२०-२६ जेठ २०७५ | 3-9 June 2018

आनन्दित बाथरुम

Share:
  

गोपेन राई
बाथरुममा लडेर मृत्यु भएका खबर धेरै सुनिन्छन् । बाथरुममा हुने दुर्घटनाको मुख्य कारण सतह चिप्लो हुनु हो । त्यसैले बाथरुम सुक्खा र सफा हुनु जरुरी छ ।

त्यसो त अब बाथरुम पहिलेजस्तो नुहाउने ठाउँ मात्रै रहेन । बाथरुमको उपयोगमा आएको व्यापकतासँगै निजी समय व्यतीत गर्ने स्थान पनि बनेको छ । त्यसैले कुनैबेला चर्पी भनिने शौचालयलाई रेस्टरुम समेत भन्न थालिएको छ । यद्यपि कार्यालय, रेस्टुराँ, अस्पताल लगायतका बाथरुम कमै मात्र सफा भेटिन्छन् । सार्वजनिक शौचालय त परैको कुरा, कतिपय निजी घरमा पनि बाथरुमलाई सुविधाजनक र सफा राख्ने चेतना विकास भइसकेको छैन ।

बाथरुम सफा हुनुको पहिलो शर्त हो, सुक्खा हुनु । इन्टेरियर डिजाइनर प्रज्वल हाडाका अनुसार बाथरुम निर्माण योजनामा नै चिसो र सुक्खा स्थान छुट्याइएको हुनुपर्छ । त्यसो गर्दा नुहाएको पानी कमोड र बेसिनतर्फ आउन पाउँदैन । “कमोड र बेसिन बीचमा सावर राख्नाले बाथरुम फोहोर र चिप्लो हुन्छ”, हाडा भन्छन् ।

अचेल नुहाउनका लागि सावर इन्क्लोजर बनाउने चलन छ । सिसाले घेरिएका यस्ता इन्क्लोजरभित्र नुहाउँदा पानी बाथरुमको सतहमा फैलन पाउँदैन । सिसाको इन्क्लोजर बनाउन नसके नुहाउने ठाउँलाई पानीले नबिग्रने पर्दाले घेर्न सकिन्छ । काठमाडौंको टेकूस्थित क्रियट बाथ इन्टरनेशनलका मुकुन्द श्रेष्ठ बाथरुमको सतहमा खस्रो खालको म्याट फिनिस्ड टायल राख्दा चिप्लने सम्भावना कम हुने बताउँछन् । “निर्माण सामग्री र स्यानिटरी वेयरका सामान किन्दा ध्यान दिने हो भने सफा र सुरक्षित बाथरुमका लागि धेरै खर्च लाग्दैन”, श्रेष्ठ भन्छन् ।

बाथरुम सुरक्षित र आकर्षक बनाउनका लागि पर्याप्त प्रकाश र भेन्टिलेसनको व्यवस्था गरिनुपर्छ । बाथरुमका भित्तामा आवश्यकता अनुसार ‘ग्राब बार’ राख्दा चिप्लनबाट जोगिन्छ । इन्टेरियर डिजाइनर हाडा स्थानाभावमा त्यसो गर्न सकिएन भने बत्ती बालेसँगै अन् हुने एक्जस्ट फ्यान राख्दा पनि बाथरुम सुक्खा बनाउन सकिने बताउँछन् ।

आकर्षक बाथरुम

बाथरुम ‘स्टेटस सिम्बोल’ पनि बन्न थालेको छ । राम्रो घरको परिभाषाभित्र आकर्षक, सुगन्धित र चिटिक्क बाथरुम हुनुपर्ने शर्त थपिएको छ । साना घरमा कम्तीमा दुई वटा र ठूला घरमा व्यक्तिको चाहना अनुसार प्रत्येक कोठासँगै अट्याच बाथरुम बनाउने पनि चलन छ ।

आधुनिक बाथरुममा परम्परागत सेतो वाश बेसिनको ठाउँ विभिन्न रंग र आकारका टेबल टप बेसिनले लिएका छन् । दुईवटा बेसिन पनि राख्न थालिएको छ । नुहाउँदा वर्षाको पानीले नुहाएको जस्तो अनुभूत हुने रेन सावर, विभिन्न डिजाइनका धारा, ह्यांगर, ड्रअरले पनि बाथरुम सुविधायुक्त बन्न सक्छ । त्यस्तै वाल माउन्टेड कमोडले पनि बाथरुम सफा राख्न थप मद्दत पुर्‍याउँछ ।

धेरै व्यक्तिले प्रयोग गर्ने बाथरुममा युरिनल, सेन्सरयुक्त धारा, दुई वा धेरै बेसिन र कमोडका लागि बेग्लै क्याबिन उपयुक्त हुने हाडा बताउँछन् । यस्ता बाथरुम ह्वीलचेयर अनुकूल समेत हुनुपर्छ । आर्थिक हैसियत भएकाहरूलेबाथरुममा साउना, ज्याकुजी, बाथ मसाज पनि राख्न थालेका छन् । शहरका स्यानिटरी वेयरका पसलमा राखिएका अत्याधुनिक सुविधाका सामग्रीले पनि यसको पुष्टि गर्छन् । बाथरुमलाई सुगन्धित बनाउन विभिन्न प्रकारका एअर फ्रेसनर पनि बजारमा उपलब्ध छन् ।

comments powered by Disqus

रमझम