१०-१६ असार २०७५ | 24-30 June 2018

ओली आँटको प्रतीक्षा

Share:
  

हिमाल खबरपत्रिकाको (३–९ असार) आवरण रिपोर्ट ‘प्रम ओलीको चीन भ्रमणः बेइजिङमा के होला ?’ ले धेरै कुरा छर्लङ्ग्याइदिएको छ । द्विपक्षीय साझेदारी र मित्रताका लागि प्रम ओलीको चीन भ्रमण महŒवपूर्ण हुनेमा कुनै शंका छैन तर सधैं दक्षिण छिमेकबाट आशातित प्रतिफल नपाइरहेका नेपालीलाई उत्तरको भ्रमणबाट पनि खासै उत्साहित बनाएको छैन । चिनियाँ नेतृत्वलाई नीतिगत स्थिरतामा आश्वस्त पार्न सके प्रम ओलीको भ्रमण सार्थक हुने र द्विपक्षीय सम्बन्धले स्वतः गति लिने विश्वास गर्न सकिन्छ । भारतीय नाकाबन्दीपछि चीन भ्रमणका बेला प्रम ओलीले बेइजिङमा गरेका समझ्दारी कार्यान्वयनमा तदारुकताका साथ लाग्नु नै अहिलेको भ्रमणको सफलता मानिनेछ ।

त्यसैगरी, भारतमाथिको आर्थिक निर्भरता घटाउने अवसर बनेको प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रिय उत्पादन बढाउनेतर्फ केन्द्रित हुन जरूरी छ । चीनसँगको बढ्दो व्यापार घाटाले हामीलाई दुई छिमेकी मुलुकमा निर्भर बनाउने हुँदा चीनसँगको व्यापार वृद्धि र नेपालबाट हुने निर्यातमा अनुदान, कोटा र सहुलियतका निम्ति चीनसँग सार्थक संवादको खाँचो छ । प्रम ओलीको भ्रमण सफल हुँदा हाम्रो औद्योगिक र आर्थिक आधार निर्माण हुने र असफलताले चीनको बजार मात्र बनाउनेतर्फ भने सचेत रहनुपर्छ ।

चीन भ्रमणमा यातायात तथा पारवहन सहमतिको ‘प्रोटोकल’ र केरुङ–काठमाडौं रेल निर्माणको समझ्दारीले नै ओलीलाई सफल नेताका रूपमा उभ्याउने हुँदा उनको आँटको पनि परीक्षा हुनेछ ।

विमलकुमार घिमिरे, इमेलबाट

कम गरौं विषादी

‘विषादीः अन्धाधुन्द प्रयोग, अपूरणीय क्षति’ (३–९ असार) रिपोर्टले झ्सङ्ग बनायो । अझ् विषादीको जथाभावी प्रयोगले मानव स्वास्थ्य र पारिस्थितिकीय प्रणालीमा समेत सीधा असर पुर्‍याइरहेको हुँदा विषादी प्रयोग साँच्चै नै सोचनीय हुन पुगेको छ । बढी विषादी प्रयोगले एकातर्फ कीराफट्याङ्ग्रामा विषादी पचाउने क्षमताको विकास गराउँछ भने अर्कोतर्फ मानव स्वास्थ्यलाई बिगार्ने त छँदैछ । सरकारले पनि यसतर्फ बेलैमा ध्यान पुर्‍याउनु आवश्यक छ । विषादीको भयावह परिस्थितिबाट हुने अपूरणीय क्षति कम गर्नु हामी सबैको दायित्व पनि हो । आजैदेखि भरसक विषादी प्रयोग नै नगर्ने गरे पनि कम गर्ने बानी बसाल्नु नै सबैको हितमा छ ।

अविनाश तिम्सिना, अनलाइनबाट

‘उसै त सुन, किन गर्नु चानचुन’

‘सुनः पहेंलो धातुको बेलगाम बजार’ (३–९ असार) रिपोर्टले हाम्रो सुन बजारको यथार्थ देखाइदिएको छ । सुनको तस्करीमा रमाउनेहरूबाट सुन बजार नियमनको आस राख्नु नै जनताको लागि ठट्टा हुनपुग्छ । बरु सुन बजारबाट अकुत फाइदा हुने हुँदा असीमित सुन आयातको बाटो खोल्दा पो नेतालाई पनि फाइदा हुन्छ । उखान नै छ, ‘उसै त सुन किन गर्नु चानचुन !’

