इतिहासको विनिर्माण

Share:
  
- रविन गिरी

‘शरणको मरण गर्नुहुँदैन भन्ने राजा को हुन् ? सबभन्दा पहिले झ्यालमा ऐना राख्ने राजा को हुन् ?’

‘सामान्य ज्ञान’ का पुस्तकहरूमा सोधिएका यी प्रश्नमा एउटै उत्तर भेटिन्छ– रणजित मल्ल । तर रणहार भन्छ, ऐनामा आफ्नो अनुहार हेर्ने अवसर रणजितका बुबा भूपतिन्द्रले नै पाइसकेका थिए । भूपतिन्द्रलाई कुनै पादरीले ऐना चढाएका थिए ।

बालकैमा ऐनामा आफ्नो रुप नियाल्ने अवसर पाए पनि रणजितले नियति बदल्न सकेनन् । ५० वर्षसम्म एकछत्र शासन गरेका उनी एकाएक बन्दी बन्न पुगे । त्यो क्षणमा उनमा न बदलाको व्यग्रता थियो न त कुनै लालसा । राजकाजबाट उनी विरक्तिइसकेका थिए । इतिहासकार योगेश राजले यिनै राजा रणजितको कथामा चाखलाग्दो उपन्यास उनेका छन्– रणहार ।

इतिहासकारहरूले लेखेका छन्– भक्तपुरका राजा रणजितले गोर्खाली राजा पृथ्वीनारायण शाहको आक्रमण झेलिरहेका कान्तिपुरका जयप्रकाश मल्ल र ललितपुरका तेजनरसिंह मल्ललाई शरण दिनुपरेको थियो । त्यस क्रममा तिनै जना आ–आफ्नो राज्यका अन्तिम मल्ल राजा हुन पुगे ।

पुस्तक रणहार (ऐतिहासिक आख्यान)

लेखक योगेश राज

प्रकाशक पब्लिकेसन नेपालय

पृष्ठ १३९+२५

मूल्य रु.३२५

पृथ्वीनारायणले कान्तिपुरे र ललितपुरे राजालाई बुझाए भक्तपुरमा आक्रमण नगर्ने सन्देश ‘मीतबाबु’ रणजितलाई पठाएका थिए । तर, ‘शरणको मरण नगर्ने’ अडानले उनलाई गोर्खाली कहर खेप्न बाध्य तुल्यायो । रक्तरञ्जित रात सकिएपछि तीनै जना मल्ल राजाले आत्मसमर्पण गरे ।

तुँथिचोकको सँझ्याः कोठामा मीतछोरा पश्चिम र मीतबाबु पूर्वाभिमुख भएर बसे । पृथ्वीनारायणले मनसुवा सोध्दा रणजितले पचहत्तरको भएँ, ... मर्ने बेला मलाई किन राज्य चाहियो र भन्दै चूप लागे । उपन्यासको वर्णन अनुसार, ...गोर्खाली राजाले अट्को थापे, तीन शहर बाहेक जे माग्नुस्, म दिउँला । रणजितले खास्टो थापेर भने, लौ, त्यसो भए वचन दिनुस् । गोर्खाली राजाले खास्टोमा तीनपल्ट हत्केला पसाएर वचन दिए । रणजितले काशी जान्छु भने ।

त्यसपछि रणजित, अवधूतसिं नामका छोरा र नाम नखुलेकी कान्छी रानी काशी पठाइए । श्रीकृष्ण आचार्य सम्पादित ‘नेपालका पछिल्ला मल्ल राजाहरूको आपसी अन्तरकलह (खण्ड २)’ पुस्तक अनुसार, वि.सं. १८२६ माघेसंक्रान्तिको अघिल्लो दिन उनीहरूले भक्तपुर छाडेका थिए ।

