उत्खननमा घोर लापरबाही

Share:
  
- वसन्त महर्जन
पुरातात्विक उत्खननका लागि खनेको खाल्डो काम सकिएपछि पुर्नुपर्छ भन्ने हेक्का समेत नराख्नुले लापरबाहीको हद देखाएको छ।

वसन्त महर्जन
१२ वैशाख, २०७२ को महाभूकम्पमा भत्किएको माजुदेवल, वसन्तपुर ।
विश्वसम्पदा सूचीमा परेको हनुमानढोका दरबार परिसरस्थित माजुदेवलको पूर्वी मोहडाको पेटीमा खाल्डो देखिन्छ । २०७२ सालको महाभूकम्पपछि देवलको भित्री भागको अवस्था बुझन पुरातत्व विभाग र बेलायतको डु¥हाम विश्वविद्यालयको संयुक्त टोलीले खनेको खाल्डो हो, यो । उत्खननको तेस्रो वर्षासम्ममा कति पानी भित्र पस्यो र देवलको जगमा कति असर पारिसक्यो भन्नेमा अहिलेसम्म कोही चिन्तित देखिएका छैनन् ।

उत्खनन र बिरामीको शल्यक्रिया फरक क्षेत्रको काम भए पनि प्रकृति र संवेदनशीलतामा धेरै समानता छ । शल्यक्रिया अघि बिरामीको ‘हिस्ट्री’ तयार पारेर राखे जस्तै पुरातात्विक उत्खननमा पनि सबै कुराको अभिलेख सुरक्षित राख्नुपर्छ । त्यसैको आधारमा प्रतिवेदन लेख्ने गरिन्छ । भविष्यमा काम गर्नेहरूलाई पनि त्यसले मार्गनिर्देश गर्छ । नेपालमा भने त्यस्तो अभिलेख राख्ने, प्रतिवेदन लेख्ने, त्यसको संरक्षण गर्ने र उत्खनन क्षेत्रको हेरचाहमा डरलाग्दो उदासीनता देख्न पाइन्छ ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पुरातात्विक उत्खननमा पनि त्यस्तै गरियो । विश्वसम्पदा सूचीमा परेको यो नेपाली सम्पदा स्थलमा पछिल्लो पटक सन् १९९३–९६ मा बृहत् उत्खनन भएको थियो । त्यो संयुक्त उत्खननपछि पुरातत्व विभाग, लुम्बिनी विकास कोष र जापानी बौद्ध संस्था जेबीएफका प्रतिनिधिहरूबाट छुट्टाछुट्टै प्रतिवेदन आउनुपथ्र्याे । तर, विभाग र कोषबाट उत्खननमा सहभागी पुरातत्वविद्हरूले प्रतिवेदन दिएनन् । त्यसअघि लुम्बिनीमा उत्खनन गरेका डा. फूहरर र देवला मित्राले आ–आफ्ना प्रतिवेदनलाई पुस्तकका रूपमा प्रकाशित गराएका थिए । लुम्बिनीमा काम गरेका नेपाली पुरातत्वविद् तारानन्द मिश्र, बाबुकृष्ण रिजाल आदिका ‘प्रतिवेदन’ पढ्न पुराना पत्रपत्रिका खोजेर पल्टाउनुपर्ने अवस्था छ ।

लुम्बिनी बाहेकका उत्खननहरूका नतिजा देखाउने लेख–रचना त पत्रपत्रिकामा पनि पाइँदैन, सम्बन्धित पुरातत्वविद्हरूले त्यस्तो ‘झ्ञ्झ्ट’ नै नगरेकाले । सम्बन्धित संस्थामा बुझइएको प्रतिवेदन पनि केही समयपछि ‘दुर्लभ’ हुने गरेको छ । पुरातत्व विभागले हरेक वर्ष अध्ययन–अनुसन्धानका लागि विभिन्न ठाउँमा उत्खनन लगायतका कार्यक्रम संचालन गर्दै आएको छ । त्यस्ता कार्यक्रमका नतिजाहरू विभागकै जर्नल प्राचीन नेपाल मा निश्चित समयभित्र अनिवार्य रूपमा प्रकाशित गर्ने व्यवस्था हुनुपर्छ ।

