२०-२६ जेठ २०७५ | 3-9 June 2018

कठघरामा नेता

Share:
  
- रामचन्द्र बराल
समृद्घि टाढिनुको कारण नखोजी समृद्घिको सपना देखाउने नेताहरू प्रश्नको घेराबन्दीमा छन्।

नेपालको समृद्धिका लागि विभिन्न प्रयोग भइरहेका छन्, तर सुशासनको अभाव, नीति–रणनीतिगत असफलता तथा मूलतः राजनीतिक नेतृत्व संकटका कारण फलदायी हुन नसकिरहेको देखिन्छ । नेतृत्वको संकट राज्यको कार्यकारिणीमा मात्र नभएर दल, शिक्षालय तथा सामाजिक संरचनाका संस्थागत इकाइहरूमा पनि छ । यस्तो परिस्थितिमा स्थानीय जवाफदेही लोकतन्त्रको माध्यमबाट नागरिक समृद्धिको सपना बाँडेर निर्माण गरिएको संघीय तथा स्थानीय तहका नेतृत्वप्रति आम नागरिकले सन्देह गरिरहेका छन् ।

सन्देहवादी धारणा अनुसार नागरिकहरूले पहिला रचनात्मक सन्देह गर्ने, भरोसालायक हो होइन भनेर सत्यापन गर्ने र अन्त्यमा पत्यारिलो लागे आत्मसात (सहभागिता) गर्छन् । जनप्रतिनिधिको स्थानीय सरकार गठन भएको एक वर्षमा हरेक नेता नागरिक सन्देहमा छन् । उनीहरूको हरेक कदम नागरिक नजरमा छ– के नेताहरू इमानदार बन्ने प्रयत्नमा छन् ? कुन क्षेत्रमा कति बजेट खर्चेर कुन उपलब्धि हासिल गर्दैछन् ? के उनीहरूले दिने भनेर बाचा गरेका उपलब्धिहरू शुद्ध र मापनयोग्य छन् ? लेखा परीक्षण प्रणाली अपनाएका छन् कि छैनन् ? के यिनका शैलीले हाम्रै पालामा समृद्धिको ढोका उघ्रेला ?

हरेक आन्दोलनहरूमा नेताहरूले नागरिकसँग समर्थन–सहभागिता मागे, बदलामा लोकतन्त्र र समृद्धि दिने बाचा गरे । हरेक निर्वाचनमा बहुमत मागे अनि बदलामा लोकतन्त्रको रक्षा गर्ने र समृद्धि दिने प्रतिबद्धता जाहेर गरे । नेताहरूले मागेका सबै पाए, तर तिनले दिने भनेर बाचा गरेका समृद्धिका लागि के प्रयत्न गर्दैछन् ? आन्दोलन हाँक्न र चुनाव जित्न पारंगत भए, तर नेता वा नेतृत्वमा योग्य हुन सिके कि सिकेनन् ? यी प्रश्न जीवितै छन् ।

स्वार्थको दलीयकरण

इतिहासमा नेपाल कहिल्यै उपनिवेश भएन, सँगै कहिल्यै स्वतन्त्र पनि रहेन । देशको अर्थतन्त्र ऋण, अनुदान र विप्रेषणले चलेको छ । लाहुर जाने जमानाबाट शुरू भएको परनिर्भरतालाई राज्यले नै युवा जनशक्तिलाई विदेश जान प्रेरित गरेर निरन्तरता दिंदैछ । मुलुकको यो दुर्दशा कुनै राजनीतिक व्यवस्थाका कारण भएको होइन । हरेक व्यवस्थामा सुशासनको अभाव र नेतृत्वको कमजोरीका कारण मुलुक समृद्धितर्फ लम्कन सकेन ।

नागरिकहरू कुनै व्यवस्थाका पक्षपाती हुँदैनन् । उनीहरू हरेक पटक सुशासन र असल नेतृत्वको विकल्प चाहन्छन् । यही प्रक्रियाबाट असल नेता जन्मन्छ भन्ने जनताको विश्वास छ । हरेक आन्दोलनमा देखिएको नागरिक सहभागिता सुशासन र असल नेतृत्वको खोजीकै लागि थियो । हरेक आन्दोलनको सफलतापछिको दलतन्त्र, दलीय भागबण्डा र दलीयकरणले जनतालाई निराश बनाउँदै लगेको छ । हरेक दलले नागरिकलाई स्वार्थको बजारीकरणमा सम्मोहित गर्दै कार्यकर्ता बनाउने, नागरिक रहन नदिने प्रयत्न गरे । अनि सरकारका निर्णयहरूमा दिने प्रतिक्रिया पनि स्वार्थपूर्तिको अनुकूलतामा आधारित हुन थाले ।

शिकारी युगमा डरलाग्दो शिकारलाई काबुमा लिन मानिसहरूले बनाएको सामूहिक शिकारी जत्थाकै विकसित रूप हो, स्वार्थ समूह । जब अवसरहरू डरलाग्दा रहेनन्, सरल–सहज पहुचका भए, तब स्वार्थ समूह नभई एकल वा परिवारगत हैसियतमै जीविका व्यवस्थापनका काइदाहरू विकास हुँदै गए । राजनीतिक दलहरू सामूहिक सौदावाजीका लागि बनेका स्वार्थ समूह हुन् । आस्था–आदर्शका आधारमा निर्माण र परिचालन भएको भनिए पनि हाम्रा सन्दर्भमा दलहरूको पहिचान स्वार्थ समूह भन्दा फरक हुन सकेन ।

असल नेता वा राजनीतिक दल जन्माउन असल जनताको समूहबाट कोशिश हुनुपर्छ । जनता असल नभएसम्म असल नेता जन्मन मुश्किल पर्छ । भ्रष्ट, पक्षपाती, दायित्व विमुख जनसमूहबाट स्वतन्त्रता र लोकतन्त्रको संरक्षण गर्दै समृद्धि दिने नेता पाउने अपेक्षा व्यर्थ हुन्छ । पछिल्ला दिनमा नेपालमा अभ्यास गरिएको दलतन्त्रले स्वतन्त्र नागरिक चिन्तन नभई स्वार्थ समूहको चेतसहित सोच्न प्रेरित गरेकाले शिकारी युगको जस्तो स्वार्थ समूह निर्माण हुँदै गएको छ । आस्थाका आधारमा समान उद्देश्यका लागि संगठित भएको दाबी गर्ने दलहरूमा नेता–कार्यकर्ताहरू पनि दल–बदल गरिरहेका देखिन्छन् । यो प्रवृत्तिले असल नागरिक समूह निर्माण होइन, स्वार्थ समूहको सौदाबाजी क्षमता बढाउने प्रयत्न गरिरहेको छ ।

हरेक राम्रोको जन्म नराम्रो र कठिन परिस्थितिमा हुन्छ । अब अरूलाई दोष थोपरेर सुख पाइँदैन, शून्यबाट आफैंले शुरू गर्नुपर्छ । नेतृत्वमा रहनेको चासो कार्यकर्ता मात्र जन्माउन नभई कसरी असल नागरिक समूह बनाउने भन्नेतिर जान सक्यो भने हाम्रै पालामा असल कामहरूको जग बस्न सक्छ । दल र नेताहरूका अगाडि यो मौका छ, जुन फेरि नमिल्न सक्छ ।

(समाजशास्त्रमा विद्यावारिधि बराल पृथ्वीनारायण क्याम्पस, पोखराका उप–प्राध्यापक हुन् ।)

comments powered by Disqus

रमझम