६-१२ जेठ २०७५ | 20-26 May 2018

‘धर्मगुरु’को अधर्मनीति

Share:
  
- कमल रिमाल, विराटनगर
आफैंलाई गोली हान्न लगाउने ‘धर्मगुरु’ श्रीनिवासको अभीष्ट धर्मका नाममा हिंसा भड्काएर राजनीतिक शत्ति आर्जन गर्नु थियो।

कमल रिमाल
जिल्ला प्रशासन कार्यालय, मोरङमा हातहतियार तथा खरखजाना मुद्दा दर्ता गराएपछि श्रीनिवासलाई लैजाँदै प्रहरी ।
श्रीनिवास आचार्यका नामले चिनिने दिनेश पण्डित (२७) पुराण वाचन गर्दागर्दै ‘धर्मगुरु’ बने । पुराण वाचन कलामा पारंगत पण्डितको महत्वाकांक्षा धर्मगुरु भएर आर्जित शक्तिमा मात्र सीमित रहेन । बैंसमै सबैका ‘पूज्य’ बनेका उनको महत्वाकांक्षा राजनीतितर्फ डोरिन थाल्यो ।

१८ वर्ष नपुग्दै प्रखर पुराणवाचक भइसकेका थिए, पण्डित । बाराको सिमरा–१ घर भएका उनले सामुदायिक विद्यालयमा ११ कक्षा पढ्दापढ्दै भागेर केही महीनामै पूजापाठ र पुराण वाचन सिकेको स्थानीय बताउँछन् । २०६७ सालमा सुनसरीको चक्रघट्टीमा उनको यस्तो क्षमताबाट प्रभावित स्थानीयले उनलाई त्यहीं आश्रम बनाइदिए ।

पण्डितले २०७० को संविधानसभा निर्वाचनका बेला प्रवचन सुन्न भेला भएका श्रद्धालुलाई राजनीतिक दलको प्रचार सामग्री वितरण गरेका थिए । आश्रम नजिकै बस्ने प्रकाशपुरकी कोपिला कटुवालका अनुसार प्रवचन र भजन सुन्न लालायित रहने वरपरका बासिन्दादेखि बराह क्षेत्रमा आएका तीर्थालुलाई ती सामग्री वितरण गरिएको थियो । “चुनावताका हामी प्रवचन सुन्न जाँदा गुरुले चुनाव चिह्न गाई भएको प्रचार सामग्री बाँड्नुभयो” कटुवाल भन्छिन्, “अहिले फूलको माला लगाउनुहुन्छ गुरु, राजनीतिमा जुत्ताको माला पनि लगाइदिन्छन्, राजनीति नगर्नुस् भनेका थियौं ।” तर, शक्ति आर्जनको मातमा आफ्ना खराउ पूजा गराउने यी युवाले स्थानीयको आग्रह सुन्ने कुरै थिएन । त्यसबेला कार चढेर प्रवचन स्थलबाट बाहिरिएका पण्डितको स्थानीयसँगको निकटता पनि कम हुँदै गयो ।

त्यसपछि उनले इटहरी, काठमाडौं, चितवन, नवलपरासी लगायतका ठाउँमा पुगेर हिन्दू राज्यको माग गर्दै अनशन र धर्ना गर्न थाले । १३ साउन २०७२ मा इटहरीमा कमलनयनाचार्य लगायतका धर्मगुरुसहित सडक जाम गरेर बसेका उनलाई प्रहरीले लाठी चार्ज गरेर नियन्त्रणमा लिएको थियो । त्यसपछि भदौ महीनामा उनकै सहभागितामा काठमाडौंमा भएको प्रदर्शनमा उग्र भाषण गरेपछि पण्डित र उनका अनुयायीलाई तितरवितर पार्न प्रहरीले पानीको फोहोरा हानेको थियो । तर प्रदर्शनले खासै प्रभाव जमाउन नसक्दा उनले देशका अन्य भागमा पुराण सुनाउँदै आर्जित रकमबाट विभिन्न कार्यक्रम गर्न थाले ।

राजनीतिमा स्थापित हुने प्रयास गरिरहेका पण्डितले केही सीप नचलेपछि विराटनगरमा पुराण वाचन गर्न गएका बेला २५ चैत २०७४ बिहान दुई बजे आफैंलाई गोली हान्न लगाए । हिंसा भड्काएर आफू स्थापित हुने उनको यो योजनाले त उनलाई उदाङ्गो नै पारिदियो ।

