फ्रान्स, स्पेन, इटाली, जर्मनी, इङ्गल्यान्ड लगायत युरोपेली फूटबलका महाशक्ति राष्ट्रका तुलनामा क्रोएसियाको घरेलु फूटबलको संरचना र पूर्वाधार निकै कमजोर छ । तर, केही वर्षयता क्रोएसियाबाट निकै प्रतिभाशाली खेलाडी युरोपका घरेलु लिगमा देखापरेका छन्, जसलाई भिœयाउन ठूला क्लब आतुर छन् । रियल म्याड्रिडका लुका मोड्रिच, बार्सिलोनाका इभान राकीटिच, इन्टर मिलानका इभान पेरिसिच र लिभरपुलका डेयान लोभ्रेन यिनै प्रतिभाशाली क्रोएसियाली खेलाडीमध्येका हुन् । स्ट्राइकर मारियो मान्डजुकिच पहिले बुन्डेसलिगा, लालिगा र अहिले इटालियन ‘सिरी ए’ जस्ता ठूला लिगमा चम्केकै स्ट्राइकर हुन् । क्लब फूटबलमा नाम चलेका यस्ता स्टार खेलाडीलाई समेटेर टीम बनाउँदा प्रशिक्षकले कसलाई कुन पोजिसन उपयुक्त हुन्छ भन्ने बुझेको हुनुपर्छ । त्यसबाहेक खेलाडीको स्टारडम सम्हाल्न सक्नु पनि प्रशिक्षकमा हुनुपर्ने गुण हो । यसमा डालिच सफल पनि देखिएका छन् ।
डालिचको प्रशिक्षणमा क्रोएसियाली खेलाडीहरू आत्मविश्वासपूर्वक खेल्न सिकेका छन् । विपक्षी र खेलको अवस्था जस्तोसुकै होस्, उनीहरू आफ्नै क्षमतामा विश्वास राख्छन् । त्यसैले त विश्वकपमा नकआउट चरणका तीनै खेलमा पछि परेको अवस्थाबाट जित निकाल्न सफल भए ।
व्यावसायिक फूटबलमा क्लबको प्रशिक्षक हुनु र राष्ट्रिय टीम सम्हाल्नु फरक कुरा हो । क्लबका प्रशिक्षकले आवश्यकता अनुसार विभिन्न पोजिसनका लागि अन्य क्लबबाट राम्रा खेलाडी किन्न सक्छन् । यो सुविधा राष्ट्रिय टीमका प्रशिक्षकलाई हुँदैन । उपलब्ध खेलाडीलाई लिएर ठूला प्रतियोगिताका लागि बलियो टीम तयार पार्नु चुनौतीपूर्ण काम हो । यस्तोमा चलाख र दूरदर्शी प्रशिक्षकले युवा खेलाडीलाई सक्दो मौका दिन्छन्, ताकि आफ्नो रणनीतिसँग अभ्यस्त हुन ती खेलाडीले पर्याप्त समय पाऊन् । र, राम्रो अनुभवसँगै भविष्यमा त्यही टीम जस्तोसुकै चुनौतीका लागि पनि तयार रहून् । चार वर्षअघि जर्मनीलाई विश्वकप जिताउन प्रशिक्षक योचिम लोले त्यसको ६ वर्ष अघिबाटै टीम तयार पारेका थिए । सन् २०१० कै विश्वकपमा जर्मनीले युवा टीम उतारेको थियो । तिनै युवा खेलाडीको अनुभव २०१४ मा विश्वकप जित्न काम लाग्यो ।
प्रशिक्षक आफैंले शारीरिक मिहिनेत गर्नुपर्छ भन्ने हुँदैन । ट्रेनिङ ग्राउन्डमा खेलाडीलाई मिहिनेत गराउने जिम्मा मुख्य प्रशिक्षकका सहयोगी सहायक प्रशिक्षकहरू र फिटनेस कोचलाई हुन्छ । मुख्य प्रशिक्षकले त खेलका लागि रणनीति बनाउने, खेलाडी हेरी जिम्मेवारी दिने र यसअनुसार तालिमको योजना बनाउने गर्छन् । ताबारेज शारीरिक रुपमा अशक्त भएर पनि अब्बल प्रशिक्षक हुनुले यही देखाउँछ । उपलब्ध खेलाडीमा कस्तो कौशल छ, कसलाई कुन पोजिसन र कस्तो रणनीति सुहाउँछ– मुख्य प्रशिक्षक यसबारे पनि जानकार हुनुपर्छ ।
