२७ जेठ - २ असार २०७५ | 10-16 June 2018

समृद्घ सोच

Share:
  

‘आफूलाई सधैं गरीब देखेकाले नै नेपाल गरीब भएको हो’ व्यवस्थापक तथा परामर्शदाता सुजीव शाक्यको निष्कर्ष छ । उनी ‘नेपाल सानो छ, दुई ढुंगा बीच (चीन र भारत) को तरुल जस्तो छ, भूपरिवेष्टित छ’ भन्ने जस्ता सोचलाई ‘संकीर्ण’ मान्छन् । यसखाले हीनभाव रहेसम्म मुलुक समृद्ध नहुने उनको बुझाइ छ । २१औं शताब्दीमा पनि विश्वबाट अलग्गिएर बसेकाले नेपालले समुचित विकासको मार्ग पक्रन नसकेको उनी ठोकुवा गर्छन् ।

शाक्य लिखित अर्थात् अर्थतन्त्र (नेपाली इलम र उद्यमको यात्रा) पुस्तकको सार पनि यही हो । पत्रकार मैना धितालसँगको सहकार्यमा तयार यो पुस्तकमा उनले मल्लकाल, शाहकाल, राणाशासनदेखि गणतन्त्रसम्मको राजनीतिक अवस्था केलाउन पनि भ्याएका छन् । राजनीतिको सामान्य चिरफार गर्दा तत्तत् समयको मुलुकको अर्थतन्त्रलाई नियालेका छन् । यसकारण पनि यो पुस्तक मुलुकको करीब तीन सय वर्षको राजनीतिक–आर्थिक नीति चियाउने आँखा बन्न सकेको छ ।

पुस्तक अर्थात् अर्थतन्त्र

लेखक सुजीव शाक्य

प्रकाशक नेपालय

पृष्ठ ३४०+१२,

मूल्य रु.४७५

अर्थशास्त्र प्राविधिक र ‘जार्गन’ हरूले भरिएको नीरस विषय भएको कतिपयको बुझाइ छ । त्यसमाथि मुलुकले किन आर्थिक समृद्धि हासिल गर्न सकेन भन्ने विषयमा विवेचना गर्नु, संसारका अनेक उदाहरण प्रस्तुत गर्नु र अर्थतन्त्रलाई राजनीतिसँग जोडेर पर्गेल्नु रोचक कार्य पक्कै होइन । तर, यस्तो नीरस विषयलाई पनि सरस तथा पठनीय बनाउन लेखक केही हदसम्म सफल भएका छन् ।

विश्वप्रसिद्ध अर्थशास्त्री जोसेफ ई स्टिग्लिजको द प्राइस अफ इन् इक्वालिटी पुस्तक पढ्दा गतिलो आख्यान पढिरहे जस्तो महसूस हुन्छ । स्टिग्लिजले पुस्तकमा केही पृष्ठ ‘रेन्ट सिकिङ’ शीर्षकको विवेचनामा खर्चिएका छन् । निजी क्षेत्रले कसरी सर्वसाधारणलाई अत्यावश्यक वस्तुको कृत्रिम अभाव सृजना गरी बढी मूल्यमा सामान बिक्री (कुतखोरी) गर्छन् र त्यसमा राज्य समेत कसरी सहयोगी बन्छ भन्ने सन्दर्भको विवेचना नेपालका लागि झनै सान्दर्भिक लाग्छ ।

विश्वजनीन लेखनी भनेको शायद त्यही हो । शाक्यको पुस्तकमा रहेको निजी क्षेत्रका व्यवसायीको सन्दर्भलाई पनि सोही परिप्रेक्ष्यमा हेर्न सकिन्छ । उनी मुलुकका निजी क्षेत्र सरकारभन्दा गएगुज्रेको र अधिकांश व्यवसायी कुतखोर गरिरहेको तर्क गर्छन् । ‘निजी क्षेत्रले पनि समाजका अरु अंगजस्तै ऐन–कानून, नीति–नियम र मूल्यमान्यताभित्र रहेर व्यापार व्यवसाय गर्नुपर्छ । तर, पहिलो जनआन्दोलनको दशकपछि नेपालमा जसरी निजी क्षेत्र अगाडि बढेको छ, लाग्छ; सबैभन्दा पहिला उसकै उपचार गर्न बाँकी छ’, शाक्यले लेखेका छन् ।

१२ खण्डमा विभक्त यो पुस्तकले अविकासको कारण पहिल्याउने प्रयास गरेको छ । यसमा मुख्य रुपमा मिश्रित अर्थतन्त्र, २०४६ देखि २०७४ सालसम्मको अर्थतन्त्र, निजी क्षेत्र, विकासे मनसाय, द्वन्द्वको अर्थशास्त्र, रेमिटेन्स अर्थतन्त्र लगायत समेटिएको छ । मिश्रित अर्थव्यवस्था सिर्जित गोलमालदेखि वर्णव्यवस्थाले हुन नदिएको कामप्रतिको सम्मान समेतको चिरफार गरिएको छ । जातका आधारमा काम गर्ने अवस्थाले व्यावसायिक विविधता रोक्छ ।