मिलन खत्री, अनलाइनबाट

पठनीय रिपोर्ट

थाइल्याण्डका नेपाली सम्बन्धी ‘नेपालीको पिलोक’ (३–९ असार) रिपोर्ट पठनीय लाग्यो । भारत, भूटान, बर्मामा त नेपाली गाउँबस्ती नै रहेको सुनेको हो, थाइल्याण्डमा पनि नेपाली गाउँबस्ती रहेको रिपोर्ट पढ्न पाउँदा आश्चर्य पनि लाग्यो । नेपाल र नेपाली सम्बन्धी यस्तै पठनीय रिपोर्टको सदा अपेक्षा गर्दछु । भाषा, संस्कार र संस्कृतिले नै हो नेपालीलाई एउटै सूत्रमा बाँध्ने ।

सरिता खत्री, अनलाइनबाट

माया गरौं लोक शैलीको

‘फर्कियो लोक शैली’ (३–९ असार) चलचित्र संगीत सम्बन्धी रिपोर्टले छायाँमा परेको लोक भाकालाई उठाउने काम गरेको छ । साथै, विदेशीको कपीपेस्ट गर्ने परम्परालाई केही हदसम्म भए पनि सोच्न बाध्य पारेको छ । शब्दमा छनोट सही हुने हो भने लोक शैलीकै गीतबाट पनि चलचित्र चल्न सक्छन् भन्ने मान्यता रिपोर्टले स्थापित गरिदिएको छ । लोक शैलीलाई माया गरौं, नेपाली संस्कारलाई उँचाइमा पु¥याऔं । सरकारले पनि उचित संरक्षण प्रदान गरोस् ।

उदीप पाठक, अनलाइनबाट

ब्यांकः लगानी हैन, ब्याज खाने

‘मौद्रिक नीतिः ब्याजदरको विकृति’ (३–९ असार) रिपोर्टले ब्यांकहरू लगानीमैत्री होइन, ब्याजमैत्री भइरहेछन् भन्ने खुलस्त पारिदिएको छ । कसरी हुन्छ जनताबाट कसेर ब्याज लिनु नै ब्यांकहरूको पहिलो लक्ष्य हुन पुगेको छ । नेपाल राष्ट्र ब्यांकले शीघ्र यस विषयमा गम्भीर भएर सोच्नु जरूरी छ । ब्यांकको यस्तै ब्याज खाने प्रवृत्तिले गर्दा नै हो गाउँमा जनतालाई महँगोमा ब्याज लगाउनेहरूले फाइदा लिइरहन सकेका । जनपक्षीय बनेर ब्यांकले त लगानी प्रवद्र्धनमा पो ध्यान दिनुपर्ने हो, ब्याज बढाउने दाउ हेर्ने त होइन नि !

भूपेन्द्र अधिकारी, अनलाइनबाट

कम गर प्योङ्गयाङ्ग मोह

‘काठमाडौंको प्योङ्गयाङ्ग मोह’ (३–९ असार) उकालो लाग्दा ले नेपालका वरिष्ठ नेता भनाउँदाहरूमाथि राम्रै चाबुक चलाएछ । हेरौं, नेताजीहरूको प्योङ्गयाङ्ग मोह कम हुन्छ कि ! हुन त विदेश भ्रमण गर्न पाइने भनेपछि दायाँबायाँ नहेरी, विगत र इतिहास नबुझी दौडिने नेपालका नेतागणबाट त्यस्तो सुधारको के नै आस गर्नु ! तैपनि सुध्रिन्छन् कि !

सुन्दर राय, अनलाइनबाट

comments powered by Disqus

रमझम