आँगनमा घाम तापिरहेका उनीहरूलाई एक जना मानिसले परिचित जस्तै व्यवहार देखाएर लुटेछ । बुहारीले सासूको घाँटीमा केहीबेर अघिसम्म रहेको सिक्री नदेखेपछि कता गयो भनेर सोधिछन्, यता उनको समेत लुटिइसकेको थियो ।
अमेरिकामा बस्ने नेपाली, नेपाली भाषी भूटानी र बर्मेलीहरू मौलिक नेपाली डिजाइनका सुनका गहना मन पराउँछन् । केही वर्षअघिसम्म अमेरिकामै यस्तो गहना खरीदको सुविधा थिएन । सन् २००८ मा नेपालमा रहेका भूटानी शरणार्थीको अमेरिका पुनर्वासपछि भने नेपाली गहना पसल प्रशस्तै खुलेका छन् । व्यवसाय र गहना पारखी बढेसँगै लूटका घटना पनि हुन थाले ।
ओहायो राज्यको कोलम्बसमा गहना पसल चलाउने नेपाली भाषी भूटानी उत्तम रसाइली भन्छन्, “मैले दुई वर्षसम्म नेपाली गहना पसल कतै नदेखेपछि आफैं खोलें ।” पुनर्वास भएका भूटानीको बाक्लो बसोबास रहेका टेक्सस, पेन्सलभेनिया, ओहायो, कोलोराडो, कन्सास, आयोवा लगायतका राज्यमा नेपाली गहनाका पसल थुप्रै भेटिन्छन् ।
पुरानो रहर
व्यवसायीहरूका अनुसार उनीहरूको पसलमा पुग्ने ग्राहक दुई थरी छन् । ‘उहिले लगाउन पाइएन, अहिले लगाइहालौं’ भन्ने र नयाँ–नयाँ डिजाइनका किनिरहन मनपराउने । रहर भए पनि शरणार्थी शिविरमा छँदा मन मार्न बाध्य भएकाहरू अहिले क्रयशक्ति बढेपछि पुरानो रहर पूरा गरिरहेका छन् । विवाह, भोज र सामुदायिक भेलाहरूमा पहेंला गहनामा ठाँटिन रुचाउनेले पनि चाहना पूरा गर्न पाएका छन् ।
पाथिभरा ज्वेलर्स का सञ्चालक रसाइलीका अनुसार उनका मुख्य ग्राहक नेपाली भाषी भूटानी नै हुन । यद्यपि नेपाली, भारतीय र सोमाली पनि आफ्नो पसलमा आउने गरेको उनी बताउँछन् । “मैले चाहिं भियतनामी र चिनियाँ ग्राहक पनि बनाएको छु”, पेन्सलभेनियाको पिट्सवर्गमा भीम ज्वेलर्स चलाइरहेका भीम विश्व भन्छन् । दुवैका पसलमा अधबैंसे र अलिक पाको उमेरकाले बढी गहना किन्ने गरेको उनीहरूको अनुभव छ ।
व्यवसायीहरूको अनुमानमा यतिखेर नेपाली भाषी भूटानीहरूका घरघरमा चार तोला घटी सुन छैन । यदि यो अनुमानलाई सही मान्ने हो भने अमेरिकामा मात्रै पुनस्र्थापित करीब ९६ हजार भूटानीका २४ हजार परिवारमा चार तोलाका दरले ९६ हजार तोला अर्थात् झ्ण्डै ११२० किलो सुन छ !
