युवा खेलाडीमय

Share:
  
- ज्ञानेन्द्र आचार्य
युवा र अनुभवी खेलाडीको सम्मिश्रणलाई नै राम्रो फूटबल टीम मानिन्छ, जारी विश्वकपमा ब्राजिल र उरुग्वे त्यसका उदाहरण हुन्।

एम्बाप्पे ।
फूटबल कलात्मक कुशलतासँगै शारीरिक स्फूर्ति पनि चाहिने खेल हो । त्यसैले फूटबल टीममा युवा खेलाडी हुनु महत्वपूर्ण मानिन्छ ।

उमेरले ३० छोएपछि फूटबल खेलाडीमा २०–२२ वर्ष छँदाको जस्तो शारीरिक स्फूर्ति रहँदैन । पाका उमेरका खेलाडीले बढी थकान महसूस गर्छन्, चोटपटक लागेपछि निको हुन पनि अलि बढी समय लाग्छ ।

जारी विश्वकपमा राम्रो प्रदर्शन गरेका हरेक टीमका पछाडि युवा र जोसिला खेलाडीको भूमिका छ, जस्तोः फ्रान्सका लागि किलियन एम्बाप्पे । प्रि–क्वार्टर फाइनलमा अर्जेन्टिना विरुद्ध एम्बाप्पेको प्रदर्शन साँच्चै हेर्न लायक रह्यो । खेलाडीको औसत उमेर ३० वर्ष रहेको अर्जेन्टिनालाई एम्बाप्पेको गतिशीलता सामना गर्न गाह्रो भएको थियो । तीव्र गतिसँगै परिपक्व खेल उनको अर्को विशेषता हो, जसको प्रशंसा अहिले फूटबलका हस्तीहरूले नै गरिरहेका छन् । पेलेपछि विश्वकपको एकै खेलमा दुई गोल गर्ने टिनएजर एम्बाप्पे नै हुन् ।

एक वर्षअघि मात्रै राष्ट्रिय टीममा डेब्यु गरेका एम्बाप्पेको व्यावसायिक फूटबलमा भने त्यसअघि नै प्रवेश भइसकेको थियो । १७ वर्षको उमेरमै उनी मोनाकोको पहिलो रोजाइका स्ट्राइकर भइसकेका थिए । २०१६/१७ को सिजनमा मोनाकोका लागि उनले २६ गोल गरेपछि अरु ठूला क्लबका लागि पनि उनी आकर्षक खेलाडी हुन पुगे । अहिले उनी फ्रेन्च लिगकै ठूलो क्लब पीएसजीमा छन् । र, विश्वकपपछि पीएसजीले उनीसँग स्थायी सम्झौता गर्न मोनाकोलाई १८० मिलियन युरो तिर्नेछ ।

जारी विश्वकपमा फ्रान्स कम उमेरका खेलाडी रहेको दोस्रो टीम पनि हो, जसको औसत उमेर २६ वर्ष छ । उमेर कम भए पनि व्यावसायिक फूटबलमा यथेष्ट अनुभव बटुलेका कारण फ्रान्सलाई खेल विश्लेषकहरूले बलियो टीम मानेका हुन् । एम्बाप्पेसँगै फ्रान्सका युवा खेलाडीहरू पउल पोग्बा, ग्रिजम्यान र बेन्जामिन पाभार्डले नै अर्जेन्टिना विरुद्ध जितको आधार तयार पारेका हुन् ।

फ्रान्स जस्तै बेल्जियम पनि युवा खेलाडीले भरिएको टीम हो । बेल्जियमका मुख्य खेलाडी मानिएका एडिन हजार्ड र केभिन डी ब्रुयने अहिले २७ वर्षका छन् । कम्तीमा अझै दुई वर्ष उनीहरू करिअरकै उच्च फर्ममा रहन सक्छन् । यी दुईसँगै व्यावसायिक फूटबलमा जमेका रोमेलु लुकाकु र थोमस मुनियर जस्ता अब्बल र युवा खेलाडीको सम्मिश्रणको फाइदा बेल्जियमले उठाएको हो ।

युवा खेलाडीको जमात हुँदैमा त्यो टीमले अब्बल प्रदर्शन गर्छ भन्ने चाहिं नहुन सक्छ । जारी विश्वकपमा स्वीडेन, क्रोएसिया लगायत टीमले अब्बल प्रदर्शन गर्नुको श्रेय तिनका अनुभवी खेलाडीलाई जान्छ । जोश र स्फूर्ति युवा खेलाडीमा बढी भए पनि पाका खेलाडीको अनुभव र धैर्य उत्तिकै महत्वपूर्ण हुन्छ । युवा र अनुभवी खेलाडीको सम्मिश्रण भएका ब्राजिल र उरुग्वेले जारी विश्वकपमा त्यही सम्मिश्रणबाट आफूलाई अब्बल सावित गरेका छन् ।

