अहिले सत्यनारायणले ‘सद्गुरु कविर अनाथ बालवात्सल्य आश्रम’ नै निर्माण गरेर ती बालबालिकाको हेरचाह गर्न तीन जना महिलालाई काम पनि दिएका छन् । बेवारिसे शिशुहरूलाई पाल्न उनले आश्रम खोलेको खबर फैलिएपछि धनुषा र महोत्तरीका गाउँबाट समेत बेवारिसे शिशु फेला पर्दा उनलाई खबर आउन थालेको छ । शिशु अवस्थामै त्यहाँ ल्याइएका बालिकाहरू सम्भावना र अर्चनाको भने केही समयअघि निधन भएको छ ।
महोत्तरीको विजलपुरा–३ घर भएका सत्यनारायण वि.सं. २०५७–२०५८ मा भक्तपुर, गुण्डुको उच्च माविमा शिक्षक थिए । त्यहाँबाट जनकपुरको विज्ञान अध्ययन केन्द्रमा पढाउन पुगेका उनी २०६३ मा योग साधना सिक्न भारतको इलाहावाद गए । त्यहाँबाट फर्केपछि आध्यात्मिक बाटोमा लागेका उनी बालबालिकासँगको लगावले विवाहतर्फ पनि ध्यान नगएको बताउँछन् । उनी भन्छन्, “अब त विवाह गर्ने सोच पनि आउन छाड्यो ।”
जनकपुरका युवा क्लब र संघसंस्थाहरूले आफ्नो वार्षिकोत्सवमा चामल, दाल, बिस्कुट, चाउचाउ दिए पनि आश्रम चल्न दैनिक रु.२ हजार खर्च हुने उनी बताउँछन् । त्यही भएर जिल्ला विकास समिति धनुषा र जनकपुर नगरपालिकालाई सहयोगका लागि गुहारे पनि अहिलेसम्म सहयोग भने पाएका छैनन् ।
ईश्वरचन्द्र झा, जनकपुर