फैलँदो व्यवसाय
सबैभन्दा बढी भूटानीको बसोबास रहेको ओहायो राज्यको कोलम्बसमा दुई, क्लिभल्याण्डमा एक, एक्रनमा दुई र सिन्सिन्याटी शहरमा दुई वटा भूटानीका गहना पसल छन् । विश्वले भने न्यूयोर्क र पेन्सलभेनिया दुवै स्थानमा व्यापार गर्दै आएका छन् । भूटानीको दोस्रो बाक्लो आवादी भएको पेन्सलभेनियाको पिट्सवर्गमा पनि दुई वटा नेपाली गहना पसल छन् ।
रसाइलीको पाथिभरा ज्वेलर्स मा चार जना कालिगड छन् । ९ जनाको सहायतामा व्यवसाय शुरू गरेका विश्वको भीम ज्वेलर्स मा तीन जना साझेदार छन्, पुस्तैनी व्यवसाय यही रहेका तीनै जना कालिगड पनि हुन् । चौथो पुस्तामा पेशालाई निरन्तरता दिइरहेका उत्तम त आफ्ना बाबुलाई साथै लिएर पसल चलाइरहेका छन् । उनी भन्छन्, “गहना यहीं बनाउँछां नेपालबाट ल्याएर बेच्नुपर्दैन ।” उनीहरूले सुन धेरैजसो अनलाइन र ठूला शहरका थोक–बिक्रेताबाट किन्ने गरेका छन् ।
प्रतिस्पर्धामा भियतनामी
“भियतनामीले पनि नेपाली जस्तै गहना बनाउन थालेपछि कमाइ खाने मेलो अप्ठ्यारोमा परेको छ” आयोवाको डे मोइनस्थित आरूश ज्वेलर्स का राम नेपाली भन्छन्, “शतप्रतिशत नभए पनि २० को १९ बनाउँछन् ।” आफूले हातैले गहना बनाइरहँदा भियतनामीले उस्तै डिजाइनका गहना मेशीनबाटै बनाइदिएपछि प्रतिस्पर्धा गर्न अप्ठ्यारो परेको उनी सुनाउँछन् । भन्छन्, “अलि धेरै लगानी गर्न सके संभावना अझै छ । तर अहिले नै चार–पाँच लाख लगानी थप्न मलाई सहज छैन ।”
रसाइली भने भियतनामीसँग प्रतिस्पर्धा भइरहेको मान्न तयार छैनन् । “सिक्री र चुरा त अरूले नक्कल गर्न सक्लान्” उनी भन्छन्, “नौगेडी र बुलाकीमा उनीहरूको सीप चल्दैन ।” बरु आफ्ना ग्राहकहरू सुनबाट उक्लिएर हीरामा रुचि देखाउन थालेपछि प्रतिस्पर्धा त्यसतर्फ मोडिन थालेको उनको भनाइ छ । विश्वका लागि भने भूटानी लगायत सबै गहना व्यापारी प्रतिस्पर्धी नै हुन् । उनी भन्छन्, “बजारमा प्रतिस्पर्धा हुन्छ र त्यसमा आफूले उछिन्ने हो ।”
सुनकै डर
पाठक सासू बुहारी जस्तै अरू पनि लुटिएको खबर सुनिन्छ, बेलाबेला । कोही त अमेरिकामा कसैले ठग्दैन भन्ने भ्रममा परेर जो पायो उहीसँग गहना साट्दा नक्कलीको फेला परेका पनि छन् । कसैलाई लठ्याउने रसायन छर्केर लुटिएको छ । यसरी लुटिनेहरू अरूसँग कुरा गर्दा गहनाको सही मूल्य बताउने ‘सोझ’ हरू छन् ।
भूट्निज सोसाइटी अफ म्यासाच्युसेट्सका कार्यकारी निर्देशक तरन तिवारी भन्छन्, “अलिक सीधासादा, तुरुन्तै ९११ (प्रहरीको आकस्मिक नम्बर) मा फोन गरेर उजुरी दिनसम्म नसक्नेहरू लुटिएका छन् ।” लुटेरा पनि कतिसम्म चलाख भने घटनामा संलग्न केहीले त दुई–चार नेपाली शब्द बोल्न जानेका रहेछन् ।
लूटपाटको घटना बढेपछि पश्चिम म्यासाच्युसेट्सको स्प्रिङ्गफिल्डस्थित भूटानी संस्थाले प्रहरीसँग अन्तरक्रिया समेत गर्यो । तिवारी भन्छन्, “अन्तरक्रियापछि यस्ता घटना फेरि सुनेका छैनौं ।”
(कोइराला, अमेरिकामा ‘अक्षरिका’ नेपाली न्यूजलेटर सम्पादन गर्छन् ।)