२७ जेठ - २ असार २०७५ | 10-16 June 2018

भारतबाट भारततिरै

Share:
  
भारतबाट नेपालमा आयात हुने पेट्रोल, डिजल भारततर्फ नै तस्करी हुँदा रूपन्देहीका सीमावर्ती क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव भएको छ।

दीपक ज्ञवाली
एकैसाथः सामान छाडेपछि यताबाट तेल भरेर भारत फर्कंदै गरेको भारतीय ट्रक र तेल लिन भारततर्फ जाँदै गरेको ट्यांकर ।
सुनौली नाकाबाट दैनिक सरदर १२ लाख ४० हजार लिटर पेट्रोलियम पदार्थ (पेट्रोल, डिजल र मट्टीतेल) नेपाल भित्रिन्छ । तर रूपन्देहीका भैरहवा र सीमा क्षेत्रका अन्य बजारमा पेट्रोल–डिजल सहजै पाउन मुश्किल छ । यसको कारण हो, भारत हुँदै भित्रिएको पेट्रोल–डिजल तस्करी भएर फेरि उतै पुग्नु ।

अहिले भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य कम छ, त्यसैले नेपालबाट पेट्रोलियम पदार्थ तस्करी गर्नेहरू सक्रिय भएका छन् । सिद्धार्थनगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रामकुमार शर्मा भन्छन्, “नेपालमा जति तेल भित्रिए पनि हामीले सहजै पाउँदैनौं, दिउँसो भरिएका पेट्रोलपम्प रातिसम्म रित्तिइसकेका हुन्छन् ।”

आयल निगमको भलबारीस्थित क्षेत्रीय डिपो भन्दा ५४ किलोमिटर टाढा भारतको नौतनवास्थित डिपोमा पेट्रोल रु.१४.४१, डिजल रु.१७.६५ र मट्टीतेल रु.२.५० ले महँगो छ ।

पाँच पटकसम्म पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिसकेको वर्तमान सरकारले १९ जेठमा पेट्रोल र डिजलमा प्रति लिटर रु.३ मूल्य वृद्धि गरेको थियो । २३ जेठमा भैरहवामा भेटिएका सुदीप बर्मा भन्छन्, “बढेको भाउ तिर्छु भन्दा पनि पेट्रोल पाइएन ।”

साइकलदेखि ट्रकसम्म

२३ जेठ दिउँसो २:३० बजे सुनौली सीमा नजिकै रूपन्देहीको मधौलियामा रहेको वेष्टर्न आयल सप्लायर्समा भारततर्फबाट आएको एचआर २१ एम २९४६ नम्बरको कार तेल भरेर उतै हुँइकियो । अचेल यस्ता भारतीय गाडीहरू सीमावर्ती क्षेत्रका पेट्रोल पम्पमा तेल भर्न लाम लागेका देखिन्छन् । यसरी तेल भर्नेहरू भारतीय नम्बरका कार मात्र होइन ट्रक, कन्टेनरदेखि मोटरसाइकलसम्म र जर्किन लादेका साइकल समेत हुन्छन् ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष प्रेम न्यौपानेका भनाइमा नेपालमा सामान लिएर आउने भारतीय ट्रकहरू नेपालसम्म आइपुग्ने ठिक्क तेल हालेर यता आउँछन् र ट्यांकी भरेर उता लैजान्छन् ।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कालिराम पौडेलका अनुसार सुनौली नाकाबाट दैनिक सरदर ३०० देखि ४०० सम्म मालबाहक साधनहरू नेपाल भित्रिन्छन् । अस्थायी पास लिएर नेपाल भित्रिने कार, मोटरसाइकल लगायतका साधनहरू त झ्न् धेरै हुन्छन् ।

भैरहवाका व्यवसायी सुनिल गुप्ता यसरी नेपालबाट ट्यांकी भरेर जाने कार र मोटरसाइकलले भारतका पेट्रोल पम्पमा तेल बेचेपछि फेरि भर्न नेपाल आउने गरेको बताउँछन् । भैरहवाकै अर्का व्यवसायी सुमन शाही भन्छन्, “हाम्रो पम्पमा तेल भर्न आउने गाडी भारतीय नै धेरै छन्, तेल बेच्न बसेका हामी पम्पमा आइपुगेका जुन देशका गाडी भए पनि दिएरै पठाउँछौं ।”

ठूला र मुख्य नाकाबाट गाडीमै तेल भरेर लैजाने गरिए पनि साना नाकाहरूबाट जर्किन र अन्य भाँडामा हालेर भारत पुर्‍याइन्छ । मर्चवार नजिकैको ठोठरी नाकामा हरेक साँझ् ग्यालेन लादेर भारततर्फ जाँदै गरेका साइकलको ताँती देखिन्छ । “हिजोआज यता सधैं यस्तै हो” स्थानीय बासिन्दा तथा मधेश मानवअधिकार गृहका अगुवा रामविकास चौधरी भन्छन्, “उताबाट ट्यांकरमा आउँछ, यताबाट जर्किनमा जान्छ ।” तर, उनी आफैंले भने मोटरसाइकलमा पेट्रोल भर्न जाँदा नपाएको बताउँछन् । भन्छन्, “बढी पैसा दिन्न भन्ने थाहा पाएपछि छैन भन्दिन्छन् ।” ठोठरीमा मात्र होइन, रूपन्देहीका चन्नी, कुरहवा, कक्रहवा लगायतका नाकाहरूमा पनि हिजोआज यस्तै साइकलको ताँती देखिन्छ ।

पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्य वृद्धिको विरोध भएपछि त्यसको बचाउमा आपूर्ति मन्त्री मातृका यादवले २१ जेठको संसद बैठकमा भनेका थिए, “अझ्ै पनि आयल निगम रु.३७ करोड घाटामा छ ।” मूल्य वृद्धिलाई उचित ठहर गर्न उनले नेपालमा पेट्रोलियम पदार्थको मूल्य निकै कम भएकाले भारततर्फ तस्करी भइरहेको समेत बताए ।

उपभोक्ताहरू भने मन्त्रीले नै तस्करी भइरहेको सार्वजनिक अभिव्यक्ति दिंदा पनि नियन्त्रण नहुनुलाई अचम्म ठान्छन् । उपभोक्ता हित संरक्षण समिति, रूपन्देहीका कोषाध्यक्ष ऋषि आजाद भन्छन्, “तस्करी भइरहेको कुरा मन्त्री आफैं स्वीकार्छन्, तर खै त नियन्त्रण ?” रूपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर यसबारे आफूले अध्ययन गरिरहेको बताउँछन् ।

दीपक ज्ञवाली, बुटवल

comments powered by Disqus

रमझम