२३ भदौ २०७० | 8 September 2013

‘राजनीतिमा टिक्न सक्छु’

Share:
  
नेपाली कांग्रेस प्रवेश गरेका पूर्व अर्थसचिव रामेश्वर खनाल भन्छन्, ‘संसद् बाहेक ठूलो ठाउँमा पुग्ने कल्पना गरेको छैन ।’

देबकी विष्ट
प्रशासन क्षेत्रको पृष्ठभूमि भएर पनि राजनीतिमा किन प्रवेश गर्नुभएको ?

संविधान बनेको भए राजनीतिमा आउँदिनथें । राजनीतिक र आर्थिक अस्थिरता रहेको यो वेला आर्थिक मुद्दालाई प्राथमिकता, विकासमा ध्यान नदिए देश गम्भीर स्थितिमा पुग्छ । देशको आर्थिक उन्नतिमा योगदान दिन सकिन्छ भनेर राजनीतिमा आएको हुँ ।

स्वतन्त्र रहेर वा अरु कुनै क्षेत्रबाट योगदान दिन सकिंदैनथ्यो र ?

देश विकासका लागि नीतिको निर्माण गर्नुपर्छ । नीति बनाउने ठाउँमा नपुगे नीति निर्माणमा योगदान पु¥याउन सकिंदैन । दलको आधार हुँदा अरु प्रभावकारी रुपमा काम गर्न सकिन्छ ।

तलब पाउने, खतरारहित क्षेत्रको तपाईं तलब नपाइने, धैर्य आवश्यक क्षेत्रमा टिक्न सक्नुहोला ?

मेरो पारिवारिक दायित्व छैन । बुबाआमा हुनुहुन्न, एक्ली छोरी आफैं काम गर्छिन् । श्रीमतीको पनि पेशा छ । मलाई निवृत्तिभरणले पुग्छ । त्यसैले राजनीति गर्न सक्छु भनेरै आएको हुँ ।

राजनीतिक क्षेत्रमा लामो अनुभव भएका हुँदाहुँदै तपाईं पार्टीमा निर्णायक ठाउँमा पुग्न सक्नुहोला र ?

मैले अरु स्थानको परिकल्पना गरेको छैन । नीति निर्माण गर्ने संसद्सम्म पुग्न सके योगदान दिनसक्छु भन्ने विश्वास छ ।

सचिव छोडेर गुप्तवास बसेको, प्रधानमन्त्रीको सल्लाहकारबाट राजीनामा नगरी निष्क्रिय रहेको आरोप तपाईंलाई लाग्छ । फेरि पनि गुप्तवास र निष्क्रिय नहुने के ग्यारेन्टी छ ?

राजनीतिमा धैर्य राखे असफल भइँदैन । मैले अर्थसचिवबाट इच्छाले होइन, छोड्ने परिस्थिति सिर्जना गरिएको हो । त्यो अवस्थामा कि मैले मन्त्रीलाई हटाउन सक्नुपथ्र्यो कि म हटनुपथ्र्यो । त्यसैले म हटें । पारिश्रमिक नलिने र मागेको वेला सल्लाह दिने गरी बाबुराम भट्टराईको सल्लाहकार बनेको हुँ । उनले नीतिगत सल्लाह माग्दा दिन्थें, उनले गरेका अरु निर्णयमा म उत्तरदायी छैन ।

comments powered by Disqus

रमझम