नचाहिने ठूलो हल

Share:
  
- वसन्त महर्जन
बुद्घ जन्मस्थल लुम्बिनीमा रु. ४० करोडमा चार हजार मानिस अट्ने सभाहल कसलाई, किन चाहिएको हो, बुझन सकिएको छैन।

नेपालमा बुद्ध र बौद्ध विषयमा लगानी गर्नु भनेकै भौतिक संरचना निर्माण भनेर बुझने चलन छ । यो बुझइ अनुरूप गरिने काम प्रायः ठेक्कापट्टा, कमिसन र आर्थिक भ्रष्टाचारतर्फ सोझ्नि पुग्छ । १७ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट लुम्बिनी क्षेत्रमा शिलान्यास भएको रु.४० करोड लागतको चार हजार सीट क्षमताको सभाहललाई पनि यसरी नै बुझ्एिको देखिन्छ । लुम्बिनीको गुरुयोजनामा नभएको यो संरचना बन्यो भने पनि अनेकौं प्रश्नहरू उठिरहनेछन् ।

गुरुयोजनाको सन्दर्भमा अन्तर्राष्ट्रिय चासोलाई ध्यान दिनै पर्छ । संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्त लुम्बिनी पुग्दा त्यहाँको दयनीय अवस्थाबाट द्रवीभूत भएर आँसु झरेको चर्चा बेलाबेला हुने गर्छ । त्यसपछि उनले लुम्बिनीको विकासका लागि आफ्नै पहलमा अन्तर्राष्ट्रिय समिति बनाए, जसमा अफगानिस्तान, कम्बोडिया, भारत, इन्डोनेशिया, जापान, लाओस, मलेशिया, म्यानमार, पाकिस्तान, सिंगापुर, श्रीलंका, थाइल्यान्ड तथा पछि बाङ्लादेश, भूटान र कोरिया सामेल भएका थिए । नेपालमा पनि लुम्बिनी विकास कोष गठन भयो । यही समितिले सन् १९७२ मा जापानी वास्तुविद् केन्जो तांगेलाई लुम्बिनीको गुरुयोजना बनाउने जिम्मा दियो, जुन काम १९७८ मा सकियो ।

आफैं बौद्ध धर्मावलम्बी केन्जो तांगेले गुरुयोजनालाई अन्य वास्तु संरचना जस्तो नभई बौद्ध धर्मदर्शन अनुकूल बनाए । यसअनुसार ‘नव लुम्बिनीग्राम’ को अवधारणा र त्यसबाट भित्र पसेपछि ‘विहार क्षेत्र’ ले आध्यात्मिक विकासको झ्लक दिन्छ । आगन्तुकहरू विहार क्षेत्र भएर मात्र पवित्र उद्यान क्षेत्रमा प्रवेश गर्नुले धेरै अर्थ दिन्छ । त्यहाँ निर्माण हुने संरचनाले पवित्र उद्यान क्षेत्रलाई ओझ्ेलमा पार्न नहुनेमा जोड दिइएको छ । पछिल्लो समयमा भने त्यहाँ स्वेच्छाचारी ढंगले काम गर्न थालिएको छ । भर्खरै शिलान्यास गरिएको सभाहल त्यसको पछिल्लो उदाहरण हो ।

कुनै काम गुरुयोजना अनुसार हुनु र कुनै नहुनुलाई लुम्बिनी विकास कोषका पदाधिकारी विशेषको स्वार्थ वा रुचिले काम गरेको पाइन्छ । जस्तो, मन्त्रिपरिषद्का अध्यक्ष बन्न पुगेका तत्कालीन राजा ज्ञानेन्द्र शाहले लुम्बिनीमा ‘अखण्ड शान्तिदीप’ राखे, जुन बुद्ध र बौद्ध धर्मसँग सम्बन्धित छैन । त्यस्तै, केही वर्षअघि थाइल्याण्डको एउटा समूहलाई लुम्बिनीमा आफ्नो कीर्ति राख्न मन लागेपछि पवित्र उद्यान प्रवेश क्षेत्रमा गुरुयोजना विपरीत बोधिसत्व सिद्धार्थको मूर्ति राखियो । तत्कालीन उपाध्यक्ष कर्मा स्याङबो शेर्पा थाई समूहको चाहना पूरा गर्ने माध्यम बने । केन्द्रीय नहर (लामो पोखरी) मा हिंड्न नसक्नेलाई डुङ्गामा राखेर पवित्र उद्यान क्षेत्रसम्म पुर्‍याउने गुरुयोजनाको कल्पनामा मोटरबोट चलाएर ‘एड्भेन्चर टुरिज्म’ को रमाइलो गराइएको छ ।

लुम्बिनीमा बन्न गइरहेको सभाहलको शिलान्यास गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी र सभाहलको डिजाइन (माथि) ।
राष्ट्रपतिद्वारा शिलान्यास गराइएको सभाहल प्रधानमन्त्री केपी ओलीको विकासप्रतिको व्यक्तिगत रुचि मात्रै हो कि अन्यको स्वार्थ पनि जोडिएको छ, खुल्न बाँकी छ । यसअघि रु.४ करोडमा तीन हजार सीट क्षमताको अस्थायी सभाहल बनाउने काम नेपाल सेनालाई दिइएको थियो । बौद्ध शिक्षामा लगानी गर्न गाह्रो मान्नेहरू बुद्धको नाममा भौतिक संरचना निर्माण गर्न निकै हौसिने गर्छन् । यसको एउटा कारण आर्थिक चलखेलको अवसर हो भनेर बुझन गाह्रो छैन ।

लुम्बिनीको गुरुयोजनाले सभाहल जस्तो भीडभाड र हल्लाखल्ला हुने भौतिक संरचना निर्माणलाई कुनै ठाउँ दिएको छैन । यस्तो खालको संरचना आवश्यक नै छ भन्ने महसूस भए गुरुयोजनाको क्षेत्रभन्दा अलि पर कतै बनाउन सकिन्छ । शिलान्यास गरिएको सभाहलको डिजाइन सार्वजनिक गर्नुअघि त्यसमाथि छलफल पनि चलाइएन । डिजाइन अनुसार सभाहलको छतमा ‘यिङ याङ’ को चिह्न रहनेछ । चिनियाँ समाजमा प्रचलित ताओ धर्मको यो चिह्नको गौतम बुद्ध, बौद्ध धर्म र लुम्बिनीसँग ‘गोरु बेचेको साइनो’ पनि लाग्दैन ।

comments powered by Disqus

रमझम