३१ असार - ५ साउन २०७५ | 15 - 21 July 2018

अब झकिझकाउ

Share:
  

जनकपुरको जानकी मन्दिरलाई विद्युतीकरण गरी झकिझकाउ पारिने भएको छ । विद्युतीकरण मार्फत मन्दिरको सौन्दर्य बढाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २५ असारमा जानकी मन्दिर छुठ गुठीसँग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा जानकी मन्दिरका तर्फबाट रामरोशन दास र एनआरएनएका अध्यक्ष भवन भट्टले हस्ताक्षर गरेका छन् । विद्युत् जडानका लागि रु.५ करोड लागत लाग्ने अनुमान गरिएको छ भने लागेको सम्पूर्ण खर्च एनआरएनएले व्यहोर्ने बताइएको छ । त्यस्तै, मन्दिरको संरक्षण र व्यवस्थापन गुठीले गर्ने र नियमित मर्मतसम्भार जनकपुर उप–महानगरपालिकाले गर्ने पनि सम्झौता भएको छ ।

सम्झौता अनुसार काम भए आगामी २६ मंसीर अर्थात् विवाहपञ्चमीका दिन विद्युतीय उज्यालोले झकिझकाउ मन्दिरको उद्घाटन हुनेछ ।

एनआरएनएका प्रोजेक्ट डाइरेक्टर एवं आर्किटेक्ट सुवास अधिकारी मन्दिरको ऐतिहासिक र मौलिक संरचनामा कुनै परिवर्तन नगरी विद्युतीकरण गरिने बताउँछन् ।

गुठी र एनआरएनएबीच सम्झैता भए पनि मन्दिरमा विद्युतीकरण गर्न भने पुरातङ्खव विभागको अनुमति लिनुपर्ने हुन्छ । आर्किटेक्ट अधिकारी भन्छन्, “विभागमा निवेदन दिइसकेका छौं, अनुमति पाएलगत्तै काम शुरू हुन्छ ।”

उनका अनुसार मन्दिरलाई पूर्ण रूपमा उज्यालो बनाउन ४० वाट विद्युत् आवश्यक पर्नेछ । वातावरणलाई समेत ख्याल गर्दै विद्युतीकरणका लागि पूर्ण रूपमा सौर्य ऊर्जाको प्रयोग गरिनेछ । कम विद्युत्मा धेरै प्रकाश दिने र टिकाउ हुने भएकाले एलईडी बल्बको प्रयोग गरिने अधिकारीको भनाइ छ ।

पर्यटनमा टेवा

सम्झौता कार्यक्रममा एनआरएनएका अध्यक्ष भट्टले विद्युतीकरणपछि पर्यटन प्रवद्र्धनमा समेत उल्लेख्य टेवा पुग्ने बताए । “धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महङ्खव बोकेको मन्दिरमा विद्युतीय सौन्दर्य थपिंदा समग्र जनकपुरको गरिमा बढ्नेछ र पर्यटक पनि बढ्नेछन्” उनले भने । विद्युतीकरणपछि मन्दिरप्रति नयाँ पुस्ता पनि आकर्षित हुने उनको विश्वास छ ।

आर्किटेक्ट अधिकारी विद्युतीकरणपछि रातको समयमा मन्दिर झनै आकर्षक देखिने हुँदा चहलपहल र चर्चा बढ्ने बताउँछन् । उनी भन्छन्, “बिहान आएर साँझ फर्कन चाहने पर्यटक पनि केही दिन बस्ने अवस्था आउन सक्छ ।”

कार्यक्रममा प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले जानकी मन्दिर देशकै धरोहर भएकाले विद्युतीय सौन्दर्यकरणपछि पर्यटक बढ्ने विश्वास व्यक्त गरे । उनले भने, “मन्दिर झकिझकाउ भएपछि लुम्बिनी, पोखरा लगायत स्थानमा घुम्न आउने पर्यटक जनकपुर पनि आउने वातावरण बन्नेछ ।” निर्माण लागत भारु ९ लाख लागेको कारण नौलखा मन्दिर पनि भनिने जानकी मन्दिर सन् १९१० मा टिकमगढकी महारानी वृषभानुले बनाउन लगाएकी हुन् ।

मस्त केसी

comments powered by Disqus

रमझम