साढे ३३ केजी सुन तस्करीसँग जोडिएको पछिल्लो प्रकरणलाई अनुसन्धानको क्रममा मिलाउँदा सबभन्दा पहिले सूचना संकलन, तत्पश्चात दसी (सुन) को बरामदी र अन्त्यमा थुन्ने अर्थात् ‘साना माछा उपयोग गर्दै ठूला माछा समात्ने’ अनुसन्धान रणनीति तय गरिनुपथ्र्यो । संगठित अपराधको अनुसन्धान जटिल र रोचक प्रक्रिया पनि हो, जसमा सत्य र असत्यबीच रहेका कैयौं भ्रम र रहस्यहरूलाई शंकारहित तवरबाट पुष्टि गर्न दक्ष जनशक्ति आवश्यक पर्छ । संगठित अपराधमा संलग्न हुनेहरूले आपराधिक कार्यमा ‘कट–अफ’ रणनीति अख्तियार गर्ने हुँदा उनीहरूको सम्पर्क–सम्बन्धलाई तथ्यपरक ढंगबाट ‘लिङ्क–अप’ गर्न अनुसन्धानको विशेष रणनीति र कार्ययोजना तयार गर्नुपर्ने हुन्छ । घटना विशेषको रूप वा परिणाममा देखा पर्ने तथ्य र तथ्याङ्कलाई नै अन्तिम सत्य ठान्ने अनुसन्धानात्मक सोचले अनुसन्धान प्रणाली त संकुचनमा पर्छ नै, ‘ठूला माछा समात्ने’ योजना समेत तुहिन सक्छ । संगठित अपराधको अनुसन्धान ‘पपुलिष्ट’ विषय नभएकाले यसलाई प्राकृतिक र कार्यविधिगत विषयमा केन्द्रित गर्नै पर्छ ।
‘ढाडमा टेकेर टाउकोमा हिर्काउने’
राजनीतिक चिन्तक म्याकियाभेलीले राजनीतिमा प्रयोग गरेर फ्याँक्ने ‘युज एण्ड थ्रो’ रणनीति प्रतिपादन गरेका थिए, जसमा मूल लक्ष्य हासिल गर्न घुम्ती मोडमा आइपर्ने पात्र र प्रवृत्तिसँग निगोसियसनका माध्यमबाट सूचना संकलन गर्ने र उपयुक्त समयमा उनीहरूलाई नै प्रहार गर्ने रणनीति निहित थियो । नेपालका माओवादीहरूले पनि युद्धताका ‘ढाडमा टेकेर टाउकोमा हिर्काउने’ फौजी कारबाही खुबै प्रचलनमा ल्याए, जसका योजनाकारमध्ये एक सम्भवतः वर्तमान गृहमन्त्री रामबहादुर थापा पनि थिए । तर, सुन काण्डको अनुसन्धानमा यस्तो रणनीतिको उपयुक्त प्रयोग भएको देखिएन ।
संगठित अपराध अनुसन्धानका दुई प्रमुख हतियार हुन्छन्– बार्गेनिङ र निगोसियसन । बार्गेनिङ अन्तर्गत सामान्य बार्गेनिङ र प्लि–बार्गेनिङ अर्थात् कानूनी बार्गेनिङ (सजायमा छूट हुनसक्ने) हुने गर्छ भने निगोसियसनमा पनि ‘ग्राउण्ड निगोसियसन’ र ‘कम्प्लेक्स निगोसियसन’ को रणनीति अख्तियार गर्नुपर्ने हुन्छ । यी दुवै रणनीतिको महत्व नबुझने पक्षले गर्ने अनुसन्धानबाट ‘ठूला माछा’ फेला पर्दैनन्, बरु अनुसन्धानकर्मी नै अनुचित शंकाको घेरामा पर्न सक्छन् ।
‘बार्गेनिङ’ र ‘कम्प्लेक्स निगोसियसन’ को रणनीति अन्तर्गत भएको सफल अनुसन्धानको एउटा उदाहरण रातो राहदानी दुरुपयोग प्रकरण हो, जसमा पंक्तिकार स्वयम् अनुसन्धानकर्मीको हैसियतमा थियो । सांसदहरूले आफूले पाएको सुविधाको राहदानी पैसाका लागि अरूको तस्वीर टाँसेर बिक्री गर्ने गरेको र त्यस्तो कार्यमा आपराधिक समूहदेखि अध्यागमन कर्मचारीले समेत सघाइरहेको सूचना पाएपछि हामीले अनुसन्धानको योजना तयार पायौं । प्रारम्भिक सूचनासँग मेल खाने थप सूचनाको फेहरिस्त जुटायौं । र, झ्ण्डै २५–३० जना सांसदले त्यसरी राहदानी बेचेको सूचनालाई तथ्यमा परिणत गयौं । त्यसक्रममा सांसदहरू पक्राउ नपरुञ्जेल अरूलाई बार्गेनिङ र निगोसियसनका माध्यमबाट सजायमा छूट दिने र कतिपयलाई प्रतिवादी नै नबनाउने रणनीति अपनाइयो । त्यसबापत प्राप्त गरेका महत्वपूर्ण सूचना र तथ्यबाट सांसदहरूलाई पक्रन सफल भएपछि मात्र हामीले अन्य मतियारलाई पक्राउ गरेका थियौं ।
रातो राहदानी प्रकरणमा सरकारी कर्मचारी, राहदानी ‘टेम्परिङ्ग’ गर्ने समूह र राहदानी प्रयोगकर्ता हाम्रा लागि ढाड बनेका थिए, मुख्य अभियुक्तका रूपमा रहेका सांसदहरू चाहिं टाउको । अर्थात्, टाउकोमा हिर्काउन ‘ढाडमा टेक्ने’ रणनीति अवलम्बन गरिएको थियो ।
प्रारम्भिक चरणमा तय गरिने रणनीतिले अनुसन्धानको भविष्य निर्धारण गर्छ । यो चरणमा शंकाको ठूलो घेरामा रहने पात्रबारे यथेष्ट मात्रामा गोप्य सूचना संकलन गर्ने र उनीहरूलाई दसी प्रमाण सहित पक्राउ गर्ने योजना तयार गर्नुपर्छ । पछिल्लो सुन काण्डमा महत्वपूर्ण प्रमाण प्राप्त हुनसक्ने स्थानमा निकै विलम्ब गरी गरिएको कारबाहीका पछाडि केही रणनीतिक योजना पनि हुन सक्ला । तर, आफ्नै अनुभवमा आधारित भएर हेर्दा अनुसन्धानको चरणबद्ध कारबाही, घटनास्थलको जाँच र परीक्षणको नीतिसँग यो सब मेल खाँदैन । अनुसन्धान आफैंमा ‘रिजल्ट अफ हाइपोथेसिस’ पनि भएकाले अनुसन्धानकर्मीको परिकल्पनाको परिणामभित्र ठूला माछा पर्ने अपेक्षा गर्न त सकिन्छ, तर अनुसन्धानात्मक कार्यशैली र संयन्त्रको बनोट भने त्यसअनुरूप मेल खाने किसिमको देखिंदैन ।
(भण्डारी पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक हुन् ।)