“समयमै अनुसन्धान सफल भएकाले सम्भावित खतरा टर्‍यो”, मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य भन्छन् । शुरूमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पण्डितको कल डिटेलका आधारमा उनलाई गोली प्रहार गर्न खटाइएका चितवनको भरतपुर–४ का माधव चौधरी (२९) र पेस्तोल उपलब्ध गराउने नवलपरासी, गैंडाकोट– ५ का लक्ष्मीराज अधिकारी (३२) लाई पक्राउ गर्‍यो । प्रहरी अनुसन्धान आफूतिर सोझ्एिको थाहा पाएर दिल्ली जाने तयारीमा रहेका पण्डित उनीहरूकै बयानका आधारमा २४ वैशाखमा काठमाडौंबाट समातिए ।

पक्राउ परेका चौधरीले पण्डितले हातमा गोली हान्न भने पनि ५ मिटर परबाट प्रहार गर्दा ‘मिस’ भएर छातीमा लागेको बताए पनि पण्डितले भने आफूले छातीमै गोली हान्न लगाएको बयान दिएका छन् ।

दाहिने छातीमा गोली लाग्ने बित्तिकै न्यूरो अस्पताल, विराटनगर लगिएका पण्डित २१ दिनको उपचारपछि काठमाडौं पुगेका थिए । अहिले प्रहरी हिरासतमा पानी समेत नपिएपछि उनलाई कोशी अञ्चल अस्पतालमा नसाबाट पोषण र पानी दिइएको छ । उनलाई भेट्न जाने पनि केही निकटतम मात्रै छन् ।

“निर्दोषलाई गोली हानियो, धार्मिक आन्दोलन बढ्न सक्छ भनेर सरकारले तत्कालै उपचार खर्च व्यहोर्ने घोषणा गरेको थियो” प्रजिअ आचार्य भन्छन्, “घटना आफैंले गराएको पाइएपछि अब उपचार खर्च बेहोरिंदैन ।” उनको उपचारमा लागेको खर्च बापत अस्पतालमा रु.१ लाख ३० हजार र औषधि पसलमा रु.२५ हजार बक्यौता छ ।

कानूनको अन्योल

आफैंलाई गोली प्रहार गर्न लगाउनेलाई के कारबाही गर्ने भन्ने अन्योल भएपछि मोरङ जिल्ला प्रशासनले पण्डितमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा मुद्दा चलाएको छ । चौधरी र अधिकारीलाई भने ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा चलाइएको छ ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार पण्डितले धार्मिक उग्रता प्रदर्शन गर्दै ‘हिन्दुत्वका खातिर बलिदानी दिन’ उक्साउने गरेका थिए । “सभा र्‍यालीले मात्रै हिन्दू जागेनन् भनेर पण्डितले यो कदम चालेको देखिन्छ” मोरङ जिल्ला प्रहरी प्रमुख, एसपी अरुणकुमार बीसी भन्छन् ।

हातहतियार तथा खरखजाना मुद्दामा रु.१ लाखसम्म जरिवाना र एक वर्षसम्म कैदको व्यवस्था छ । मोरङका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकका अनुसार, आफैंलाई गोली हान्न लगाउनेलाई कारबाही गर्न कुनै कानून आकर्षित हुँदैन । “उनले धर्मका नाममा हतियार चलाउँदा पाप लाग्दैन भनेर युवालाई उक्साएको देखिन्छ” पाठक भन्छन्, “धार्मिक हिंसा भड्काउन प्रयास गर्नेलाई के कारबाही गर्ने भन्ने ऐनमा उल्लेख छैन ।”

यस्तो प्रयास गर्नेलाई विद्यमान कानून अनुसार सार्वजनिक अपराध ऐन अनुसार मात्रै कारबाही गर्न सकिन्छ । वरिष्ठ अधिवक्ता राजेन्द्र भट्टराई भन्छन्, “धर्मलाई राजनीतिमा मिसाएर गरिने अपराध नियन्त्रणका लागि बेग्लै कानून ल्याउन जरूरी भइसकेको छ ।”

comments powered by Disqus

रमझम