ब्राजिलका धेरै खेलाडी बगरको बालुवामा फूटबल खेल्दै हुर्केका हुन्छन् । त्यसैले उनीहरू बललाई नियन्त्रण गर्न माहिर छन् । यही शैलीलाई ब्राजिलको पहिचान पनि मानिन्छ, जसलाई स्थानीय भाषामा जिन्जा भनिन्छ । ‘जिन्जा शैली’ कै सहारामा ब्राजिलले विश्वकपमा गर्विलो इतिहास बनाएको छ । युरोपेली टीमको बढ्दो वर्चस्वसँग प्रतिस्पर्धा गर्न लुइस फिलिपे स्कोलारी र कार्लोस डुंगा ब्राजिलको प्रशिक्षक हुँदा यस शैलीलाई परिवर्तन गर्न खोजेका थिए । तर त्यस्तो शैली उनीहरूलाई त्यति सुहाएको देखिंदैन । र, अन्तर्राष्ट्रिय प्रतियोगितामा त्यो शैलीले ब्राजिललाई झनै कमजोर बनाएको देखिन्थ्यो । दुई वर्षअघिसम्म कार्लोस डुंगा प्रशिक्षक हुँदा ब्राजिलले खेलेका खेलले पनि यस्तै संकेत गर्छ । कोपा अमेरिका र विश्वकप छनोटका शुरुका ५÷६ खेलमा ब्राजिलको आक्रमण त्यति धारिलो देखिंदैनथ्यो । खेलमा हावी भए पनि गोल गर्न ब्राजिलले निकै संघर्ष गर्नुपथ्र्यो । तर, जब टिटे प्रशिक्षक बने, उनले जिन्जा शैलीमै खेल्ने टीम तयार पारे । त्यसको प्रभाव देखिन समय नै लागेन । त्यसपछिका लगातार दश खेल जित्दै विश्वकपमा छानिने पहिलो टीम बन्यो ब्राजिल ।
विश्वकप नजित्नुलाई ब्राजिलियनहरू असफलता नै ठान्छन् । यसपटक पनि ब्राजिल क्वार्टरफाइनलमै अड्कियो । तर प्रशिक्षक टिटेले अपनाएको शैलीका कारण उनलाई असफल प्रशिक्षक भन्न मिल्दैन । जुन ब्राजिलका फूटबल हस्ती र समर्थक दुवैले स्वीकारेका पनि छन् । प्रत्येक खेलमा फरक खेलाडीलाई कप्तानको भूमिका दिने टिटेको रणनीतिलाई पनि मन पराउने धेरै छन् । किनभने, यसले हरेक खेलाडीलाई टीमप्रति जिम्मेवार हुन सघायो । त्यसैले त दुई वर्षयता ब्राजिलले नेयमारमा मात्रै भर पर्नुपरेको छैन । विश्वकपको नतिजा जस्तोसुकै होस्, टिटे प्रशिक्षक भएयता बेल्जियम विरुद्धको खेलमा मात्रै ब्राजिलले एकै खेलमा दुई गोल खाएको हो । यसबाटै अनुमान लगाउन सकिन्छ कि जिन्जा शैली अपनाएर टिटेले ब्राजिललाई कस्तो टीमका रुपमा खडा गरेका छन् ।
सफल प्रशिक्षक बन्ने छनक टिटेले दुई वर्षअघि नै देखाएका थिए, युवा खेलाडीलाई समेटेर टीम तयार पार्ने निर्णय गरेर । युवा खेलाडीलाई मौका दिंदै टीम तयार पार्नुको फाइदा त जर्मनीलाई जति अरुलाई थाहा नहोला । अहिले जर्मनीकै छिमेकी इङ्गल्यान्डले पनि त्यही रणनीति अपनाएको छ । गरेथ साउथगेट प्रशिक्षक भएपछि इङ्गल्यान्ड पनि युवा खेलाडीकै भरमा विश्वकपमा गएको थियो । २१ वर्षमुनि उमेर समूहको टीमको प्रशिक्षक हुँदा नै साउथगेटलाई भविष्यमा इङ्गल्यान्डले कस्तो खेलाडी पाउँदैछ भन्ने थाहा थियो । उबेलादेखि नै उनीहरूको क्षमता र सुहाउने शैली थाहा पाएकै कारण इङ्गल्यान्ड अहिले निकै राम्रो टीम देखिएको हो । प्रशिक्षकलाई आउँदो पुस्ताबारे सक्दो जानकारी किन हुनुपर्छ भन्ने कुराको जवाफ हालको इङ्गल्यान्ड टीम पनि हो । २८ वर्षपछि फेरि इङ्गल्यान्ड सेमिफाइनलमै रोकियो, तर यसपछिका प्रतियोगितामा सशक्त टीम खडा गर्ने रणनीतिमा साउथगेट अझै ट्र्याकमै छन् ।
व्यावसायिक टीमका प्रशिक्षकका आफ्नै चुनौती होलान् । तर केही दिनकै प्रशिक्षणमा विश्वकप र महादेशीय प्रतियोगिताको छनोट खेल्ने र दुई–तीन साताकै प्रशिक्षणमा विश्वकपका लागि टीम तयार पार्ने राष्ट्रिय टीमका प्रशिक्षकको जिम्मेवारी पनि त्यति सजिलो छैन । त्यसमा पनि यसपटक क्रोएसियाका डालिच, इङ्गल्यान्डका साउथगेट, ब्राजिलका टिटे र उरुग्वेका ताबारेजको रणनीति र मिहिनेत दुवै तारिफयोग्य छन् ।