्थापित गर्नका लागि पनि अभियोग लागेका सांसदलाई निलम्बन गर्ने व्यवस्था जरुरी छ ।

विरोधी विचार सार्वजनिक गरिरहँदा तपाईंलाई पार्टीभित्र समस्या पर्दैन ?

स्वतन्त्र रुपमा विवेकपूर्ण विचार राख्दा धेरै ठाउँमा समस्या आउँछन् । तर मेरा कुराबाट नेताहरू रिसाउलान्, मलाई अप्ठ्यारो पर्ला भनेर गलत कुराको समर्थन गरिंदैन । एक्लै हुनु परे पनि विवेकपूर्ण अडानमा म सधैं अडिग रहन्छु । फेरि शुद्धीकरण पनि व्यक्ति हुँदै समग्र पार्टीमा पुग्ने हो ।

अभियोग लागेका सांसदलाई निलम्बन नै किन गर्नुपर्‍यो ?

सामान्य कर्मचारी त फौजदारी अभियोग लागेपछि निलम्बन हुन्छन् भने हामी त जनताका प्रतिनिधि हौं । कानून बनाउने जनताका प्रतिनिधिलाई छूट र अरुलाई छूट नहुने भन्ने असमान व्यवस्था लोकतन्त्रमा हुनै हुँदैन । निलम्बन नगर्दा त छाडातन्त्र बढ्छ ।

अभियोग प्रमाणित भएपछि निलम्बनमा परिहाल्छन् नि !

जनप्रतिनिधिले उच्च निष्ठा र चरित्र प्रस्तुत गरेपछि मात्र अरुले पनि त्यसको सिको गर्छन् । अरुभन्दा पनि उच्च तहको निष्ठा, नैतिक चरित्र हुनुपर्ने सांसद आफैंलाई अभियोग लाग्दा पनि प्रमाणित भएपछि छोडौंला भन्दै बस्न पटक्कै सुहाउँदैन । विगतमा पनि फौजदारी अभियोग लागेका सांसदहरू निलम्बन भएका र अदालतबाट सफाइ पाएपछि संसदमा पुनः गएका उदाहरण छन् ।

पार्टीभित्र अरुलाई पनि आफ्नो विचारमा सहमत गराउन सक्नुहुन्न ?

मैले आफ्नोतर्फबाट प्रयास गरिराखेको छु । कतिपय अजेण्डामा अरुलाई सहमत गराउन सफल पनि भएको छु भने केहीमा असफल । भ्रष्टाचारी प्रमाणित भएका व्यक्ति पनि उम्मेदवार बन्न पाउनुपर्दछ भनेर पार्टीभित्र भएको लविङलाई धेरै जोडबल गरेर तोड्न सफल भएँ । लोकमानलाई महाअभियोग लगाउने विषयको शुरुआत गरे पनि सफल भइएन ।

comments powered by Disqus

रमझम