३१ असार - ५ साउन २०७५ | 15 - 21 July 2018

व्यवस्थित बैठक कोठा

Share:
  

बिक्रम राई
बैठक कोठालाई पाहुनाको स्वागत तथा पारिवारिक जमघटका लागि पनि प्रयोग गरिन्छ । उच्च आर्थिक हैसियत हुनेले औपचारिक भेटघाटका लागि ‘ड्रइङ रुम’ र पारिवारिक जमघट तथा आरामका लागि ‘लिभिङ’ वा ‘सिटिङ रुम’ गरी आवश्यकता अनुसार धेरै कोठा बनाए पनि अधिकांशको घरमा एउटै बैठक कोठा हुन्छ ।

बैठक कोठा सजाउँदा पहिले आफ्नो आवश्यकताबारे स्पष्ट हुनुपर्छ । भेटघाट गर्न कतिसम्म मानिस आउँछन् ? घरमा केटाकेटी भए उनीहरूलाई खेल्ने ठाउँ चाहिन्छ कि ? स–साना पार्टीहरू घरमै गर्न रुचाउनुहुन्छ कि ? यस्ता विषयले बैठक कसरी सजाउने भन्ने निर्धारण हुन्छ ।

बैठक कोठा ठूलो छ भने दुई वा धेरै क्षेत्रमा विभाजन गर्न पनि सकिन्छ । घरका केटाकेटीका लागि एउटा भाग र लेखपढका लागि बैठकको एउटा कुना छुट्याउन सकिन्छ । कफी टेबल वा सोफाले क्षेत्र विभाजन गर्न सकिन्छ ।

फर्निचर, सजावटका सामान, सोफा वा अन्य सामान बाटो नछेकिने र कोठाभित्रको आवागमन सहज हुने गरी राख्नुपर्छ । निश्चित खाली ठाउँले बैठकलाई सहज र आकर्षक बनाउँछ । अमेरिकन इन्ष्टिच्यूट अफ बिल्डिङ डिजाइनका अनुसार भित्ता र फर्निचर बीचको दूरी तीन फिट राख्नु उपयुक्त हुन्छ । अधिकांश बैठक कोठाहरू अनावश्यक सामानले भरिंदा आवागमनमा असहज मात्रै हुँदैन, कोठाको सजावट भद्दा पनि देखिन्छ । ढोकाको सीधै हुने गरी खाली ठाउँ छोड्दा आगन्तुकसँग उभिएर यताउति गर्दै कुरा गर्न सकिन्छ भने बालबालिकाका लागि पनि स्थान पुग्छ ।

बैठकमा कोठाको आकार अनुसारका फर्निचर राख्नुपर्छ । सानो कोठामा ठूला सोफा राख्नुभन्दा साना आरामदायी कुर्सी टेबल राख्नु उपयुक्त हुन्छ । त्यस्तै, साना कोठाका लागि फर्निचरको रंग पनि हल्का हुँदा राम्रो देखिन्छ । समग्रमा भित्ता, पर्दा, फर्निचर आदिको रंग र आकार एउटै लयमा भए कोठा आकर्षक देखिन्छ ।

सबै कुना उज्यालो हुँदा कोठा भव्य र आकर्षक देखिन्छ भने सुविधाजनक पनि हुन्छ । उज्यालोका लागि प्राकृतिक उज्यालोको व्यवस्थापनसँगै विभिन्न खालका बत्ती पनि जडान गर्नुपर्छ । सिलिङ लाइट, टेबल ल्याम्प, फ्लोर ल्याम्पलाई आवश्यकता अनुसार उपयोग गर्न सकिन्छ । त्यस्तै, डिमरको प्रयोगले विभिन्न अवसरलाई रोमाञ्चक बनाउँछ । डिमर स्वीचले बल्वको आयु बढाउनुका साथै ऊर्जा खपत कम गर्न सघाउँछ ।

भित्तामा ठूलो ऐना राख्दा कोठा फराकिलो र खुला देखिन्छ । धेरै झ्याल नभएको कोठामा झ्यालको सीधा हुने गरी ऐना राख्दा धेरै झ्याल भएजस्तो देखिन्छ । ऐनामा कोठाका कलाकृति, फर्निचर प्रतिबिम्बित हुँदा पनि कोठा आकर्षक र ठूलो देखिन्छ ।

त्यस्तै, बैठकमा ओछ्याउने दरी, गलैंचा आदि पनि उपयुक्त हुनुपर्छ । बैठकको सिटिङ एरिया जत्रै गलैंचा राख्दा ठिक्क हुन्छ । सानो गलैंचाले कोठा सानो देखाउँछ भने ठूलोले भद्दा । हिंड्ने ठाउँमा किनारा पर्ने गरी गलैंचा ओछ्याउनुहुँदैन । सोफा वा कुर्सीको अघिल्लो खुट्टाले थिच्ने गरी गलैंचा ओछ्याउनुपर्छ ।

भित्तामा मौलिक पेन्टिङ, राम्रा तस्वीरहरू झुण्ड्याउँदा पनि आकर्षक देखिन्छ । तर, एकभन्दा धेरै पेन्टिङ राख्दा तिनको फ्रेमको आकार एउटै लयमा हुनुपर्छ । तस्वीर र पेन्टिङ धेरै झुण्ड्याउँदा कोठा भद्दा देखिन्छ भन्ने पनि ख्याल गर्नुपर्छ ।

comments powered by Disqus

रमझम