१६ भदौ २०७० | 1 September 2013

उसिरबाट उन्नति

Share:
  
- जीवनप्रसाद राई
इन्डोनेसियामा व्यावसायिक खेती भइरहेको उसिर प्रचूर सम्भावना बोकेर नेपाल भित्रिएको छ ।

जीवनप्रसाद राई
नेपाली कृषिको सम्भावना पहिल्याउने क्रममा गत ७ चैतमा ४१औं जिल्लाको रूपमा रूपन्देही पुगेर स्थानीय पहल र प्रगति बुझन भैरहवास्थित जिविस कार्यालयमा सम्पर्क गर्दा माछा गाउँको रूपमा चर्चित छपिया जाने सल्लाह पाइयो । नभन्दै, १० गते बिहान त्यहाँ पुग्दा चर्चा अनुसारकै यथार्थसँग साक्षात्कार भयो । माछापोखरी हेर्दै गाउँ चहार्दा अचम्मको घाँस पनि देखियो । यसबारे जिज्ञासा राख्दा यो नेपालको लागि सर्वथा नयाँ उसिर भएको थाहा भयो । बोटबाट ब्रिकेट (सुधारिएको दाउराको रूपमा प्रयोग हुने) र जराबाट सुगन्धित तेल बन्ने उसिरको अगुवा किसान सोमप्रकाश क्षेत्री रहेछन् ।

बुटवल र भैरहवाको बीचमा पर्ने मणिग्रामका क्षेत्री १० वर्ष जापान र ६ महीना अष्ट्रेलिया बसेर फर्केका व्यक्ति हुन् । देश फर्केपछि केही समय धार्मिक गतिविधिमा लागेका उनले अब कृषि क्रान्तिमा रमाएको बताए । उनले विभिन्न खालका खेतीसँगै इन्डोनेसियाबाट बिरुवा ल्याएर उसिर पनि लगाएका रहेछन् । यो एक प्रकारको झर हो, जुन नेपालको तराई, भित्री मधेश, पहाडका खोंच र बेंसीहरूमा प्रशस्त हुने क्षेत्रीले बताए । गाईवस्तुले मन नपराउने हुनाले यो वनस्पति हुर्काउन सजिलो पनि छ ।

उसिरको नालीबेली

उसिर विशेषज्ञ डा. बद्री गौतमका अनुसार अहिले इन्डोनेसिया, हैटी र भारतमा यसको व्यावसायिक खेती भइरहेको छ । ६ फीटसम्म अग्लो हुने उसिरबाट राम्रो खालको ब्रिकेट बनाउन सकिन्छ । यसको जराबाट खुसबु निकालिन्छ, जसको बजार मूल्य प्रतिलिटर रु.४० हजार रहेको डा. गौतम बताउँछन् । यसको वासनादार जरालाई स्वस्थकर चियाको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

गर्मी मौसममा बढी फस्टाउने उसिर खेतीको लागि धान, मकै, गहुँ, कोदो जस्ता अन्न नहुने रुखा–पाखा ठाउँहरू उपयुक्त हुने कृषि विशेषज्ञ रामानन्दप्रसाद गुप्ताले बताए । तर, यसका लागि हत्तपत्त नयाँ कुरा स्वीकार नगर्ने नेपाली स्वभाव बाधा हुनसक्ने गुप्ताले बताए । उनका अनुसार, वर्षैभरि खानुपर्ने अन्न बालीमा उत्प्रेरित गर्न सकिए वस्तुभाउले समेत नखाने उसिरमा नेपाली किसानलाई आकर्षित गर्न कठिनै हुनेछ । तर, उसिरलाई वस्तुभाउले नखाने, रोग–कीरा नलाग्ने, गोडमेल पनि गर्नु नपर्ने हुनाले सरकारले उचित कार्यक्रम बनाएर कार्यान्वयन गरे यसको मनग्ये सम्भावना छ । एक पटक रोपिसकेपछि प्रत्येक वर्ष त्यहीबाट सजिलै बिरुवा पनि निकाल्न सकिने हुनाले उसिर खेतीको विस्तार सजिलो छ ।

उसिरको ब्रिकेट जति उत्पादन गरे पनि नेपाली बजार काफी छ, तर तेल बेच्न अन्तर्राष्ट्रिय बजार नै हेर्नुपर्ने हुन्छ । यसको लागि ठूलो पैमानाको उत्पादन आवश्यक हुन्छ । तेल उत्पादन र प्रशोधनका लागि कारखाना चाहिने नै भयो । त्यसकारण, पौरखी किसानहरूलाई उसिरमा आकर्षित गर्न सरकारले राष्ट्रिय नीति तर्जुमा गर्नुपर्छ । यसको परीक्षण खेती गरिरहेका कृषक क्षेत्रीले सरकारले नयाँ–नयाँ व्यावसायिक कृषिको अवधारणामा काम ग¥यो भने उसिर नेपालको लागि वरदान सावित हुने बताए ।

comments powered by Disqus

रमझम