२०-२६ जेठ २०७५ | 3-9 June 2018

जीवनशैली बदलौं

Share:
  
- डा. अरुणा उप्रेती
अमेरिकाका बिरामीको समस्या र समाधानका लागि बिरामीको जीवनशैली र खानामा परिवर्तन गराएको डा. ओर्निशको सफल अनुभवले अरू देशमा बस्नेलाई पनि फाइदा पुग्छ।

हिमाल ४–१० चैतको अंकमा ‘नसर्ने रोगको भयावह भार’ पढेपछि त्यसमा केही थप्न मन लाग्यो ।

केही साताअघि अमेरिका गएका बेला डाक्टर नभएमा र महिलाको लागि डाक्टर नभएमा पुस्तककी सह–लेखिका जेन म्याक्सवेलसँग नेपालमा नसर्ने रोगको जगजगी बारे सुनाएँ । जवाफमा उनले भनिन्, “अमेरिकीहरूको त भोजन र जीवनशैलीले गर्दा मोटोपन, उच्च रक्तचाप, मधुमेह आदि हुन्छ । नेपालमा तिमीहरूको भोजन स्वस्थकर छ, यहाँको जस्तो पत्रु खाना हुँदैन, त्यसमाथि धेरै हिंड्नुपर्ने तिमीहरूलाई यस्तो समस्या हुनु नपर्ने ।”

मैले भनें, “हो हाम्रो स्थानीय भोजन त राम्रो छ, तर आजभोलि धेरैले त्यो बिर्सेर पत्रु खाना रुचाउन थालेका छन् । बालबालिकालाई पनि त्यही खान दिन्छन्, त्यसैले युवा अवस्थामा नै नसर्ने रोग लागेको छ ।”

फर्किंदा जेनले मलाई डा. डिन ओर्निशले लेखेको रिभर्सिङ हर्ट डिजिज् पुस्तक उपहार दिइन् । जीवनशैली परिवर्तन गरेर मुटुका समस्याबाट कसरी बच्न सकिन्छ, भइसकेका समस्याको प्राकृतिक रूपमा कसरी निराकरण गर्ने, उच्च रक्तचाप कसरी सन्तुलनमा ल्याउने भन्ने सुझवसहितको यो रोचक पुस्तक यात्रा अवधिमा पढ्दै गर्दा डा. प्रकाशराज रेग्मीले लेखेको ह्याण्डबुक– लाइफस्टाइल एण्ड नन–कम्युनिकेबल डिजिजेज् सम्झ्एिँ ।

दुवै पुस्तकमा भोजन र जीवनशैली परिवर्तन गरेर आफ्नो मुटु स्वस्थ राख्ने, समस्या भइसकेका बिरामीले पनि योगासन, व्यायामबाट औषधिको प्रयोग घटाउन सकिने बारे दर्शाइएको छ ।

डा. प्रकाशले अर्थशास्त्री डा. राजेन्द्रबहादुर श्रेष्ठसँग मिलेर अंगे्रजी भाषामा लेखेको पुस्तकमा कस्तो जीवनशैलीले मुटुको रोग, मधुमेह, क्यान्सरका लागि जोखिम बढाउँछ भन्ने सजिलो गरी बुझइएको छ । अस्वस्थकर खाना, व्यायाम नगर्ने, बढी काम, रक्सी–चुरोटको बानी इत्यादिले स्वास्थ्यमा पार्ने नकारात्मक प्रभावबारे सरल भाषामा व्याख्या गरिएको छ । कस्तो खानाले मोटोपन बढाउँछ भनेर तालिका प्रस्तुत गरिएको छ । त्यस्तै वंशाणुगत कारण, जीवनशैली र खराब भोजनले पनि क्यान्सर गराउन सक्नेबारे पुस्तकमा उल्लेख छ । महिलाहरूको स्तन क्यान्सरको बढ्दो समस्या कम गर्न आफैंले स्तन जाँच गर्ने तरिका पनि पुस्तकमा सिकाइएको छ ।

यो किताबमा संभावित रोगबाट बच्ने, रोग लागिसकेपछि उपचार र तनाव कम गर्ने उपाय पनि उल्लेख छ । व्यायाम र घरको काम गर्दा कसरी स्वस्थ रहन सकिन्छ भनेर जानकारी पाएपछि कति मानिसले व्यावहारिक रूपमा प्रयोग गर्न सक्छन् । किताबको अन्त्यमा हामीले खाने खानामा हुने प्रोटिन, बोसो र रेसादार पदार्थका बारेमा जानकारी दिइएको छ । तर, अर्थशास्त्रीसँगको संयुक्त लेखन भए पनि पुस्तकमा स्वास्थ्य अर्थशास्त्रका बारे केही छैन ।

डिन ओर्निशको रिभर्सिङ हर्ट डिजिज् मा डा. प्रकाशले सैद्धान्तिक रूपमा व्याख्या गरेका विषयलाई वास्तविक घटनाका उदाहरण दिएर प्रस्तुत गरिएको छ । पुस्तकमा मुटुको शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीलाई पनि स्वस्थकर खाना र परिवर्तित जीवनशैलीबाट ठीक पारिएका उदाहरण छन् । बिरामीहरूको अनुभव सहितको यो पुस्तक पढ्दा रमाइलो लाग्छ ।

अमेरिकाका बिरामीको समस्या र समाधानका लागि बिरामीको जीवनशैली र खानामा परिवर्तन गराएको डा. ओर्निशको सफल अनुभवले अरू देशमा बस्नेलाई पनि फाइदा पुग्छ । मानसिक तनाव, कामको अति बोझ् र जथाभावी खानाले अमेरिकामा नसर्ने रोगको समस्या निम्तिएको बारे पढ्दा नेपालमा पनि मानसिक बोझ्, खराब जीवनशैलीले मध्यम र उच्च वर्गका मानिसहरूको जीवनमा त्यस्तै समस्या आएको सम्झ्ना आउँछ ।

यी दुवै पुस्तक पढ्दा मलाई नेपालका गाउँमा पनि मधुमेह, उच्च रक्तचापको समस्या बढ्दैछ भनेर देखाइएको तथ्यांक याद आयो । गाउँमा एकातिर कुपोषण छ भने अर्कोतिर पत्रु खाना र चिनीको अति बढी प्रयोगले मोटोपनको समस्या बढ्दै गरेको छ ।

घरको दाल, गहुँ, कोदो बेचेर चाउचाउ, बिस्कुट किनेको त बारम्बार देखिएको हो । अब दूध, दही बेचेर अस्वस्थकर चिसो पेय पदार्थ र इनर्जी ड्रिंक किनेर पिउने चलन बढेको छ । त्यसले गर्दा गाउँघरमा पनि नसर्ने रोग देखिएका छन् ।

रमाइलो तरिकाले बिरामीहरूको कथा भन्ने चिकित्सक बिरामीहरूसँगै रमाएका कुरा पढ्दा डाक्टरले केवल औषधि लेख्ने र परामर्श दिने काम गरेर मात्र नपुग्ने रहेछ भन्ने लाग्छ ।

comments powered by Disqus

रमझम