‘...रणजित काशीमा डेढ वर्ष बाँचे भनिन्छ’, उपसंहारमा आख्यानकार योगेश राज लेख्छन् ।

नेपाली साहित्यमा ऐतिहासिक आख्यान स्थापित विधा हो । यो विधामा डायमनशमशेरका वसन्ती र सेतोबाघ चर्चित छन् । त्यसअघिका टुकराज पद्मराज मिश्रका रजबन्धकी र रामकृष्ण कुँवर लाई पनि ऐतिहासिक आख्यान मानेर चर्चा गरिन्छ । त्यसयताका ऐतिहासिक आख्यानमा राजपरिवारका वीरता र सौर्य गाथा बढी लेखिए । ‘ऐतिहासिक’ भन्दै राजनीतिक आख्यान पनि लेखिए । तर, मध्यकालीन इतिहासका अध्येता योगेश राजको यो आख्यानमा त्यस कालका जनताका सुखदुःखको पनि चर्चा छ । दुःखी भारो तिनैमध्ये एक हुन्, जसको आँशुमा आजको न्यातपोल उभिएको छ ।

उपन्यास बताउँछ– ‘पत्राङ्क ५७ पुग्दा उनले लेखे, संवत् ८२४ असार शुक्ल सप्तमी हस्ता नक्षत्र परिघ योग बुधबार, यो किताबको वनकाण्ड सार्न सिध्याएँ । दुःखीको लेखाइ हो । यो वनकाण्ड लेख्ता दुःखीको मनमा महादुःख परेर दुःख बिसाउन लेखे । के दुःख भने, बुबाबाजेले सुम्पेको तःमाह्री टोलको पुल नजिकको घर श्री २ भूपतिन्द्र मल्ल महाराजले ङातापोल बनाउन लिनुभयो । दुःखीलाई भुलाछें शिवबहाल नजिकको घर दिनुभयो । त्यही घरमा दुःखी जहान सुखुमयी, छोरा इन्द्रसिं, छोरीहरू महेश्वरी, चण्डेश्वरी, सिद्धेश्वरी, आमा वसुधरा र बुबा गया यति जना बसेका छौं । मन बेठाउँमा परेको छ । त्यो दुःख बिसाउन रामायणको वनकाण्ड लेखें र श्रीरामको नाम लिंदैछु ।’

मल्ल, शाह, राणाकाल सकिएर मुलुकमा गणतन्त्र आइसकेको छ, तर सरकार कहिले सडक विस्तार त कहिले अन्य आयोजनाका नाममा सर्वसाधारणको जग्गा अधिग्रहण गरिरहेकै छ । अहिलेका शासकहरूले त ‘दुःखी भारो’ हरूको न्याय माग्ने थलो माइतीघरस्थित अष्टमण्डल पनि खोस्ने निर्णय गरेको छ ।

उपन्यासले धर्म–संस्कृतिसँग जोडिएका जनताको दैनन्दिन, जातिविशेषका पेशागत दक्षता, मनोदशा, बजार विनियम लगायतका अवस्था दर्शाउँछ । उबेलाको भक्तपुर दरबारको उनान्सय चोकको वर्णन चकित पार्ने खालको छ । विवरणसँगै दृश्य वर्णन र पात्रको मनोभाव चित्रण पनि गजबको छ । ‘मान्छेले बोलेका आधा अधुरा शब्द र वाक्यांश पनि अन्तरिक्षमा सधैंका लागि झुण्डिँदा हुन्’, ‘बिहानको सूर्यलाई रातभरिको माया थाहा थिएन’, ‘जीवनै ज्वर हो, जुजु’ यस्ता दर्जनौं वाक्यांश पढ्दा शब्दहरूको जीवन, शक्ति, सुगन्ध र स्वाद थाहा हुन्छ । तर, यस्तो विशेषतासँगै कतै एउटै शब्द र वाक्य दोहोरिएका पनि छन् । सहसा, अस्पृश्य जस्ता शब्दमा लेखकको अधिक मोह देखिन्छ । पाठकले नबुझ्लान्, झिंजो मान्लान् भन्ने चिन्ता उपन्यासकारले गरेका छैनन् ।

लेखकले पुस्तक ‘शुद्ध इतिहास नभई इतिहासमा आधारित पुनः रचना मात्र भएको, इतिहासनिष्ठ भने हुन खोजेको’, बताएका छन्, तर यसले उपन्यासभित्रै अलपत्र र अस्पष्ट केही पात्र र घटनाबारेको जिज्ञासा समाधान गर्दैन ।

