समर्पित संगीता

Share:
  
मञ्चमा नाटक देखाउने संगीताको आफ्नै जीवन पनि नाटक भन्दा कम छैन।

बिक्रम राई
संगीता उराँव पहिलो पटक थिएटरभित्र पुग्दा चकित भइन् । सडकमा नाटक देखाउँथिन् उनी, बटुवाहरू एकछिन रोकिएर उनको ‘तमासा’ हेर्थे । त्यसबेला नाटक मञ्चन गर्ने थिएटरहरू हुन्छन् भन्नेसम्म थाहा थिएन उनलाई ।

२२ वर्षीया संगीता अहिले तराईको सीमान्तकृत उराँव समुदायकी पहिलो व्यावसायिक अभिनेत्री भइसकेकी छन् । उनको गाउँ सुनसरीको कुछितामा पढेलेखेका मानिस औंलामा गन्न सकिने छन्, घर छोडेर टाढा जाने महिला त छैनन् भन्दा पनि हुन्छ । उनी विस्तारै सही बेवास्तामा परेको समुदायको एउटा तप्का अब राष्ट्रिय रंगमञ्चमा गोचर हुँदैछ भन्ने उदाहरण बनेकी छन् ।

“सानैदेखि मलाई अभिनयमा रुचि थियो, घरमा थरीथरीको पहिरन गरेर अभिनय गर्थें” संगीता भन्छिन्, “शुरुमा बालक्लबमा शामेल भएँ त्यसपछि बालविवाह, दाइजो, सरसफाइ जस्ता विषयमा चेतनामूलक सडक नाटक गर्न थाल्यौं ।”

तीन वर्षअघि थिएटर तालिम दिन सुनसरी पुगेका शिल्पी थिएटरका निर्देशक घिमिरे युवराजले १८ वर्षीया संगीतामा सम्भावना देखे । उनले तत्कालै संगीतालाई काठमाडौं आएर तीन महीना अभिनय सिक्न प्रस्ताव गरे– छात्रवृत्तिमा ।

“शुरुमा त आमा–बुवालाई म काठमाडौं गएर कहाँ बसौंला, के खाउँला भन्ने चिन्ता लागेछ” उनी भन्छिन्, “साँच्चिकै कलाकार बन्छेस् त भन्नुहुन्थ्योे । नाटकप्रतिको मेरो लगाव बुझेकाले होला, उहाँहरूलाई मनाउन धेरै मिहिनेत गर्नुपरेन ।”

उनले पहिलोपटक शिल्पीमा आफ्नो गाउँको जीवन उधिनिन्ः कथा निर्माण गरिन्, पात्रहरूलाई जीवन्त तुल्याइन् र सामान्य घटनामा नाटकीय सम्भावना देख्न थालिन् ।

उनका प्रशिक्षक युवराज भन्छन्, “संगीताले उराँव र नेपाली भाषामा यादगार एकल प्रदर्शन गरिन्, जसमा उनी एक्लैले दश भिन्दाभिन्दै चरित्रको भूमिका निर्वाह गर्छिन् । गजब त के भने त्यो कथा गँगटोले भन्छ ।”

मञ्चमा उनको प्रवेश गँगटाको चालमा हुन्छ, उत्तानो फर्किएर चार हात–खुट्टा टेक्दै । सानी नानीले त्यो गँगटो घरमा ल्याएकी हुन्छे र उसैले सुनाउँछ कथाः कसरी जँड्याहा बाबु उसलाई अस्पताल लैजानुको सट्टा रक्सी धोकेर बस्छ, सौतेनी आमाले घरधन्दामा कति धेरै घोटाउँछिन्, छिमेकीको टेलिभिजन एक झल्को हेर्न ऊ कति उत्सुक छे ।

“सानोमा धान रोप्न खेतमा गएका बेला हामी गँगटा खोजेर ल्याउँथ्यौं, गँगटाको चटनी निकै मीठो लाग्थ्यो”, संगीता सम्झिन्छिन् । उनी भन्छिन्, “म आफैंले देखेका, भोगेका कथाहरू स्टेजमा ल्याउन चाहन्थें । नेपालका गाउँगाउँमा कथा छन्, तर ती कथाहरू स्टेजमा आउँदैनन् । यो अवस्था रहिरहन हुँदैन ।”

आमा बितेपछि निकै अप्ठ्यारो समय बिताएकी एक जना साथीको जीवनमा आधारित ३० मिनेटको एकल अभिनय शुरुमा उनलाई गाह्रो लागेको थियो । तर, शिल्पप्रति उनको समर्पण र अनुरागले त्यो अभिनय सर्वत्र प्रशंसित भयो । शिल्पीको मोरङ र झापा यात्राका बेला मञ्चन गरिएको त्यो नाटकमा उराँव समुदायको जीवनको सार प्रस्तुत गरेको भन्दै निकै सराहना भयो । विराटनगर मञ्चनका बेला नाटक हेरेका उनकी आमासहित सबै परिवार संगीताप्रति गर्व गरिरहेका थिए ।

शिल्पीमा काम र सिकाइ दुवै गरिरहेकी संगीता कलेज पनि जान थालेकी छन् । भन्छिन्, “मैले औपचारिक अध्ययन पनि अगाडि बढाइरहँदा घरबाट कुनै गुनासो आएको छैन ।” तर संगीताको पहिलो प्राथमिकता भने थिएटर नै हो ।

पछिल्लो तीन वर्षको अवधिमा ६ वटा नाटकमा सहभागी भइसकेकी उनी उराँव समुदायका अन्य युवाहरूमा प्रतिभा भए पनि अवसर नपाउँदा प्रस्फुटन हुन नसकेको बताउँछिन् । भन्छिन्, “हाम्रो समुदायका अरु कोही पनि अभिनयको क्षेत्रमा छैनन्, परिवारको विश्वास र सहयोगले म यहाँसम्म आइपुगें ।” समुदायका अरु धेरै युवाले अवसर पाए भने आफ्नो रोजाइका विविध क्षेत्रमा सफलता पाउने उनको निष्कर्ष छ ।

सेवा भट्टराई

comments powered by Disqus

रमझम