१३-१९ जेठ २०७५ | 27 May - 2 Jun 2018

कार्निसको सजावट

Share:
  

बिक्रम राई
अचेल घरका सिलिङ तथा भित्ताहरूमा सजावटका लागि कार्निसको प्रयोग बढ्दो छ । भित्ताको माथिल्लो भाग र सिलिङमा बनाइने विभिन्न प्रकारका बुट्टालाई कार्निस भनिन्छ । पहिले यस्तो बुट्टा सिमेन्ट प्लास्टर, लिउन वा इँटामा कुँदेर बनाइन्थ्यो । घर बाहिरको भित्ता र पिलरमा पनि इँटालाई छड्के राखेर कार्निस बनाउने पुरानो चलन हो । मठ–मन्दिरका बाहिर टुँडाल मुनि नाग आकारमा बनाइएका काठका कार्निस अझै पनि देखिन्छन् । बजारमा तयारी अवस्थामा प्लास्टर अफ पेरिसबाट निर्मित कार्निस पाइन थालेपछि मूल्य सस्तो र प्रयोगमा सजिलो भएको छ ।

प्लास्टर अफ पेरिसका हलुका तयारी कार्निस बजारबाट किनेर ल्याएपछि सिलिङ र भित्तामा टाँस्न सजिलो भएको छ । यस्तो कार्निस पानीबाट जोगाउनुपर्ने हुँदा बाहिरी भित्ताका लागि भने उपयुक्त हुँदैन । सजिलो भए पनि कार्निसको जथाभावी प्रयोगले कोठालाई झन् भद्दा बनाउन सक्छ । कोठाको आकार, घरको समग्र डिजाइन, प्रयोजनका आधारमा कार्निस राख्ने वा नराख्ने, कस्तो र कति राख्ने भन्ने निर्णय गर्नुपर्छ ।

घर डिजाइनको निश्चित सिद्धान्त हुन्छ । त्यो सिद्धान्त बाहिर गएर कार्निसले भित्ता भर्न थालियो भने अस्वाभाविक र भद्दा देखिने आर्किटेक्ट मिलन बगाले बताउँछन् । कार्निस कहाँ र कस्तो राख्ने भन्ने निक्र्योल घरको समग्र डिजाइनमा भर पर्ने उनको भनाइ छ । तर अचेल अधिकांश घरका सिलिङ र भित्तामा इन्टेरियर डिजाइनर वा आर्किटेक्टको सल्लाह विना नै रेडिमेड कार्निस टाँस्ने प्रचलन बढेको छ ।

धेरै मसिनो बुट्टा भएका कार्निस सिलिङ र भित्ताको माथिल्लो तहमा टाँस्दा धूलो र फोहोर जम्ने सम्भावना पनि उत्तिकै हुन्छ । त्यसैले कार्निस राख्दा नियमित सफाइ गर्न सकिन्छ कि सकिंदैन भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । “घर सजाउन राखिएको कार्निसले उल्टै फोहोर र भद्दा देखाउने खतरा रहन्छ”, आर्किटेक्ट बगाले भन्छन् । हुन पनि कार्निसमा जमेको धूलो पंखा चलाउँदा वा सामान्य हावा लाग्दा झरेर पाहुनाका अगाडि असहज अवस्था आउन सक्छ ।

हामीले भूकम्पको विपत्ति बेहोरेको धेरै समय भएको छैन । कार्निस सिलिङ र भित्तामा राम्रोसँग नटाँसिंदा भूकम्पका बेला वा अन्य कम्पनबाट सजिलै झरेर चोटपटक लाग्ने खतरा पनि हुन्छ । सिमेन्ट प्लास्टरले बलियो गरी कार्निस टाँसिएन भने दुर्घटनाको सम्भावना रहन्छ ।

सेतो रंगमा उपलब्ध कार्निसलाई विभिन्न रंगमा सजाउन पनि सकिन्छ । तर घरको अन्य डिजाइन र कोठाको रंगसँग नमिल्ने कार्निसमा रंग भर्दा झन् भद्दा देखिन्छ । अचेल नेपालमा मलेसियन कार्निसको माग निकै बढेको काठमाडौंको धुम्बाराहीस्थित सुवेदी डेकोरेशन एण्ड सप्लायर्सकी प्रोप्राइटर सरिता सुवेदी बताउँछिन् । भारतबाट पनि कार्निस आयात हुन्छ भने स्थानीयस्तरमै पनि उत्पादन भइरहेको छ । कार्निस जडान गर्ने मिस्त्री गुञ्जेश्वर यादवका अनुसार कार्निस छनोट गर्दा गुणस्तरीय भएन भने धेरै नटिक्ने र फिनिसिङ पनि नराम्रो हुन्छ ।

comments powered by Disqus

रमझम