जस्तो, नगदेश जाँदा युवराज रणजितलाई कसले, किन अपहरण गरेको थियो ? बालक युवराजको नगदेश भ्रमणलाई सुरक्षित पार्न चुकेकोमा चुक्चुकाएका भैरव मल्ल जोशीको मन बेतियाबाट युवराज्ञी लिएर फर्केपछि पनि किन शान्त हुँदैन ? कान्तिपुरका काजी झगल ठाकुरको फौजले वाभू जिते कि हारे ? इष्ट इन्डिया कम्पनीका चर्तिकलाका खबर किन फ्वसा थियो ? राजा भइसकेपछिका पछिल्ला ५० वर्ष भक्तपुरको राजकाज कसरी चल्यो ?

आख्यान पढिरहेका पाठक लेखकको गैरआख्यान शैलीको अकस्मातको प्रवेशले बेस्वाद बनाउँछ । ‘... त्योभन्दा ठीक आठ वर्षअघि भएको एउटा घटनाबारे उल्लेख गर्नु ठीक हुनेछ’, ...‘ एवम् क्रमले भन्ने वाक्यांश प्रयोग गरेर यो अध्याय यही टुङ्ग्याउन सकिन्थ्यो’ जस्ता वाक्यले लेखकको नियतपूर्वक नै यति मात्र तथ्य दिएका हुन् वा अहिलेसम्म प्रमाणित तथ्यलाई मात्र ठाउँ दिएका हुन् भन्ने आशंका उब्जाएको छ । तर पनि लेखकले अपेक्षा गरेझैं यो उपन्यासले थप ऐतिहासिक सामग्री पढ्ने जाँगर भने जगाउँछ ।

इतिहासलाई आधार बनाएर लेखिने आख्यानका अनेक जटिलता छन्, जसलाई पर्गेल्न सघन अनुसन्धानले मात्र पुग्दैन, उत्तिकै शिल्प पनि चाहिन्छ । पाठकलाई बाँधिराख्न ऐतिहासिक तथ्य विश्लेषणमा लेखक जति हावी हुन खोज्छन्, कृति उत्ति नै कमजोर बन्ने जोखिम हुन्छ । ऐतिहासिक भनिएका नेपाली आख्यानको समस्या नै यही हो ।

रणहार पनि यस्तो अतिशयबाट मुक्त छैन । यति हुँदाहुँदै पनि यो कृति नेपाली ऐतिहासिक आख्यानको मानक भने बनेको छ । यसले ऐतिहासिक आख्यान लेखनमा प्रस्तुतिगत अनुशासन र काल्पनिकीको मात्रा निर्धारण गरेको छ ।

२०६१ सालको बहाः जर्नलमा योगेश राज स्वयंले लेखेका छन्– ‘विजेताको सर्वत्र र कालान्तरसम्म पनि प्रशंसा हुन्छ । हरूवाले हार्नु परेको विषयलाई लिएर हजार कारण खोजिन्छन् । मध्यकालमा भावीलाई विगतकै (कहिलेकाहीं जन्मपूर्वको) कर्मको सुनिश्चित परिणाम मान्ने मानसिकता थियो । जीत र हारको दुवै कारण पूर्वघटनामा सम्मिलित रहन्छ ।

इतिहासकारको काम तिनै पूर्वघटना केलाउने र कसरी जित र हार दुवैलाई व्याख्या गर्ने भन्नेमा सीमित थियो । आज पनि हामी त्यही गर्छौं । तर, जुन बेला हामी प्रत्यक्ष र स्वाभाविक लाग्ने कारण फेला पार्न सक्तैनौं, त्यतिबेला भने अलौकिक र विशिष्ट आख्यान बुन्न थाल्छौं । ...पृथ्वीनारायण शाहले नेपाल खाल्डो किन जित्न सके भन्ने तथ्यलाई व्याख्या गर्न त्यस्तै विविध आख्यानको रचना भएको देखिन्छ ।’

