३१ असार - ५ साउन २०७५ | 15 - 21 July 2018

‘मनसुन सकिएपछि मुग्लिङ–नारायणगढ ३५ मिनेट’

Share:
  

वैशाख २०७२ देखि थालिएको मुग्लिङ–नारायणगढ (३६ किमि) सडक विस्तार तोकिएको समयमा सम्पन्न नहुँदा यात्रा सकसपूर्ण बनिरहेको छ। सडक आयोजना प्रमुख रोहितकुमार विसुराल काम सम्पन्न गर्न र पहिरो आउन नदिन उपचारात्मक उपाय अपनाइरहँदा जोखिम कम भइसकेको बताउँछन्।

यो सडकको अवस्था अहिले कस्तो छ ?

अहिले (२८ असारमा) नारायणगढबाट १७ किलोमिटर पूर्व गाईघाटबाहेक अरु ठाउँमा सवारी आवागमन सहज रुपमा भइरहेको छ । कालोपत्रे करीब–करीब सम्पन्न भइसकेको छ । तर, कमजोर भूबनोट भएको र पहिरो गइरहने यो ठाउँमा बर्खाका बेला सवारी चलाउँदा सावधान भने हुनैपर्छ ।

गाईघाटमा के भएको हो ?

त्यहाँ करीब ३० मिटर लम्बाइमा सडक चिरा परेको छ, त्यसैले सवारी आवागमन एकतर्फी बनाएका छौं । १४ वर्षअघि उक्त ठाउँमा ‘रक एंकर’ (पहिरो रोक्ने एउटा उपाय) गरिएको थियो, त्यसले काम गर्न छाडेको हो कि ? यसबारे विज्ञ टोलीले अनुसन्धान गरिरहेको छ, पत्ता लागेपछि त्यसै अनुसार मर्मत हुन्छ ।

तीनवटा बर्खा बितिसक्दा पनि पहिरो रोक्ने उपाय किन गरिएन ?

जोखिमपूर्ण भनिएका स्थानमा पहिरो रोक्ने काम भएको छ । तर, यहाँको कमजोर भूबनोट, हामीसँग उपलब्ध बजेट र स्रोतसाधनका कारण सबै पहिरो रोकिएको छैन । केही पहरोमा खुकुलो गरी अडिएका चट्टान कुनै पनि बेला झर्न सक्छन्, त्यसलाई बलियोसँग अड्याउने उपाय तत्काल हामीसँग छैन, त्यसमा लागत निकै बढी हुन्छ ।

विस्तार कार्य कहिले सम्पन्न हुन्छ ?

धेरै हदसम्म काम सम्पन्न भइसकेको छ । सडकलाई तीन भागमा बाँडेर भइरहेको काममध्ये पश्चिमतर्फ एक र दुई नम्बरमा करीब–करीब सम्पन्न भइसकेको छ । तीन नम्बरमा दुई तहको कालोपत्रे सकेर ‘वेदर कोट’ मात्रै बाँकी छ । दशैंसम्म सबै सम्पन्न हुन्छ । त्यसपछि नारायणगढ–मुग्लिङ यात्रा ३५ मिनेटमै पूरा हुनेछ ।

वैकल्पिक सडक आवश्यक छ ?

अहिले दैनिक १० हजार सवारी साधन गुडिरहेको यो सडकको विकल्प जरुरी देखिन्छ । नदी पारिबाट बनाउने भनिएको समानान्तर सडक नै उत्तम विकल्प हो । रणनीतिक रुपमा पनि महत्वपूर्ण यो सडक जाम हुँदा, मर्मत गर्नुपर्दा र पछि सवारी चाप बढेको अवस्थामा आवागमन सहज गराउन विकल्प जरुरी हुनेछ ।

comments powered by Disqus

रमझम