सेवा भट्टराई
चिनियाँ स्रोतहरूका अनुसार, सम्राट कुब्लाइ खाँले सन् १२६० मा आफ्ना गुरु फाग्स्पालाई तिब्बतमा एउटा सुनौलो स्तूप बनाउन भनेका थिए । त्यसका लागि शाक्य सम्प्रदायका ती तिब्बती बौद्ध गुरुले नेपालका राजा जयभीमदेव मल्ललाई १०० कालिगड पठाइदिन अनुरोध गरे, तर ८० जना मात्र तिब्बत जान तयार भए । बाल्यकालमै विलक्षण प्रतिभाका धनी भनेर नाम कमाएका अरनिकोले त्यो टोलीको नेतृत्व गरे ।
प्रख्यात चित्रकार तथा कला इतिहासविद् मनुजबाबु मिश्र तिब्बतमा नेपालबाट कालिगड मगाइनुले त्यो समयमा नेपाली कला र विशेषतः वास्तुकलाको उत्कृष्टताबारे बुझिने बताउँछन् । उनका अनुसार, आज पनि हामीले हेरिरहेको चाँगुनारायण मन्दिर छैटौं शताब्दीमा बनेको हो, जुन अरनिकोको भन्दा निकै अगाडिको समय हो । मिश्र भन्छन्, “भारत लगायत एशियाका अन्य स्थानमा बौद्ध सम्प्रदायको पतन हुँदै गएका बेला तिब्बतले बौद्ध दर्शनको स्रोत नेपाललाई मानेको थियो ।”
नयाँ शैलीका प्रवद्र्धक
अरनिकोले दुई वर्ष लगाएर बनाएको स्तूप हेरेर औधी प्रभावित भएका फाग्स्पाले उनलाई बौद्ध दर्शनमा पारंगत भिक्षु बनाएर सम्राट कुब्लाइ खाँलाई भेट्न चीन पठाए (हे. बक्स) । भत्केको एउटा मूर्ति मर्मत गरेर अरनिकोले कुब्लाइ खाँलाई पनि प्रभावित गरे । त्यसपछि सम्राटले उनलाई श्वेत चैत्य बनाउन लगाए, जुन अहिले पनि छ, बेइजिङमा ।
चीन हुँदै कोरिया र क्योटोसम्म फैलिएको काठमाडौंको पगोडा शैली अरनिकोले चीन पुर्याएको मानिन्छ । त्यो कुरा प्रमाणित गर्ने पर्याप्त आधार नभेटिए पनि उनले चीन लगेका अन्य धेरै नेपाली कलाशैली छन् । संस्कृतिविद् जोशीका अनुसार, श्वेत चैत्य जाने बाटोको काठको द्वार, ढुंगाको सिंढी, चैत्यभित्रका तिकिझ्या, दिपंकर, शाक्यमुनि, मैत्रेय बुद्ध मूर्तिहरू, महाकाल, श्वेत तारा, हरित तारा, अवलोकितेश्वर, पौभा चित्रहरू र मुख्यतः श्वेत चैत्यको गजुर त्यस्ता उदाहरण हुन् ।
‘ग्रेटवाल’ छेउमा रहेको ‘क्लाउड टेरेस’को भग्नावशेषमा पनि नेपाली शैलीका कलाकृति अझै रहेको जोशी बताउँछन् । उनका अनुसार, त्यहाँ ढुंगाको ठूलो द्वारमा गरुड, नागकन्या, मकर, हात्ती र पञ्चबुद्धका आकृति कुँदिएका छन् । नानकिङको श्वेत चैत्य र थुप्रै अरू स्थानमा रञ्जना लिपि प्रयोग हुनु पनि अरनिकोकै प्रभाव मान्छन्, जोशी ।
चीनमा तीन चैत्य, नौ बौद्ध मन्दिर, दुई कन्फ्युशियन पवित्रस्थल र एक दाओ मन्दिर बनाउने क्रममा अरनिकोलाई ‘सबै किसिमका कलाकारका प्रमुख’ बनाइयो । अमेरिकाको मिशिगन स्टेट युनिभर्सिटीका प्रोफेसर जिङ आनिङले ‘अरनिकोले दक्षिण एशियाली संस्कृतिमा प्रचलित आकृतिहरू प्रयोग गरेर चिनियाँ सम्राटका लागि धर्मचक्र, गरुड लगायत सत्ताका नयाँ प्रतीकहरू बनाएको’ उल्लेख गरेका छन् ।
