विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ७ जेठमा नेपालबाट ट्रकोमा रोग उन्मूलन भएको घोषणा गरेसँगै नेपाल ट्रकोमा रोग उन्मूलन गर्ने दक्षिण एशियाकै पहिलो देश भएको छ। ट्रकोमा उन्मूलनमा सहभागी नेपाल नेत्र ज्योति संघका कार्यकारी निर्देशक शैलेस मिश्र भन्छन्, “हेलचेक्र्याईं गरे रोगको जोखिम पुनः बढ्न सक्छ।”
नेपालमा खस्रे पनि भनिने ट्रकोमा आँखाको ढकनीमा लाग्ने सरुवा रोग हो । क्ल्यामाइडिया ट्र्याकोमाटिस नामक जीवाणुका कारण लाग्ने यो रोगले शुरुमा आँखाको ढकनीमा संक्रमण गराउँछ । ढकनी दोब्रिएर परेलाले आँखामा घाउ बनाउँछ र समस्या बढ्दै जाँदा अन्धोपन आउँछ ।
नेपालमा ट्रकोमाको समस्या पहिचान कसरी भयो ?
सन् १९८१ मा नेपालमा गरिएको राष्ट्रिय अन्धोपन सर्वेक्षणले ट्रकोमा अन्धोपनको दोस्रो कारण भएको देखाएको थियो । सुदूरपश्चिमका थारु समुदायमा बढी देखिएको यो रोगका कारण त्यसबेला देशभरको ६.९ प्रतिशत जनसंख्या प्रभावित थियो भने अन्धोपनका कुल बिरामीमध्ये २.४ प्रतिशतको कारण ट्रकोमा थियो ।
कसरी भयो उन्मूलनको घोषणा ?
सने २००२ मा ट्रकोमा नियन्त्रणको कार्यक्रम शुरु भएको केही वर्षपछि संघले गरेको ‘इम्प्याक्ट सर्भे’ मा एक्टिभ ट्रकोमा पाँच प्रतिशतभन्दा कममा झरेको र ट्रकोमा ट्रिकिएसिस ०.१ प्रतिशतभन्दा कम देखियो । संघले ट्रकोमाको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालय मार्फत बुझाएको प्रतिवेदनका आधारमा डब्ल्यूएचओले गरेको मूल्यांकनपछि नेपालबाट ट्रकोमा रोग उन्मूलन भएको घोषणा गर्यो । निश्चित इकाइभित्र पाँच प्रतिशतभन्दा कम जनसंख्यामा ट्रकोमा हुनुलाई उन्मूलनको अवस्था मानिन्छ ।
ट्रकोमा उन्मूलनमा प्रमुख भूमिका कसको रह्यो ?
नेपाल नेत्र ज्योति संघ, स्वास्थ्य मन्त्रालय, डब्ल्यूएचओ लगायतका दातृ निकायको सामूहिक प्रयासमा ट्रकोमा रोग उन्मूलन गर्न सकिएको हो । नेपालमा सरसफाइमा भएको प्रगति, जनचेतनाको विकास, पानीको उपलब्धता र चर्पीको प्रयोग बढेका कारण पनि यो रोग उन्मूलनमा सहयोग पुगेको हो ।
अब फेरि रोग बढ्ने जोखिम छैन ?
हेलचेक्र्याईं गरे रोगको जोखिम पुनः बढ्न सक्छ । खासगरी खुला भारतीय सीमाबाट ट्रकोमा भित्रिने सम्भावना कायम छ । त्यसैले सीमा क्षेत्रमा अनुगमन बढाउने, रिपोर्टिङका लागि स्वास्थ्यकर्मीलाई दक्ष बनाउने काम हुनुपर्छ । सरसफाइमा ध्यान दिने, नियमित सफा पानीले अनुहार धुने र घरआँगन सफा राख्न पनि छोडनुहुँदैन ।