१६ भदौ २०७० | 1 September 2013

कोशी अस्पतालको बिजोग

Share:
  
- कमल रिमाल, विराटनगर
अञ्चल अस्पतालका डाक्टर अस्पताललाई बेवास्त गर्दै नर्सिङ् होम जान थालेपछि कमजोर आर्थिक अवस्थाका बिरामी मर्कामा परेका छन् ।

तस्वीरहरुः कमल रिमाल
अञ्चल अस्पताल प्रसूति वार्डको खाली बेड ।
विराटनगर—७ की खुसबु सहनी (१८) लाई २८ साउन बिहानै प्रसूति व्यथाले च्यापेपछि पूर्वाञ्चलकै ठूलो कोशी अञ्चल अस्पताल पुर्याइयो । त्यहाँ डाक्टर नभएको बताइएपछि सप्तकोशी नर्सिङ होममा लगियो । त्यहाँ पुगेको केहीबेरमै खुसबुले छोरो जन्माइन् । केही घण्टा त्यहाँ बिताएको रु.८ हजार ५०० शुल्क तिरेका सरोज सहनी (२३) भन्छन्, “पैसा धेरै नलाग्ने सरकारी अस्पतालमा डाक्टर नभएकाले नर्सिङ होममा लग्नुपर्दा धेरै खर्च भयो ।” २८ असारमा कोशी अस्पताल पु¥याइएकी मोरङ कटहरी—१ की रञ्जिता पोदार (२३) लाई पनि त्यहाँ डाक्टर नभएको भनिएपछि सप्तकोशी नर्सिङ होम लगियो । शल्यक्रियापछि छोरो जन्माएकी पोदारलाई पाँच दिन त्यहाँ राखेको रु.२७ हजार ७४० को बील तिर्न नसकेका पति नकुलले दुई दिन लगाएर रकम बुझाएपछि मात्र घर लैजान पाए ।

अनौठो चाहिं के छ भने, नर्सिङ होममा रञ्जिताको अप्रेशन गर्ने डा. योगेन्द्र मिश्रा कोशी अञ्चल अस्पतालका प्रसूति विभाग प्रमुख हुन् । अञ्चल अस्पतालमा डाक्टर नभएको भनिंदा उनी नर्सिङ होममा अप्रेशन गर्न तयार थिए । मिश्रा सहित अञ्चल अस्पतालका डाक्टरमा यो प्रवृत्ति बढ्दै गएपछि उपभोक्ता अधिकारमा क्रियाशील पब्लिक फोरमको अगुवाइमा विभिन्न संस्थाहरूले २९ साउनमा जिल्ला प्रशासन कार्यालय, मोरङमा धर्ना दिंदै सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेललाई भेटेर अस्पतालको प्रसूति सेवामा सुधार नभए सडक संघर्ष गर्ने चेतावनी दिएका थिए ।

चिकित्सक अभाव

अञ्चल अस्पतालका डा. आरपी ठाकुर र डा. यामबहादुर रोका भदौ २०६९ मा सेवा निवृत्त भएपछि प्रसूति विभागमा कार्यरत चिकित्सकहरू प्रेरणा दाहाल, शोभा गुप्ता, रम्भा देव, सुष्मा केडिया, रेणुका राठी र राखी साह पनि निजी अस्पताल गए । उनीहरूको ठाउँमा अरू डाक्टर नराखिएपछि गत वैशाखदेखि अस्पतालमा प्रसूतिका दुई जना मात्र विशेषज्ञ डाक्टर छन् ।

अस्पतालमा सेवाको माग गर्दै मोरङ प्रशासनमा २९ साउनमा दिइएको धर्ना ।
आफूले काम गरेको १२ वर्षको अवधिमा यसरी अस्पताल कहिल्यै खाली नभएको अनुभव सुनाउँछिन्, प्रसूति विभागकी सिनियर नर्स शकुन्तला सिटौला । असार पहिलो साता स्वास्थ्य विभागले पठाएका चिकित्सकद्वय बालकृष्ण साह र मधुमिता राभा आफ्नो सरुवा हुने हल्ला सुनेर २२ साउनमा राजधानी लागेपछि सूचना निकालेर एक साता अस्पतालमा बिरामी भर्ना नगरिएको उनी बताउँछिन् । २९ साउनमा राजधानीबाट फर्किएका साहले अहिले शल्यक्रिया गर्दै अस्पताल सम्हालेका छन् ।

डाक्टर पठाउन माग गर्दा पनि विभागले नसुनेपछि ३० साउनमा विभाग पुगेरै माग गरेको अञ्चल अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. उमाकान्त झ बताउँछन् । विभागले दुई जना डाक्टर पठाए एक जना प्रोफेसर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट मागेर अस्पताल संचालन गर्ने उनको भनाइ छ । अस्पतालका विशेषज्ञ डाक्टरहरू मिश्रा र तपेश्वरलाल कर्णले सहयोगी पाए मात्र अस्पतालमा धेरै शल्यक्रिया हुने झा बताउँछन् ।

तर, अस्पतालमा ड्युटी रहेको दिन २७ साउनमा प्रसूति विभाग प्रमुख मिश्राले त्यहाँ शल्यक्रिया नगरेर नर्सिङ होममा एक जना बिरामीको शल्यक्रिया गरेको तथ्यले उनको भनाइ काट्छ । डाक्टर नर्सिङ होममा बढी भेटिने भएकाले सो दिन अस्पतालको प्रसूति वार्डका ९९ बेडमा १० बाहेक अरू खाली थिए भने ७५ बेड रहेको नर्सिङ होम भरिभराउ थियो ।

comments powered by Disqus

रमझम