६-१२ जेठ २०७५ | 20-26 May 2018

बैठान नभएको विद्रोह !

Share:
  
- शीतल दाहाल
पत्रिकामा ठूल्ठूला विज्ञापन, सामाजिक सञ्जालमा चर्चा र ‘प्रतीक्षाको घडी समाप्त भएको उद्घोष’ सँगै बजारमा आयो शिवानी सिंह थारुको उपन्यास काठमाडौंमा एक दिन ।

१० वर्षअघि नै शिवानीले घोषणा गरेकी थिइन्– ‘म उपन्यास लेख्दैछु ।’ यस हिसाबले निकै लामो समय लगाएर लेखिएका थोरै नेपाली उपन्यासमध्येको हुनुपर्छ– यो । सामाजिक सञ्जालमा ‘हिट’ शिवानी ख्याति कुनै बेला टेलिभिजनको दुनियाँमा पनि थियो । उनीजस्तो पब्लिक फिगरबाट उनका फ्यान, दर्शक र पाठकले जे अपेक्षा गर्छन् त्यो मैले पनि गरें, शायद अझ बढी ।

उनले रोजेको विषय आफैमा जबरजस्त छ । धेरैको चासो रहने यस्तो विषयमा १० वर्ष लगाएर गरिएको मिहिनेतको नतिजा जस्तो अपेक्षा गरिएको थियो, त्यसमा खरो उत्रिन सकेन काठमाडौंमा एक दिन । विषय उत्कृष्ट भए पनि उठाइएको मुद्दाले निकास नपाउँदा पुस्तकको उत्कृष्टता पुष्टि हुँदैन । एक दशक आफैंमा एक युग हो र लेखनमा युगयात्रा तय गरेको उपन्यासले विषयलाई विशिष्ट गन्तव्यमा पुर्‍याउनुपथ्र्यो । पुस्तक पढिरहँदा रिपोर्टको संकलन जस्तो लाग्छ । भन्न मन लाग्छ, यस्तै रूप र सारमा पुस्तक आउनु थियो भने यत्रो समय किन ?

पुस्तक काठमाडौंमा एक दिन

लेखक शिवानी सिंह थारू

प्रकाशक फाइन प्रिन्ट

पृष्ठ ३४६

मूल्य रु.४५८

हाम्रो समाजमा जातको आधारमा हुने विभेद छुवाछूतभन्दा धेरै परसम्मको छ । दलितमाथि भएका विभेदले विवेकपूर्ण मनमा भक्कानो छुट्छ । मुलुकी ऐनले दशकौं अघि छुवाछूतको अन्त्य गरे पनि विभेदका जरा हाम्रो समाजमा अझै पनि धेरै गहिरा छन् । चमार केटाले भोगेको अपमान वर्णन उपन्यासमा उत्कृष्ट छ । गैरदलितले दलितको जीवन भोगाइलाई शब्दमा उतार्नु गज्जबको साहस हो । यसर्थ, पुस्तकमा केही त पक्कै पनि छ ।

तर, दलितजस्तो संवेदनशील विषयमा कथा उठान गरेर निकास दिन चुक्नु उपन्यासको मुख्य कमजोरी हो । लामो समयको अध्ययनको निष्कर्ष लेख्ने लेखक र बारम्बार पढेर प्रकाशन गर्ने प्रकाशकले बुझ्नुपथ्र्यो, पुस्तकले उठाएको मुद्दाको स्वामित्व अब कसले लिन्छ ?

पुस्तकको मुख्य पात्र घुर्नालाई सिनो बोक्न पटक्कै मन छैन तर, ऊ विद्रोह गर्न सक्दैन । १९ वर्षे लक्का जवान बाँसको भाटामा सिनो बोकेर गाउँको चौरमा जाँदा निकै थकित अनुभव गर्छ । सिनो उठाउनु ‘जात’ को दोष थियो वा उठाउन लगाएर हेप्ने समाजको– ऊसँग उत्तर थिएन ।

दलित परिवारको एउटै छोरो घुर्ना परिवारको गर्जो टार्न भारत पुगेको छ । गैरदलितले गर्ने अपमान सहँदै ऊ ‘रामलीला’ मा काम गर्छ । कृष्ण भन्ने अर्को शिक्षित दलित पात्रसँग उसको भेट भएपछि शिक्षितलाई हत्तपत्त हेप्न नसक्ने समाजको नियम बुझेर घुर्ना पढाइलाई निरन्तरता दिने सुरमा फेरि घर फर्कन्छ ।

एसएलसीसम्मको पढाइ पूरा गरेको घुर्नाको मनभित्र दलित हुनुको पीडा दबिएकै छ । झबर पासवानसँगको सम्पर्कपछि उसले अर्को आफूजस्तै प्राणी यो जगतमा रहेको अनुभव गर्छ । झबरकै मुखबाट भारतीय नील विद्रोहको प्रसंग सुनेको घुर्ना ‘प्यान्थर’ बन्न पुग्छ । झबर दलित स्वतन्त्रताको मुद्दामा भन्दा ‘मधेश मुक्ति’ मा केन्द्रित भएको उसलाई मन परेको छैन । आफूभित्र बल्दै गरेको ‘न्यायको आगो’ झबरबाट नदन्कने भएपछि घुर्ना उर्फ प्यान्थर अब ललन सिंहसँग जोडिन पुग्छ । दुवैले सरकारलाई चुनौती दिने समझदारी गर्छन् । विभेद, घृणा र हेपाइलाई मनमा पोको पारेको घुर्ना एक दिन काठमाडौंमा विस्फोट गराउँछ । त्यही एक दिनको कथा हो सम्पूर्ण पुस्तक । तर दुःखको कुरा, त्यो विस्फोटको प्रभाव सरकारमाथि पर्दैन र पाठकमाथि पनि उति परेन ।

बाल्यकालदेखि जवान हुँदासम्म मानिसका जीवनमा अनगिन्ती घटना हुन्छन् । तर केही अनिवार्य घटनाहरू भने सबैको रुचिका विषय हुन्छन् र पात्रकै जीवनमा पनि अहम् ती घटनाले दिशाबोध गर्छन् । उदाहरणको रूपमा अनिवार्य घटनाहरुमध्येको एक हुनसक्छ– प्रेम । एउटा दलित पात्र मनभरि विद्रोह पालेर जवान भएको छ, रामलीलामा अभिनय गरेको छ, शिक्षा प्राप्तिको हुटहुटी छ तर पनि ऊ कुनै युवतीको प्रेममा छैन । प्रेममा नपर्नु वा उसको जीवनमा ‘भर्चुअल’ नै सही कुनै केटीको उपस्थिति नहुनुले प्रेम–वासना जस्तो जीवनको अनिवार्य तत्वलाई लेखकले बेवास्ता गरेको खट्किन्छ । काठमाडौंमा एक दिन मा पे्रम छैन, न त वासना नै । स्त्रीको भूमिका पनि एकदम कम ।

शुरुको ५० पृष्ठकै लयमा पुस्तकलाई अगाडि बढाइएको भए उपयुक्त हुन्थ्यो कि ! पुस्तकका धेरै ठाउँमा अमिल्दा शब्द जबर्जस्ती जुराउन खोजिएको छ, जसले पाठकलाई बिझाउँछ मात्रै ।

comments powered by Disqus

रमझम