रुसलाई यसपटक कमजोर टोलीका रुपमा हेरिएको थियो तर, उसले निकालेको नतिजा धेरैलाई आश्चर्यचकित पार्ने खालको छ । त्यसमा पनि अझ स्पेन विरुद्धको जित विशेष छ । रुसको अब्बल प्रदर्शनमा डेनिस चेरिसेभ र स्ट्राइकर आर्तेम जुबाको नाम अगाडि आउँछ । तर, रुसलाई कसिलो बनाउन मिडफिल्डमा एलेक्जेन्डर गोलोभिनले निर्वाह गरेको भूमिकालाई नकार्न सकिंदैन । २२ वर्षीय गोलोभिनले रुसको हरेक जितमा पर्दा पछाडिका नायकको भूमिका निभाएका छन् । टीमका लागि गोलको मौका सिर्जना गर्नुका साथै विपक्षीको पकडबाट बल फुत्काएर डिफेन्सलाई सघाउने उनको भूमिका गजबकै छ । साउदी अरेबिया विरुद्धको विश्वकपको पहिलो खेलबाटै धेरैको मन जितेका गोलोभिनलाई अहिले आर्सनल र चेल्सी जस्ता ठूला क्लबले भिœयाउन चाहेको चर्चा चलेको छ ।

सबैको आशा सिनियर खेलाडीमा हुँदा जुनियर खेलाडीले कुनै तनाव विना खेल्ने र कौशल देखाउने मौका पाउँछन्, जुन टीमका लागि निकै फाइदाजनक हुन्छ ।

जारी विश्वकपमा इङ्गलिस खेलाडीसँग अन्तर्राष्ट्रिय प्रतियोगिताको कमै अनुभव छ । विश्वकपअघि इङ्गल्यान्डका खेलाडीसँग २० अन्तर्राष्ट्रिय खेलको औसत अनुभव थियो । त्यही कारण पनि यसअघिका प्रतियोगितामा जस्तै यसपटक इङ्गल्यान्डका खेलाडीलाई त्यति दबाब थिएन । र, दबाबमुक्त भएर खेल्दा इङ्गल्यान्डका खेलाडीहरू यस विश्वकपमा जम्न सके ।

युवा खेलाडीका लागि विश्वकप अनुभव बटुल्ने र व्यावसायिक फूटबलमा ठूला क्लबको ध्यान तान्ने राम्रो अवसर हो । अर्कोतर्फ, प्रशिक्षकलाई पनि युवा खेलाडीको अनुभवलाई आधार बनाएर भविष्यमा अझ बलियो टीम तयार पार्ने मौका यही हो । यो विश्वकपमा जस्तोसुकै नतिजा आए पनि युवा खेलाडीको बाहुल्य रहेका फ्रान्स, ब्राजिल, बेल्जियम र इङ्गल्यान्ड लगायत टीम यसपछिका प्रतियोगितामा अझ सशक्त भएर आउन सक्छन् । किनभने त्यस बेला यी टीमका कुशल युवा खेलाडीले अन्तर्राष्ट्रिय खेलको पर्याप्त अनुभव बटुलिसकेका हुनेछन् ।


स्पेन

दुई वर्षदेखि स्पेनको प्रशिक्षक रहेका जुलेन लोपेटेगुईले सन् २०१० मा विश्वकप जित्दाको ‘टिकी–टाका’ शैलीमा नै टीमलाई प्रशिक्षित गरे । विश्वकप छनोटमा अपराजित रहनुले पनि यो शैली उनीहरूका लागि उपयुक्त देखिन्छ । तर, यो विश्वकपमा आफ्नो पहिलो खेलको दुई दिनअघि मात्रै प्रशिक्षकलाई बर्खास्त गर्नुको असर स्पेनको प्रि–क्वार्टर फाइनल खेलमा देखियो ।

