२३ भदौ २०७० | 8 September 2013

क्षतिपूर्ति देऊ

Share:
  

बर्डफ्लूको जीवाणु मानिसमा संक्रमित भएमा उत्पन्न हुनसक्ने संकटप्रति सरकार उदासीन भएको विषयमा हिमाल (९ भदौ) मा प्रकाशित ‘बर्डफ्लूः खतरामा मान्छे’ समाचार पढेपछि बर्डफ्लूको महामारी र त्यसप्रति सरकारी बेवास्ता प्रष्ट हुन्छ । जनसरोकारका विषयमा हिमाल मा प्रकाशित सामग्री निकै सान्दर्भिक लाग्यो । यस्ता विषयमा स्वास्थ्य मन्त्रालय चूप लागेर बस्नुहुँदैन । सरकारले बर्डफ्लूको मारमा परेका किसानलाई उचित क्षतिपूर्ति दिनुपर्छ ।

रेवतीमान श्रेष्ठ, इमेलबाट


डान्सबार व्यवस्थित बनाऔं

हिमाल (९ भदौ) मा प्रकाशित ‘ठमेलमा एक रात’ सम्बन्धी अनुभूति पढेपछि यो व्यवसायलाई जसरी पनि कानूनको दायरामा ल्याउनु आवश्यक भएको प्रष्ट हुन्छ । महिलाका लागि संरक्षण दिने किसिमको कानून बनाउनुपर्छ । यसका लागि सबभन्दा पहिला राजनीतिक तहबाटै गम्भीर ढंगबाट सोच्नुपर्छ । साथै जनचेतना पनि बढाउनुपर्छ ।

एस अर्याल, इमेलबाट

कसैका पनि चेलीबेटीले रेस्टुरेन्ट र डान्सबारमा काम गर्न नपरोस् । उनीहरूको कलाको कुरा गर्ने हो भने त्यस्तो ठाउँमा यिनीहरूले काम पाउन् जहाँ उनीहरूको सम्मान हुन्छ । तसर्थ डान्सबारलाई व्यवस्थित बनाउनुपर्दछ ।

*सुरज सिंह, इमेलबाट *


महँगो दशैं

दशैं यसै पनि सामान्य अवस्थामा भन्दा महँगो हुने गर्छ । अनियन्त्रित बजार भाउले पिल्सिएका गरीब नेपालीलाई त प्रत्येक वर्ष दशैं दशा नै बनेर आउने गर्छ । ‘सस्तो रुपैयाँ, महँगो दशैं’ हिमाल (९ भदौ) पढेपछि सामान्य आर्थिक अवस्था भएकाहरूले दशैं कसरी मनाउने भन्ने चिन्ता झ्न् थपिएको छ । उता डलरको भाउ आकाशिएपछि त्यसैको मौका छोपेर यता कालाबजारीहरूले बजार भाउ बढाउने निश्चित छ । दिनभर काम गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने अवस्था भएका नेपालीले यो दशैं कसरी मनाउन सक्लान् र ? डलरको मूल्य बढेको बहानामा बजार मूल्य बढाउने व्यापारीहरूलाई वेलैमा नियन्त्रण गरेर सर्वसाधारणलाई सहुलियत दिन सम्बन्धित निकायले ध्यान दिएमा यसपालिको दशैंमा सर्वसाधारणलाई केही राहत मिल्नेथियो ।

जनार्दन घिमिरे, इमेलबाट


मरुभूमिकरणबाट जोगाऔं

हिमाल (२ भदौ) मा प्रकाशित मरुभूमिकरणको संकेत पढेपछि केही लेख्न मन लाग्यो । समाजका ठूलाबडा भनाउँदाहरूबाट विभिन्न क्षेत्रमा भएको जस्तै अतिक्रमण नदीनाला र वनजंगलमा पनि भएको छ । आफ्नो स्वार्थपूर्तिका लागि गरिएका यस्ता कामले तराईका कृषियोग्य भूमि मरुभूमिमा परिणत भएको कुरा समाचारबाट पनि थाहा पाउन सकिन्छ । उर्वर भूमि उजाड हुनु, पानीको मुहान सुक्नु, खेतियोग्य जमीन बाढीले बगाउनु जस्ता काम यसैका उपज हुन् ।
यस्ता गतिविधि रोक्नका लागि स्थानीय तहबाट वेलावेलामा पहल नभएका पनि होइनन् । यसैक्रममा चुरे क्षेत्रलाई मरुभूमिकरणबाट जोगाउनुपर्ने माग राख्दै केही समयअघि बालबालिकाले गरेको चक्काजामले नीति निर्माताका लागि कम्ती व्यङ्ग्य गरेको थिएन । ठूलाबडाबाट सिकेको चक्काजाम गरेर बालबालिकाले पानी खान पाउनुपर्ने माग राखेका थिए । मरुभूमिकरणबाट जोगाउने उनीहरूको मागको सम्बन्धित निकायबाट सुनुवाई होस् ।

