१६ भदौ २०७० | 1 September 2013

ठमेलमा एक रात

Share:
  
- नेहा शर्मा
ठमेलको डान्सबारको एक रात देखेपछि हामी भक्कानिएर रोएका छौं ।

डान्सबारमा काम गर्ने महिलाका मुद्दामा धेरै पटक आफैंले आवाज उठाए पनि उनीहरूले काम गर्ने ठाउँ हेर्ने र वातावरण बुझ्ने मौका जुरेको थिएन । दुई महीनाअघि १२ जना साथीको सल्लाहमा बढी चहलपहल हुने शुक्रबार बेलुका ९ बजे पुग्दा ठमेल दुलही जस्तै सिंगारिएको थियो । त्यहाँका धेरै डान्सबारलाई हेर्न र बुझ्न चार जनाको समूहमा तीनतिर बाडिंदै गर्दा हाम्रो अघिबाट प्रहरीको भ्यान सोह्रखुट्टेतिर लाग्यो । जुन भ्यानभित्र दुई जना महिला रहेको बाहिरबाटै देखियो । नजिकै उभिएका प्रहरीसँग सोद्धा अनैतिक काम गरेकाले समातिएको बताए । नबुझे जसरी हामीले उनीहरूले अनैतिक काम गरेको कसरी थाहा भयो भन्दा उनले अनुहार देख्दै थाहा हुने बताए । महिलासँग अनैतिक काम गर्ने पुरुष किन समातिएनन् भन्ने हाम्रो प्रश्नको जवाफ भने ती प्रहरीले दिन सकेनन् ।

दिनको उज्यालोमा नदेखिने वा याद नगरिने बारहरू ठमेलमा कत्ति रहेछन् कत्ति ! तीनतिर बाडिंदा पनि एक ठाउँमा जाँदा अर्को देख्न नभ्याइएला भन्ने समस्याले हामीलाई चिन्तित बनायो । यो दोधारमा हामी नर्सिङ चोकको ब्लूबारतिर लाग्यौं । सुरुङ जस्तो भर्याङ उक्लिंदै गर्दा सिंगारिएकी महिलाले स्वागत गरिन् । बत्तीको झिलिमिली कस्तो थियो भने, आँखा खोल्नै गाह्रो । हामीलाई देखेपछि बारका महिलालाई काखमा राखेर मदिराको चुस्की लिंदै गरेका पुरुष केही सतर्क देखिए । हामी भने त्यता नहेरी बारका अरू दृश्य हेर्न थाल्यौं ।

खोसिएको खुशी

साँघुरो कोठाका अगाडि बनाइएको स्टेजमा हिन्दी गीतमा दुई युवक र एक युवती नाचिरहेका थिए । युवकहरूले टी–सर्ट लगाएका थिए भने युवतीको शरीरको माथिल्लो भागमा एउटा धर्सो जस्तो कपडा मात्र थियो । प्लस टु पढ्ने उमेरकी ती युवती नाच्दा भित्री अंग देखाउने प्रयास पनि गर्दै थिइन् । लाग्थ्यो, त्यहाँ कसैलाई लाज, घिन र असजिलो थिएन ।

त्यही वेला अन्दाजी २० वर्षकी युवती अर्डर माग्न आइन् । पुरुष ग्राहकलाई मनोरञ्जन दिंदै अर्डर लिने उनीहरूलाई गेष्ट रिलेशन अफिसर (जीआरओ) भनिंदो रहेछ । हामीलाई देखेर सतर्क बनेका पुरुषहरू अर्कोतिर फर्किएर युवती चेप्दै पुनः पिउन र पिलाउन थाले ।

ग्राहकसँग टाँसिएर बसेका ती युवतीको हाँसो वनावटी लाग्थ्यो । आँखामा न उन्माद थियो न त अँगालोमा सामीप्यता । अर्डर लिन आएकी युवतीलाई सोद्धा घर चितवन भएको बताइन् । १२ मा फेल भएपछि पढ्न छाडेकी रहिछन् । अर्कै अफिसमा काम गर्छु भनेर घरकालाई ढाँटेकी रहिछन् ।

त्यतिवेला डान्सबारका एक पुरुषले इशारा गरेपछि उनी अर्को ग्राहकसँग बियर पिउन गइन् । केहीबेरमा फर्किएर उनले भनिन्, “नपिउँदा जागीरबाट निकाल्ने हुनाले पिउन थालें ।” विदेश गएको श्रीमान्ले अर्को विवाह गरेपछि छोरी पाल्न यो काम गरेको भन्दा उनको आँखा भरिएको थियो ।

त्यस्तो असह्य दृश्य देखेपछि बाहिरिएका हामी संचयकोष भवन अगाडिको गोगोबार अनि नर्सिङ चोककै ओनियन बार पनि गयौं । सबै ठाउँका दृश्य उस्तै थिए भने अरू समूहका साथीको अनुहार पनि हाम्रो जस्तै मलिन थिए । सबैको अनुभव सुनेपछि पीडा लुकाउन नसकेर हाम्रो भक्कानो फुट्यो । राति डान्सबारमा घन्किएको म्यूजिकको झझल्कोले हामीलाई निद्रा परेन । बिहान उठ्दा पनि आँखा टट्याइरहेका थिए ।

comments powered by Disqus

रमझम