१६ भदौ २०७० | 1 September 2013

‘स्टे कनेक्टेड’

Share:
  
- गणेश आचार्य

कुनै वेबसाइट खोल्न ‘इन्टर’ दबाइसकेपछि कति समयसम्म कुर्न सक्नुहुन्छ ? सबैको चाहना हुन्छ– इन्टर दबाएको २–४ सेकेण्डमै बेवपेज खुल्न थालोस्, फाइल डाउनलोड गर्न धेरै कुर्नु नपरोस् । किनभने, कथामा ढिलो हिंड्ने कछुवाको जित भए पनि इन्टरनेट चलाउने कुरामा जित्नलाई बाटोमा ननिदाउने खालको खरायो नै बन्नुपर्छ । छिटो कुद्ने इन्टरनेटको लागि दुइटा कुरा जिम्मेवार हुन्छन्– कनेक्सनको प्याकेज र चलाउने तरिका ।

कस्तो इन्टरनेट छान्ने ?

नेपालमा दर्जनभन्दा बढी इन्टरनेट सेवा प्रदायक छन् । तीमध्ये कसैले घरमा तार लगेर इन्टरनेट जोडिदिन्छन्, कसैले रिसिभर राखेर त कुनैले युजरनेम र पासवर्ड मात्र दिएर । युएसबी डिभाइसबाट पनि इन्टरनेट कनेक्सन बिक्री वितरण हुन्छ । ती प्रदायकहरूले चार–पाँच सयदेखि हजारौं रुपैयाँका प्याकेज बिक्री गर्छन्, तर सबै प्याकेज प्रयोगकर्ताले चाहे जस्तो हुँदैन । किनकि, सेवा प्रदायकहरूले उल्लेख गरे जस्तो ब्याण्डविथ अर्थात् केबीपीएस (इन्टरनेट कनेक्सन स्पीडको मापक) ले मात्रै इन्टरनेट छिटो हुँदैन ।

कतिपय सेवा प्रदायकले ५१२ केबीपीएस स्पीडको भन्दै दिने प्याकेज चलाउँदा १२८ केबीपीएस पनि नआउने कम्प्युटरविज्ञ करुण थापा बताउँछन् । यसको अर्थ हो, इन्टरनेट कनेक्सनको प्याकेज छान्दा सावधानी अपनाइएन भने पैसा र समय दुवैको नाश हुन्छ । प्याकेज लिंदा त्यो कति जनामा बाँडिएर (शेयरिङ रेसियो) हामीसम्म आइपुग्छ, सोध्नुपर्छ । अहिले व्यक्तिगत प्रयोजनका धेरैजसो इन्टरनेट प्याकेजहरूको शेयरिङ रेसियो १:१० छ अर्थात् १० जनामा बाँडिएर हामीसम्म आइपुग्छन् । कुनै–कुनै सेवा प्रदायकको शेयरिङ रेसियो १:४ पनि छ । थोरै शेयर हुने प्याकेज छिटो खुल्छ ।

कम्प्युटर विज्ञ थापाको भनाइमा, अहिले घरीघरी बिग्रने, चाहिएको वेला कनेक्सन नभइदिने इन्टरनेटको समस्या छ । त्यसकारण, बिग्रेको वेला तुरुन्तै समस्या समाधान गरिदिने लिखित प्रतिबद्धता जनाउने सेवा प्रदायकको प्याकेज छान्नुपर्छ । आफूले छानेको प्याकेज अर्को प्रदायकले कति र कुन तरिकाले बेचिरहेको छ भन्ने पनि हेर्नुपर्छ । प्याकेज छान्नुअघि त्यसको ब्याण्डविथका साथ त्यो कति ठाउँमा बाँडिन्छ र अरू प्रदायकको तुलनामा त्यसको महसुल कति प्रतिस्पर्धी छ भन्ने हेरेर इन्टरनेट प्रदायक छान्नुपर्छ ।

विधि र ब्याकअप

इन्टरनेट चलाउने तरिकाले पनि इन्टरनेटको गति निर्धारण गर्छ । जस्तो, ठूला–ठूला फाइल वा टोरेन्ट साइटबाट फिल्महरू डाउनलोड गरिरहेको वेला इन्टरनेटमा अरू काम सक्न घण्टौं लाग्न सक्छ । कम्प्युटरमा राखिएका विभिन्न सफ्टवेयरका नयाँ भर्सन अटोमेटिक अपडेट हुने सुविधा अन गरिएको छ भने, केही स्पीड त्यता बाँडिन्छ । वाईफाई मार्फत इन्टरनेट चलाउने हो भने कति जनाले सँगै इन्टरनेट चलाउँछन् भन्ने कुराले स्पीड निर्धारण गर्छ । सफ्टवेयरहरूको अटोमेटिक अपडेट सुविधा बन्द गर्ने, धेरै ठूला फाइल डाउनलोड नगर्ने र वाईफाई पासवर्ड धेरैलाई नबाँड्ने हो भने आफूले लिएको प्याकेजको अधिकतम गति अनुभव गर्न सकिन्छ । अर्को कुरा, धेरैजसो काम इन्टरनेटमै गर्नेहरूले कनेक्सनको ब्याकअप अर्थात् जगेडा पनि राख्नुपर्छ । निरन्तर चलाइरहने कनेक्सन अकस्मात् बिग्रियो र केही समयपछि मात्र बन्ने भयो भने ब्याकअप कनेक्सन काम लाग्छ । ब्याकअपको लागि धेरै पैसा चाहिंदैन पनि । स्टे कनेक्टेड !

comments powered by Disqus

रमझम