आयोजक रुस विरुद्ध उसले यो शैलीको सही प्रयोग गर्न सकेन । शायद, अन्तरिम प्रशिक्षक फर्नान्डो हिएरोलाई यस शैलीबारे त्यति ज्ञान थिएन, जति लोपेटेगुईलाई थियो । खेल अवधिभर स्पेनले एक हजारभन्दा बढी पास खेल्यो, तीमध्ये अधिकांश रुसको डिफेन्स लाइनभन्दा अघि खेलेको थियो । निकै अनुशासित भएर खेलेका रुसी खेलाडीको डिफेन्सलाइन भित्रै छोटो पास खेल्न नसक्नु स्पेनको मुख्य कमजोरी देखियो । यस कामका लागि सबैभन्दा पोख्त मानिने इनिएस्टा शुरुआती ११ मा थिएनन् । उनको ठाउँमा मार्को एसेन्सियो खेलेका थिए, जो बल छलाउँदै विपक्षीको डिफेन्स चिर्नभन्दा पनि विंगबाट भित्र छिर्दै मौका मिलेको खण्डमा पोष्टमा प्रहार गर्न माहिर छन् । खेल अवधिभर स्पेनको पास रुसी डिफेन्स चिर्ने खालको देखिएन । यहाँसम्म कि स्पेनले गरेको गोल पनि रुसको आत्मघाती गोलका रुपमा उपहार पाएको थियो ।

खेल अवधिभर स्पेनको गल्तीको प्रतीक्षा गरेको रुसले पनि जेरार्ड पिकेको ह्यान्डमा पाएको पेनाल्टीलाई खेर फालेन ।

छोटो पासबाट गोलको मौका सिर्जना नहुँदा दुई स्ट्राइकर खेलाएर क्रस निकाल्ने प्रयास स्पेनले गर्नै सकेन । अझ एयर बल र पेनाल्टीमा समेत राम्रो मानिने डियगो कोष्टलाई सब्स्टिच्युट गर्नु स्पेनका लागि घातक भइदियो ।

अर्जेन्टिना

अर्जेन्टिनाले दुई वर्षयता राम्रो प्रदर्शन गर्न सकेको थिएन । फ्रान्स विरुद्ध चार गोल खाँदाको दोष अर्जेन्टिनाको डिफेन्सलाई लगाइए पनि उनीहरूको मिडफिल्ड सबैभन्दा कमजोर छ । समूह चरणमा नाइजेरियाविरुद्धको खेलमा एभर बनेगा बाहेक अन्य खेलमा अर्जेन्टिनाका मिडफिल्डर चलेको देखिएन । मिडफिल्ड नचल्दा त्यसको असर फरवार्ड र डिफेन्स दुवैमा पर्छ ।

खेलमा बल पोजिसन अर्जेन्टिनाकै बढी हुँदा फ्रान्सले काउन्टर अट्याकको रणनीति अपनाएको थियो । युवा र तीव्र गतिका फ्रान्सका खेलाडीलाई रोक्न अर्जेन्टिनाको मिडफिल्ड र डिफेन्स दुवैलाई गाह्रो भएको देखिन्थ्यो ।

निकै आश गरिएका प्रशिक्षक जोर्गे साम्पावलीले त्यस अनुरुप टीम तयार पार्न सकेनन् । विश्वकपका हरेक खेलमा उनले फरक संरचनामा टीम उतारे । मिडफिल्डबाट पर्याप्त मात्रामा बल नपाउँदा मेसी पनि निकै तल झरेर खेल्नुपरेको थियो । फ्रान्स विरुद्धको खेलमा राइट विङको साटो फल्स नाइन पोजिसनबाट खेल्नुको कारण पनि मिडफिल्डलाई सघाउनु थियो । तर यस पोजिसनमा खेल्दा फ्रान्सको डिफेन्सिभ मिडफिल्डको घेरामा रहिरहन सक्ने खतरा हुन्थ्यो । यसैकारण मेसीले धेरै बल त पाएनन् नै, चारैतिरबाट घेरिएकाले पाएको मौकालाई पनि सदुपयोग गर्न सकेनन् ।

युवा खेलाडी पाउलो डिबाला र जियोभानी लो सेल्सोले पनि पर्याप्त मौका पाएनन् । हुन त डीबाला मेसीकै पोजिसनमा खेल्छन् । तर, मेसीलाई फल्स नाइनमा खेलाउँदा डीबालालाई राइट विङको जिम्मा दिन सकिन्थ्यो । तर, यी दुई खेलाडी एकैपटक खेलेको अनुभव नहुनु पनि अर्जेन्टिनालाई भारी परेको हो । अघिल्लो विश्वकपमा उच्च प्रदर्शन गरेका मास्केरानो यसपटक लयमा देखिएनन् । व्यावसायिक फूटबलमा आधा सिजन बार्सिलोनाबाट पर्याप्त मौका नपाउनुको असर उनको खेलमा देखिएको हुन सक्छ ।

comments powered by Disqus

रमझम