आज लोकतान्त्रिक गणतन्त्रमा राष्ट्रवादको नयाँ परिभाषा दिने क्रममा पृथ्वीनारायणको महिमामण्डन गर्ने क्रम बढेको छ । के स्वयं आख्यानकार चाहिं यो आरोपबाट मुक्त हुन सकेका छन् त ? यसको निर्मम समीक्षा हुनै बाँकी छ । तर अहिले यत्तिचाहिं भन्न सकिन्छ कि रणहार ले मल्लकाल विघटनको फरक भाष्य निर्माणको इमानदार प्रयास गरेको छ । यस्तो भाष्य जसमा, न रणजितप्रति सहानुभूति देखिन्छ न पृथ्वीनारायणको स्तुति ।


पुस्तक ऋतु फेरिंदै जान्छ (कथासङ्ग्रह)

लेखक इन्द्रकुमार श्रेष्ठ सरित्

प्रकाशक रत्न पुस्तक भण्डार

पृष्ठ २००+२८,

मूल्य रु.२९५

झण्डै चार दशकदेखि साहित्यमा सक्रिय इन्द्रकुमार श्रेष्ठ सरित्को यो पाँचौं कथा सङ्ग्रह हो । कविता, उपन्यास र बालसाहित्यमा पनि कलम चलाएका उनको प्रस्तुत कृतिमा धेरै छापिएका र केही नयाँ गरी २५ वटा कथा छन् । भूमिकामा प्रा.डा. गोपिन्द्र पौडेलले ‘संक्रमित नेपाली समाजका कथा’ भने पनि सङ्ग्रहमा मुलुकको पछिल्लो एक दशक लामो राजनीतिक संक्रमणभन्दा आम जीवनका भोगाइ छन् । प्रकाशक खोज्दाका लेखकको अनुभव रोचक लाग्छ ।

पुस्तक देशको खोजी (कथासङ्ग्रह)

लेखक प्रदीप नेपाल

प्रकाशक साझा प्रकाशन

पृष्ठ १३०+१४,

मूल्य रु.२३५

लामो समयको राजनीतिबाट निष्क्रिय देखिए पनि प्रदीप नेपालको सिर्जनाले भने राजनीति छाडेका छैनन् । नेपालको पछिल्लो कथासङ्ग्रह देशको खोजी का १४ कथामध्ये अधिकांश राजनीतिक भाषा बोल्छन्, बहुआयाम उधिन्ने प्रयत्न गर्छन् । पञ्चायतकालमा सञ्जय थापाका नामले परिचित नेपालले शिल्पगत दृष्टिले फेरि पनि आफूलाई सक्षम स्रष्टा सावित गरेका छन् । पुछारमा रहेको उनको अन्तर्वार्ताले लेखकको वामपन्थी राजनीतिक दर्शन, प्रवृत्ति र साहित्यको सम्बन्ध प्रष्ट्याउन मद्दत गर्छ ।

पुस्तक अनेक घुम्ती (कविता सङ्ग्रह)

लेखक खुमादेवी पाण्डे

प्रकाशकः ज्ञानेन्द्र पाण्डे

पृष्ठ ८०+२०,

मूल्य रु.१५०

साहित्यकार विद्वानको लेखन देख्छु अहिले ।

पढ्न लेख्न पाको भए के के लेख्थें मैले ।।

(पढ्न नपाउँदाको दुःख)

६७ वर्षीया खुमादेवी पाण्डेले छोराछोरी र नातिनातिनासँग अक्षर छिचोल्न सिकिन् । र, आज यत्तिका कविता कोर्न सक्ने भइन् । पाण्डेका ४१ वटा लोक छन्द शैली पछ्याएका कविता पढ्दा उनमा कविताप्रतिको गहिरो मोह प्रकट हुन्छ । खुमादेवी जस्ता पात्रको पहिचान र प्रेरणाले नेपाली लोक जीवन, भाका र शब्दले नयाँ जीवन पाउने आशा गर्न सकिन्छ ।

comments powered by Disqus

रमझम