नेपाली जनमानस र बौद्धिक वर्ग पुरातात्विक विषयवस्तुमा जागरुक देखिए पनि अध्ययनका लागि गरिएका उत्खनन सम्बन्धी समाचारबाटै चित्त बुझएर बस्ने प्रवृत्ति छ । फिल्डमा खटिएका उत्खननकर्ताको प्राविधिक भाषालाई संचारकर्मीले टिप्न नसक्दाको समस्या एक ठाउँमा हुन्छ भने अर्कोतिर असम्बन्धित क्षेत्रको व्यक्तिले त्यसैलाई व्याख्या विश्लेषण गर्दा हुने ‘अनर्थ’ कहिलेकाहीं ‘आतंक’ को तहमा पुग्छ । यस्ता गल्तीलाई सामान्य ठानेर बस्नु भनेको पुरातात्विक विषयवस्तुमा जागरुक र संवेदनशील हुनु होइन ।

पुरातत्व विशुद्ध विज्ञान भएकोले यसमा भावना, विश्वास वा आग्रह–पूर्वाग्रहले कुनै ठाउँ पाउँदैन । तर, नेपालमा कुनै पुरानो चिजवस्तु भेटिनासाथ त्यसको कथा बनाइहाल्ने, कुनै पौराणिक प्रसंगसँग जोडेर प्रचारप्रसार गर्ने प्रवृत्ति छ । त्यसमाथि त्यस्तो कथालाई पुष्टि गरिदिने सरकारी निकाय पुरातत्व विभाग हो भन्ने भ्रम पाइन्छ । त्यसक्रममा राजनीतिक कार्यकर्ता र सामाजिक संघ–संस्थाहरूका प्रतिनिधिदेखि स्थानीयवासीसम्म उत्खननका लागि दबाब दिने, बजेट राख्न माग गर्ने लगायतका कार्यमा सक्रिय हुन्छन् । पुरातत्व विभागबाट खटिएर जाने पुरातत्वविद्हरू त्यस्ता दबाबबाट प्रभावित हुने गरेका छन् । पाण्डवहरू गुप्तवास बसेको विराट राज्य यही हो भनी नामकरण गरिएको विराटनगर र कीचक बध भन्ने ठाउँ यसका उदाहरण हुन् । भीमले कीचक मारेको भनी प्रचारमा ल्याइएको ठाउँमा पटक–पटक उत्खनन भइसकेको छ । विभागले ‘महाभारतकालीन’ भनी घोषणा नगर्दासम्म कीचक बधमा उत्खनन गराइरहने मनसाय देखिन्छ । पुरातत्व विषयमा असम्बन्धित पक्षको यस्तो दबाब वा हस्तक्षेपले समय, अर्थ र श्रमको नोक्सान मात्र गरिरहेको छ ।

नेपालमा शिक्षा र जीवनको तादात्म्यता नभएकै हो । फलाना देवताको मूर्तिले दूध खायो भनी फैलिने हल्लाको पछि लाग्नेमा विज्ञानका शिक्षक र विद्यार्थी पनि भेटिन्छन् । पुरातत्व विज्ञानमा करिअर बनाएका, यसैमा जीवन अर्पेकाहरू पनि अन्धविश्वासमा रुमल्लिंदा आनन्दित हुन्छन् । त्यस्ता ‘पुरातत्वविद्’ हरूले आफ्नो अन्धविश्वास, विश्वास वा आस्थालाई व्यक्तिगत स्तरमा सीमित राख्न नसक्दाको परिणाम हुन्छ– तात्विक तथ्यमा तोडमोड, अपव्याख्या र ऐतिहासिक कुरालाई पनि पौराणिक वा तिलस्मी बनाइदिने कृत्य । यो प्रवृत्तिले पुरातत्व विज्ञानको खिल्ली त उडाउँछ नै, उत्खननका लागि खनेको खाल्डो काम सकिएपछि पुर्नुपर्छ भन्ने हेक्का समेत नराख्ने बनाउँछ ।

comments powered by Disqus

रमझम