३-९ असार २०७५ | 17-23 June 2018

आयोजक हुनुको अर्थ

Share:
  
विश्वकपमा रुसको प्रदर्शनले आयोजक राष्ट्रको स्तर निर्धारणको विषयलाई बहसमा ल्याउन सक्ने देखिन्छ।

ज्ञानेन्द्र आचार्य

विश्वकप फूटबलको ३१ जेठमा भएको साउदी अरेबिया–रुसको उद्घाटन खेल प्रतियोगिताकै सबैभन्दा कम वरियता (क्रमशः ६७औं र ७०औं)का देशहरूबीचको प्रतिस्पर्धा थियो । त्यसैले पनि यी देशहरूबाट गतिलो खेलको अपेक्षा नगर्ने धेरै थिए । रुसी समर्थक झिनो अन्तरमै सही, जित निकालेर विश्वकपको सुखद शुरुआत चाहन्थे । तर रुसले ५–० ले खेल आफ्नो पक्षमा पार्‍यो । घरेलु मैदानको फाइदाकै कारण रुसले आफूभन्दा माथिल्लो देश विरुद्ध ठूलो अन्तरको जित निकाल्न सकेको विश्लेषण पनि गरियो ।

त्यसो त इतिहास नै हेर्ने हो भने पनि विश्वकपमा घरेलु टोलीको प्रदर्शन खासै निराशाजनक छैन । २०१० मा दक्षिण अफ्रिका बाहेक अन्य सबै विश्वकपमा आयोजकले समूह चरण पार गरेका छन् । २० मध्ये ६ विश्वकप त घरेलु टोलीले नै जितेका छन् । यसो भन्दैमा यसपटक रुसलाई उपाधिको दावेदार भने मान्न मिल्दैन । तर, १९९१ अघि भने तत्कालीन सोभियत संघलाई विश्वकपकै बलियो टोलीको रुपमा लिइन्थ्यो । तर, त्यो बेला सोभियत संघले विश्वकप आयोजना गर्ने मौका नै पाएन ।

एक दशकयता विश्व फूटबलमा रुसको प्रदर्शन खासै राम्रो छैन । सन् २००८ मा यूरोकपको सेमिफाइनल पुगेको रुसले त्यसपछि लय समात्नै सकेको छैन । एक वर्ष अघि कन्फेडेरेसन कपको पहिलो खेलमा न्यूजिल्यान्डलाई पराजित गर्नुअघिका सात खेलसम्म रुस जितविहीन थियो । खराब ‘फर्म’ बाट गुज्रिरहेको टोलीलाई विश्वकपको उद्घाटन खेलमा जित आत्मसात् गर्नु साँच्चै नै मनोवैज्ञानिक दबाब थियो । तर, घरेलु समर्थकको प्रेरणामा रुसी खेलाडीको औसत र रक्षात्मक प्रदर्शनले पनि सहज जित सम्भव तुल्याइदियो ।

विश्वकपमा प्रत्येक खेलमा जितको औसत अंकको हिसाब गर्ने हो भने पनि घरेलु टोलीकै दबदबा देखिन्छ । ब्राजिल र स्पेन मात्र त्यस्ता देश हुन्, जसले आफैंले आयोजना गरेको विश्वकपमा उति प्रभावकारी देखिएनन् । रुसको हालत त खराब हुने अनुमान गरिएको थियो । यहाँसम्म कि आयोजक नभएको भए, ऊ विश्वकपमा नै हुने÷नहुनेमा पनि संशय थियो । किनकि, यसपटक यूरोपबाट इटाली र नेदरल्यान्ड्स जस्ता हस्तीहरू नै छानिएनन् । धन्न विश्वकप आयोजकले छनोट चरण खेल्नु नपर्ने नियम छ ।

रुसले दोस्रो चरणमा पुग्ने सम्भावना कायम राख्न साउदी अरेबियालाई जित्नैपर्ने थियो । किनभने यो समूहका अन्य दुई टोली इजिप्ट र उरुग्वे तुलनात्मक रुपमा बलिया छन् । तर रुसको यो जित, कन्फेडेरेसन कपमा जस्तै पहिलो खेल जितेर, बाँकी सबै हार्ने पनि हुन सक्छ ।

दक्षिण अफ्रिका झैं आयोजक पहिलो चरणबाटै फेरि पनि बाहिरिएमा आयोजकले पनि छनोट खेल्नुपर्ने बहस चल्न सक्छ, जसबाट कतारलाई बेफाइदा हुनसक्छ । किनकि अबको विश्वकप एशियाली राष्ट्र कतारमा हुँदैछ, जो चालू विश्वकपमै छानिन सकेन ।

comments powered by Disqus

रमझम