मुलुकको समृद्धिका निम्ति कृजपसे (कृषि, जलविद्युत्, पर्यटन र सेवा)को विकल्प नभएको तर दुर्भाग्य यस क्षेत्रको अवस्था सय वर्षअघिकै जस्तो रहेको लेखकको भनाइ छ । स्वदेशी इलम र उद्यमलाई आफ्नै ब्रान्ड बनाई संसारभर फैलाउने उपाय पनि लेखकले सुझाएका छन् ।

शाक्यले आर्थिक विकास हुन नसक्नुका कारणसँगै उपायहरू पनि औंल्याएका छन् । पुस्तकको अन्तिम अर्थात् बाह्रौं खण्डमा ‘अगाडिको बाटो’ शीर्षकमा केही मननीय सुझाव प्रस्तुत गरेका छन् । भूमण्डलीकरणको प्रक्रियामा राजनीतिक नेतृत्व र जनताले भाग लिनुपर्ने, युवा जनशक्तिको सदुपयोग हुनुपर्ने तथा कृजपसेलाई व्यावसायिक ढंगमा अघि बढाउन सक्दा नेपाल प्रगतिपथमा बढ्ने उनको विश्वास छ । उन्नतिको तीव्र रफ्तारमा रहेका निकटतम दुई छिमेकी राष्ट्रसँगको सहकार्यबाट नेपालले कसरी र कस्तो लाभ लिन सक्छ भन्नेमा पनि शाक्यले प्रष्ट धारणा राखेका छन् ।

आर्थिक विषयमा तथ्यांकमा विशेष ध्यान पुर्‍याउनुपर्छ । तर, पुस्तकमा पृष्ठ ८ मा नेपाललाई जनसंख्याको हिसाबमा संसारको ४३औं ठूलो मुलुक भनिएको छ भने पृष्ठ ३१३ मा ४२औं । यसका साथै कहींकहीं भाषिक अररोपना र अशुद्ध शब्द पनि देखा पर्छ ।

नेपाल न तरुल हो न कोही ढुंगा । यो न चेपिएको हो न हेपिएको । परिवर्तनलाई आत्मसात् गर्न डराउने तथा यसलाई काबुमा राख्न नसक्नेहरूले यस्ता कुतर्क गर्दै आएकोमा लेखक दृढ छन् । पुस्तकले निराशा होइन, उन्नतिको विश्वास बाँडेको छ । सबै झैं देशमा राजनीतिक स्थिरता कायम भएपछि जनताले सुनौला दिन देख्न पाउने कुरामा उनी पनि विश्वस्त छन् ।

राजेन्द्र पराजुली


असल विश्व

सिरिया र यमनको गृहयुद्ध, इरानको आणविक समस्या, अफ्रिकाको भोकमरी र द्वन्द्व, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ‘पपुलिज्म्’ मा आधारित गैरविवेकी निर्णयहरू, केही आतंकवादी हमला आदि दिनहुँ सञ्चारमाध्यममा पढ्दा/हेर्दा लाग्छ विश्वमा चौतर्फी बेहाल छ, प्रगति उन्मुख छैन । तर हार्वर्ड विश्वविद्यालयका प्राध्यापक एवं मनोवैज्ञानिक स्टिभन पिंकरको हेराइ भने फरक छ । उनी विगतका शताब्दीभन्दा एक्काइसौं शताब्दी बढी रुपान्तरित र प्रगतिशील देख्छन् ।

चार महीनाअघि मात्र प्रकाशित इन्लाइटमेन्ट नाउ पुस्तकमा उनले आफ्ना यिनै तर्कहरूलाई पुष्टि गर्ने प्रयत्न गरेका छन् । संज्ञानात्मक विज्ञानका यी प्राध्यापक अठारौं शताब्दीमा भएको प्रबोधन क्रान्ति (इन्लाइटमेन्ट रिभोलुसन) कै कारण अहिलेको विश्वमा विवेक, विज्ञान, मानवतावाद र प्रगति सम्भव भएको विवरण पेश गर्दछन् ।

