आर्किटेक्ट अरुणदेव पन्त १९९० सालको भूकम्पअघिसम्म ढुङ्गा, इँटा, माटो, काठ, बाँस, खर, पराल, झिंगटी, सिलेट, खपडा जस्ता वस्तुबाट घर बन्ने गरेको बताउँछन् । अन्तरपुस्ता हस्तान्तरण हुँदै आएको ज्ञान, सीप र कलाको संयोजनकै कारण पुराना घरहरू मौलिक र विशिष्ट हुन्थे । पन्त भन्छन्, “पुस्तैनी परीक्षण हुँदै आएका यस्ता घरहरू भूगोल सुहाउँदो, फरक ढाँचा र स्थानीय निर्माण सामग्रीबाट तयार पारिन्थ्यो ।”
पहिले डाँडामा घर बनाउने र टारमा खेती गर्ने चलन थियो । अहिले उब्जाउ जग्गादेखि धाप र भीरमा समेत घर बनिरहेका छन् । संस्कृति, परम्परा र मौलिकता छाडेर जथाभावी घर बनाउने प्रवृत्ति झाङ्गिएको छ ।
सम्पदाविद् रवीन्द्र पुरी पहिले मन्दिरको गजुरभन्दा अग्लो घर बनाउनुहुँदैन भन्ने मान्यता अनुसार बढीमा तीन तलासम्मका घर बन्ने गरेको बताउँछन् । “तर, अचेल मानिसहरू ठूलो घरको चाहना राख्छन्, शहरीकरणको चापसँगै भाडा लगाउन पनि ठूला घरहरूको उपयोगिता बढ्दो छ”, उनी भन्छन् ।
छनोटको सुविधा, आवश्यकता, आकर्षक डिजाइन, खुला विश्व परिवेश लगायतका कारणले आधुनिक घरहरू बन्न थालेका हुन् । लिउन लगाइएको घरको मोटो गारोले जाडोमा न्यानो र गर्मीमा चिसो बनाउँथ्यो । अहिले पंखा, एसी, हीटरबाट कोठा तातो–चिसो बनाइन्छ । पुराना घरमा सबैतिर काठ प्रयोग हुन्थ्यो, अहिले झ्याल र ढोका समेत आल्यूमिनियमका बन्न थालेका छन् ।
गत शताब्दीमा काठमाडौं उपत्यकामा बनेका जस्ता मौलिक घरहरू अन्यत्र कतै नपाइएको बताउने सम्पदाविद् पुरी भन्छन्, “आधुनिक घर बनाउँदा पनि परम्परा र मौलिकतालाई जोगाउन सकिन्छ ।” परम्परागत शैलीका घर बनाउन केही बढी समय लागे पनि परम्परा, संस्कृति र पहिचानका लागि नयाँ घर बनाउँदा पुरानो शैलीलाई पनि मिसाउनुपर्ने उनको सुझाव छ ।
आधुनिक निर्माण सामग्रीबाटै घरको बाहिरी आवरण, कोठा, भान्सा आदिलाई पुरानो आकर्षक स्वरुपमा ढाल्न सकिने पुरीको भनाइ छ । समुदायले परम्परागत डिजाइनको महत्व बुझ्न थालेको भए पनि मौलिक घर निर्माण गर्ने प्रवृत्तिले अझै गति लिनसकेको छैन । घर निर्माणमा आर्किटेक्टको सल्लाह लिने आम प्रचलन शुरु हुन थालेको यो समयमा उपत्यकामा भने सीमित व्यक्तिले परम्परागत स्वरुपमा घर बनाउन थालेका छन् ।