अरनिकोले घडी, ग्लोब (पृथ्वी) जस्ता वैज्ञानिक उपकरण पनि बनाएको इतिहासमा उल्लेख पाइन्छ । आज ती वस्तु पाउन मुश्किल छ, तर अमेरिकाको क्लेभल्याण्ड म्युजियमले आफ्नो संकलनमा रहेको हरित ताराको चित्र अरनिकोले बनाएको आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । त्यस्तै, ताइवानको न्याशनल प्यालेस म्युजियममा रहेका कुब्लाइ खाँ र उनकी साम्राज्ञी चाबीका तस्वीर अरनिकोले बनाएको मानिन्छ । अरनिकोको जीवनीमा पनि उनले कुब्लाइ खाँ र चाबीको तस्वीर बनाएको उल्लेख छ । थुप्रै कला इतिहासविद् राजधानी ताइपेइमा रहेका ती तस्वीर जीवनीमा उल्लेख भएकै तस्वीर हुन् भन्ने मान्दछन् । बेइजिङको प्यालेस म्युजियममा रहेको सन् १३०५ मा बनेको मञ्जुश्रीको मूर्ति र ल्हासाको पोताला दरबारको गुह्य समाजको मूर्ति पनि अरनिकोले नै बनाएको प्रोफेसर आनिङको अनुमान छ ।
अरनिकोले कम्तीमा दुई जना आफ्ना छोरा र हजारौं चिनियाँ कलाकारलाई तालिम दिएर चीनमा नेपाली कलाशैली स्थापित गरेका थिए । प्रोफेसर आनिङले लेखेका छन्– ‘नेपाली, चिनियाँ र पाली कला परम्पराबाट प्रभावित अरनिकोले दरबारिया कलामा नितान्त नयाँ शैली विकास गरेर आफू मातहतका विशाल कलाकार समूहका माध्यमबाट त्यसको प्रवद्र्धन गरे ।’
नेपालमा अरनिकोको महत्व
अरनिको मार्को पोलोका समकालीन थिए । इटलीका यात्री मार्को पोलोले सन् १२७१ देखि १२९५ सम्म एशियाको भ्रमण गरेका थिए । उनीहरूको भेट भए, नभएकोबारे कुनै अभिलेख पाइँदैन । इटली फर्केर आफ्नो यात्रा वृत्तान्त लेख्ने मार्को पोलोले विश्वव्यापी ख्याति कमाए भने विशाल चीनमा सम्मानित अरनिको सन् १३०६ मा मृत्यु भएपछि संसारको इतिहासबाटै विलीन भए ।
सम्पूर्ण जीवन सम्मानित रुपमा देशबाहिर व्यतीत गरेका अरनिकोलाई नेपालले किन सम्झिने ? संस्कृतिविद् जोशी नेपाल–चीन मित्रताको प्रतीक हुनु नै आजको समयमा अरनिको महत्व मान्दछन् । उनका अनुसार, अरनिकोले बनाएको श्वेत चैत्यलाई मित्रताको प्रतीक मानिएकैले चिनियाँ सांस्कृतिक क्रान्तिमा पनि त्यसमा क्षति पुर्याइएन । यो चैत्यलाई अहिले पनि चीन सरकारले प्राथमिकताका साथ मर्मतसम्भार गर्छ ।
जोशीको बुझाइमा, अरनिकोले ९०० वर्षअघि नै पञ्चशील नीति अवलम्बन गरेका थिए । उनले चीनसँग मित्रताको बलियो जग बसाएको ऐतिहासिक प्रमाणहरु पनि छन् । “नेपालले आज पनि पञ्चशील नीति अपनाएको छ” जोशी भन्छन्, “र, अरनिकोलाई राष्ट्रिय विभूति मानेर सही काम भएको छ ।”
अरनिको–कुब्लाइ खाँ भेट
उनी पुगेपछि सम्राटले निकै बेर हेरे, र सोधे, “तिमी ठूलो देशमा आउँदा डराएका छौ ?”
अरनिकोले जवाफ दिए “महात्मा (कुब्लाइ खाँ) ले सबै दिशाका मानिसलाई आफ्ना सन्तान मान्नुहुन्छ । छोरा आफ्नो बावुको घरमा आउँदा किन डराउने ?”
“किन आयौ ?”
उनले जवाफ दिए, “मेरो परिवार पुस्तौंदेखि पश्चिम (नेपाल) मा बसिरहेको छ । तिब्बतमा स्तूप बनाउने आदेशलाई मैले दुई वर्षमा पूरा गरें । त्यहाँ मैले थुप्रै युद्ध देखें, हजुरले शान्ति स्थापना गर्नुहुन्छ भन्ने आशा छ । म चेतनशील प्राणीहरूका लागि आएको हुँ ।”
“के गर्छौ ?”
उनले भने, “मैले मेरो मस्तिष्कलाई गुरु मानेको छु । मलाई चित्र बनाउन, मूर्ति बनाउन र कालिगडको काम गर्न आउँछ ।”
सम्राट अत्यन्त खुशी भए ।
(चिनियाँ कवि चेङ जुफुले सन् १३१६ मा लेखेको अरनिकोको जीवनीबाट उद्धृत)