पुस्तक इन्लाइटमेन्ट नाउ

लेखक स्टिभन पिंकर

प्रकाशक पेन्गुइन बुक्स

पृष्ठ ५५६+२४

मूल्य १४.९९ अमेरिकी डलर

के हो त प्रबोधन क्रान्ति ? सन् १७८४ मा दार्शनिक इमानुएल कान्टले ‘हवाट् इज इन्लाइटमेन्ट ?’ भन्ने निबन्ध मार्फत प्रबोधनलाई ‘बुझ्न खोज्ने साहस’ का रुपमा अथ्र्याएका छन् । यसलाई अर्को शब्दमा मानवतावादी क्रान्ति पनि भन्न सकिन्छ । यही क्रान्तिबाट अमेरिकामा क्रान्ति सम्भव भयो र विश्वमा सबल प्रजातन्त्र स्थापना भयो ।

त्यसो त मध्ययुगमा यूरोप, चीन र भारत भन्दा पनि पछि रहेको बेलायती इतिहासकार नेल फर्गुसनको भनाइ छ । त्यही युग थियो, जहाँ वैज्ञानिक ग्यालिलियो र ब्रुनोलाई मृत्युदण्ड दिइएको थियो । तर औद्योगिक क्रान्तिपछि व्यापार र ज्ञानको क्षेत्रमा भूमण्डलीकरणले तीव्रता पायो । साम्राज्यहरू उदाए । यूरोपेलीहरू उपनिवेशवादी बने । यसका खराब पक्ष पनि छन् । तर यहीबेला आधुनिकीकरणको प्रक्रिया तीव्र भयो । यूरोपेली बुद्धि, सीप र विज्ञान विश्वमा फैलियो ।

बीसौं शताब्दीमा पहिलो र दोस्रो विश्वयुद्धले प्रबोधन क्रान्तिलाई केही हदसम्म धक्का दियो । युद्धमा विज्ञानको दुरुपयोगले त्रास जन्मायो । विश्व त्यतिमै रोकिएन । पश्चिममा सभ्यताको ह्रास र पतनबारे विमर्श हुन थाले । तर एक्काइसौं शताब्दीको दोस्रो दशकसम्म आइपुग्दा विश्वले धेरै फड्को मारिसकेको पिंकरको दाबी छ । उनको भनाइमा यही बेला विश्वमा मानिसको औसत आयु बढेको छ । बाल मृत्युदरमा कमी आएको छ, क्यालोरीमा वृद्धि, चरम गरीबीमा कमी र आम्दानीमा वृद्धि भएको छ । प्रजातन्त्र, सुरक्षा, समान अधिकार, साक्षरता, ज्ञान र खुशीको ग्राफ समेत उकालो लागेको छ । भनिन्छ, एक्काइसौं शताब्दी विज्ञान र प्रविधिको शताब्दी हो । प्रबोधन क्रान्तिले विवेक र तथ्यमा आधारित ज्ञानलाई जोड दिएकैले यो सम्भव भएको पिंकरको भनाइ छ ।

थर्मोडाइनामिक्सबाट शुरु भएको क्रान्ति अहिले कृत्रिम बुद्धिको युगमा प्रवेश गरेको छ । कृषि, औद्योगिक, सूचना क्रान्ति हुँदै यहाँसम्म आइपुगेको समाजलाई वल्र्ड इकोनोमिक फोरमका अध्यक्ष क्लाउस स्वाबले चौथो क्रान्ति भनी उल्लेख गरेका छन् । त्यसैले अबको समाज ‘उत्तर मानव समाज’ भन्नेहरू पनि छन् । यी क्रान्तिहरूको विस्तारमा भावना र अनुभवमा आधारित मूल्यमान्यता उत्तिकै जिम्मेवार छन् । जुन स्थानीय र वैश्विक छ ।

पिंकर यो क्रान्तिका लागि डेभिड हुमे, स्पिनोजा, आडम स्मिथ, फ्रान्सेली इन्साइक्लोपेडियाका लेखकहरू र सामाजिक मनोवैज्ञानिकहरूको योगदान रहेको र उनीहरू आफ्नो समय भन्दा अघिका व्यक्तित्व भएको टिप्पणी गर्दछन् । तर जर्मन दार्शनिक फ्रेडरिक नित्से, उनका चेलाहरू र उत्तर आधुनिकतावादीहरूले सांस्कृतिक निराशालाई प्रश्रय गरेको उनको आरोप छ ।

मानव समाज अहिले पनि रुपान्तरणको संक्रमणकालमा छ । ‘फेक न्यूज’ र ‘पोष्ट ट्रूथ’ को हल्ला चलेको छ । त्यसैले लेखक यो समयमा तथ्यमा आधारित ज्ञान र सूचनाको रक्षार्थ पनि प्रबोधन क्रान्ति जारी हुनुपर्ने बताउँछन् । “मानव समाजले प्रगतिको सिंढी चढ्नु नै प्रबोधन हो र आजको अनिश्चयको युगमा यसको आवश्यकता अझ बढेको छ”, उनी भन्छन् ।

रमेश के.सी.

comments powered by Disqus

रमझम