म्यासाच्युसेट्सको हाभरहिलस्थित साउथविक नामक कोट कारखानामा २४ जना भूटानी काम गर्छन् । चार वर्षदेखि यहाँ कार्यरत पञ्चबहादुर गुरुङका अनुसार पहिले यहाँ करीब ६० जना भूटानी थिए । बसाइँसराइ र अन्य अवसरले गर्दा साउथविक मा काम गर्नेको संख्या भने पातलियो । टेक्सस राज्यमा फेडेक्स को वितरण भण्डार, न्यूयोर्क रोचेस्टरको डेरी फार्म र भर्मन्टको चकलेट फ्याक्ट्री लगायतमा हजारौं भूटानीले काम गरिरहेका छन् ।
रोजगारका अनेक आयाम
नेपालबाट अमेरिका पुगेका भूटानी शरणार्थीको बाक्लो आवादी भएको ओहायो राज्यमा धेरै परिवारका सदस्यले एकै थलोमा रोजगारी पाएका छन् । अनलाइन व्यापारिक कम्पनी– एमाजन को स्थानीय फुलफिलमेन्ट सेन्टरमा भिन्नाभिन्नै समय तालिकामा १५०० भन्दा बढी भूटानीले काम गरिरहेको त्यहीं काम गर्ने दलबहादुर खप्तरी बस्नेत बताउँछन् । त्यहाँ काम गर्ने पाँचजना त बस्नेतकै परिवारका सदस्य छन् । उनी भन्छन्, “राम्रो काम गर्ने देशको सूचीमा पनि हामी अगाडि छौं ।”
ओहायोमा एमाजन का दुई फुलफिलमेन्ट सेन्टरमा शुरूआती स्तरदेखि उच्च–मध्यम दर्जाका पदमा काम गर्ने नेपालीभाषी भूटानीहरू छन् । कोडिङ्ग सम्बन्धी समस्या समाधानको जिम्मा पाएका धनपति आचार्य भन्छन्, “राम्रो पारिश्रमिक, जागिर पाउन र छाड्न सहज, मिल्दो समय र अन्य सुविधाका कारण मानिसहरू अरू ठाउँ छाडेर एमाजन आउँछन् ।”
उत्तर अमेरिकामा तयारी खाना बेच्ने एस के फूड्स, झेला बनाउने थर्टी वान, चिकित्सा–उपकरण वितरक कार्डिनल हेल्प, एक्जियम प्लास्टिक एलएलसी, केडीसी कस्मेटिक्स, जुलीली तयारी कपडा कम्पनीको वितरण–केन्द्र, केस फार्मस् पोल्ट्री प्रोसेसिङ्ग प्लान्ट लगायतका स्थानीय कम्पनीमा २५ जनादेखि सयौंको संख्यामा काम गर्ने भूटानी छन् । केन्टकी राज्यमा बस्ने, तर ओहायो नदी तरेर इन्डियानास्थित एमाजन को फुलफिलमेन्ट सेन्टर जानेको संख्या सडक करका कारण घटेको बताउने लुईभीलका भीम कोइराला भन्छन्, “केन्टकीकै एमाजन मा भने हाम्रा साथीभाइ निकै छन् ।” कोइरालाका अनुसार, केन्टकीमा सूचनाप्रविधिसम्बन्धी सामग्रीको बिक्रेता इन्ग्राम माइक्रो, याङ्ग फेङ्ग (पहिलेको जेसीआईएम) गाडीका पार्टपुर्जा बिक्रेता कम्पनी, विद्युतीय सामानको कम्पनी जेनेरल इलेक्ट्रिक, फोर्ड मोटर, कार्डिनल आल्यूमिनियम लगायतका कम्पनीमा काम गर्नेको संख्या पनि ठूलो छ ।
नेपालीभाषी भूटानी शरणार्थीले एकमुष्ट रोजगारीका अवसर पाउनुको अर्को कारण छ । “ओपिओइड्स, अफिमजस्तै एक प्रकारको लागूऔषधका कारण पाँचमध्ये एक पुरुष कामबाट निकालिएका वा काम छाड्ने अवस्थामा पुगेका छन्”, प्रिन्स्टन विश्वविद्यालयका अर्थशास्त्री अलान क्रुगरको अध्ययनको निचोड हो, यो । यही विषयमा सिएनएनका पत्रकार ड्यानियल लिबरम्यानले तयार पारेको समाचार विश्लेषणमा उल्लेख छ, “लागूऔषध सेवन÷प्रयोगको जाँच गर्दा असफल हुने यहाँका गोरा जातिले काम पाउँदैनन्, उनीहरूको ठाउँमा शरणार्थीले काम पाउँछन् ।” लिबरम्यानले पेन्सलभेनिया राज्यका इरी र केन्टकीको प्रसंग जोड्दै भनेका छन्, “यस्ता दुव्र्यसनीको विकल्पमा सिरिया, सुडान, चाड, भूटानका शरणार्थीले काम पाएका छन् ।”
शरणार्थीले रोजगारी पाउने यो नयाँ तरिका भने होइन । बसोबास सम्बन्धी जिम्मेवारी सम्हालेका यहाँका पुनर्वास संस्था, अरू निकाय र तालिम दिने संस्थाले त्यसै अनुसार नवआगन्तुकलाई तयार पार्छन् । भियतनाम युद्धपछि अमेरिका ल्याइएका दक्षिण पूर्वी एशियाली मुलुकका नागरिकलाई एकमुष्ट रोजगारीका अवसर प्रदान गरिएको थियो । कारण जेसुकै भए पनि एकैथलोमा धेरैले रोजगारी पाउँदा भूटानी शरणार्थीको जीवन निकै सहज बनेको छ ।
संयुक्त राज्य अमेरिकाका २२ वटा राज्यमा सबभन्दा धेरैलाई रोजगारी दिएको बहुराष्ट्रिय खुद्रा व्यावसायिक संस्था– वालमार्ट मा काम गर्ने भूटानीको संख्या पनि ठूलो छ । उद्योग, वितरण–केन्द्र, वालमार्ट आदि बाहेक स्थानीय विश्वविद्यालय, विद्यालय, अस्पताल, आफ्नै व्यापार आदिमा समेत नेपालीभाषी भूटानी संलग्न छन् ।
सन् २००८ मा शुरू भएको भूटानी शरणार्थी पुनस्र्थापना कार्यक्रम २०१७ को अन्त्यसँगै सकिए पनि पहिले दर्ता भएका शरणार्थीलाई अझै पनि तेस्रो मुलुकमा पुनस्र्थापना गरिंदैछ । अमेरिकामा सन् २०१८ अप्रिल अन्त्यसम्म ९५ हजार ८८० भूटानी शरणार्थी पुनस्र्थापित भएका छन् ।
(कोइराला नेपाली–भाषाको अमेरिकी न्युजलेटर ‘अक्षरिका’ का सम्पादक हुन् ।)