राजु घिमिरे, सालु ५, रामेछाप हालः काठमाडौं


धम्की नदेऊ

हिमाल (२७ साउन) मा प्रकाशित १ हजार ४२१ जना माओवादी लडाकूलाई सैनिक बनाउन १७ हजार ८२८ नेपालीको मृत्यु, १ हजार ४५२ बेपत्ता, ९ हजार विधवा, ५ हजार ९१२ को अङ्गभङ्ग, २२ हजार ८६३ परिवार विस्थापित र १४ हजार ४३८ परिवारको सम्पत्ति नष्ट भएको समाचार पढ्दा साह्रै नमज्जा लाग्यो । जुन कुरालाई कथित जनयुद्ध सफल पार्ने स्वाभाविक प्रक्रिया भनी प्रचण्डहरूले गर्वका साथ बताउने नै भए । तर, नक्कली लडाकूका नाममा माओवादीले रु.४ अर्ब त्यत्तिकै पचाइरहेका छन् । यति मात्र कहाँ हो र सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएकाहरू शानको जिन्दगी बिताइरहेका छन् । क्रान्तिकारी भनाउँदाहरूका यस्ता घृणित र जघन्य अपराधलाई नेपालीहरू टुलुटुलु हेरेर बस्न बाध्य छन् । हत्याको अनुसन्धान र नक्कली लडाकूको कुरा गर्दा उनीहरू संक्रमणकाल भन्छन् । अलि चर्को गरी विरोध गरे शान्ति प्रक्रिया भङ्ग हुने धम्की दिन्छन् ।

इन्द्रकुमार श्रेष्ठ, कमलाकुञ्ज, ओखलढुङ्गा


सन्तान गुमाउँदाको असह्य पीडा

हिमाल मा प्रकाशित ‘सन्तान वियोगको पीडा’ समाचार सामग्रीमा माओवादी द्वन्द्वले मुलुकमा ल्याएको हिंसाको उजागर गराएको छ । समाचारमा द्वन्द्वको वेला तत्कालीन माओवादीले आफ्नो छोरालाई विना कारण मारेपछि फुजेल–७ गोरखाका गंगामाया र कृष्णप्रसाद अधिकारी दम्पती हत्यारालाई कारबाहीको माग गर्दै अनशनमा बसेको तस्वीर पनि देखियो । छोरा गुमाउनु परेको वियोगले बाबुआमा समेत मर्ने स्थितिमा पुगेको तस्वीरसँगै माओवादी अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराईको परिवारसँग खुशीसाथ बसेको तस्वीरले मनै रुवायो ।

सन्तान वियोगको पीडा कस्तो हुन्छ भन्ने मैले पनि अनुभव गरेको छु । २०४३ सालमा मेरी कान्छी बहिनी ग्याल्मोको मृत्यु हुँदा मेरा बाबुआमा वर्षौंसम्म दुःखी देखिनुभयो । २०४५ सालमा अर्की बहिनी चेङासाङ्मोको निधनले बाबुआमा, घरपरिवार र गाउँले नै दुःखी भएका थिए । २०४८ सालमा बाबुको मृत्युपछि विक्षिप्त हुनुभएकी मेरी आमालाई सामान्य अवस्थामा फर्काउन धेरै वर्ष लाग्यो । २०५७ सालमा हाम्रो पहिलो सन्तान छोरी जन्मेको १२ दिनमै मृत्यु भयो । जसको पीडा आजपर्यन्त हुन्छ । त्यसैले सन्तान गुमाउँदाको पीडा साँच्चै असह्य हुन्छ । मानव मात्र होइन कतिपय जनावरमा पनि यो लागू हुन्छ । जस्तो आफ्ना चल्ला, छाउरा, बाच्छा–बाच्छी, डमरुलाई कसैले छुँदा मात्र पनि तिनका माउ झ्म्टिन थालिहाल्छन् ।

बाच्छो मरेको केही दिनसम्म गाईले र छाउरा मरेको केही दिनसम्म कुकुरले समेत आँसु झरेको देखिन्छ । हामी त मानव हौं । जसको पीडा मापन गर्नै सकिन्न । कालगतिका कारण मरेकाहरूबाट सिर्जित पीडाको तुलनामा अरूबाट मारिएकाको ज्यादा हुने गर्दछ । अधिकारी दम्पतीको अथाह पीडामा मल्हम लगाउने काम गर्नुपर्छ । कसैको लागि सत्ता प्यारो होला, तर सत्ता नचाहने बाबुआमाका लागि जस्तै भए पनि सन्तान प्यारो हुन्छ । त्यसकारण सबैभन्दा ठूलो कुरा बाँच्न पाउनु हो । मरेर जाने मानव शरीरलाई अरू कसैद्वारा हत्या गर्नु जस्तो निन्दनीय कार्य केही हुनै सक्दैन । यो अवस्थामा अधिकारी दम्पतीको पीडा कसरी कम गर्न सकिन्छ भनेर सबै पक्षले सोच्नुपर्दछ ।

फुर्पा तामाङ, अधिवक्ता, ठूलोभार्खु, रसुवा


कसले सुनिदेला यिनका पीडा

हिमाल (९ भदौ) मा प्रकाशित झपा, बिर्तामोडका बाबुआमा गुमाएका तीन बालिका निशा, नीता र उमा तथा अन्य दुई बालक उज्ज्वल र उत्सवको पीडा सम्बन्धी ‘सहारा खोज्दै बालबालिका’ समाचार पढेपछि आँखा रसाएका छन् । अभिभावक गुमाएर पीडामा रहेका यी बालबालिकाको सरकारले उचित संरक्षण र रेखदेख गर्नुपर्छ । जसले गर्दा भोलिका दिनमा उनीहरू कुलतमा फस्न नपाउन् ।

कृष्णकुमार काप्री, नयाँबजार, काठमाडौ

comments powered by Disqus

रमझम