२३ भदौ २०७० | 8 September 2013

बढ्दै सम्बन्धविच्छेद

Share:
  
कास्कीमा हरेक वर्ष सम्बन्धविच्छेदका घटना बढ्दैछन् ।

‘मैले भनेको ठाउँमा तुरुन्त नआए हाम्रो सम्बन्धबारे तिम्रो श्रीमान्लाई भनिदिन्छु’ पोखराकी सीता गुरुङ (२७) (परिवर्तित नाम) को मोबाइलमा आएको यो म्यासेज देखेपछि बेलायतबाट छुट्टीमा घर आएका श्रीमान् पत्नीलाई शंका गर्दै टाढिन थाले । त्यही कारण बिग्रिन थालेको उनीहरूको सम्बन्ध एक वर्षपछि अदालतबाट सम्बन्धविच्छेद भएर टुङ्गियो ।

विदेशमा रहेका केटा साथीले रूपा थापा (परिवर्तित नाम) लाई ‘म तिमीलाई विदेश ल्याउँछु’ भनेर फेसबुकमा लेखेको मलेशियामा रहेका पतिले थाहा पाएपछि दुईबीचको सम्बन्ध बिग्रिन शुरू भयो । कानूनी रूपमा सम्बन्धविच्छेद नभए पनि तीन वर्षदेखि उनीहरू छुट्टाछुट्टै बस्न थालेका छन् ।

माथिका दुई उदाहरणसँगै कास्की जिल्ला अदालतमा दिनहुँ दुई जनाको सम्बन्धविच्छेद हुनुले परिवार विघटनको भयावह तस्वीर देखाउँछ । कास्की जिल्ला अदालतका स्रेस्तेदार वासुदेव न्यौपाने आव २०६९÷७० मा सम्बन्धविच्छेदका ४७४ निवेदन परेकोमा ३९९ वटा मुद्दामा पक्षमा फैसला भएको बताउँछन् ।

विघटन हुँदै परिवार

अधिवक्ता माधवी पाण्डेय महिलाहरू श्रीमान्ले लाउन–खान नदिएको, बहुविवाह गरेको, परस्त्रीसँग लागेको र घरेलु हिंसा गरेको उजुरी लिएर तथा पुरुषहरू विदेशबाट पठाएको पैसा श्रीमतीले परपुरुषसँग लागेर हिनामिना गरेको भन्ने उजुरी लिएर अदालत आउने गरेको बताउँछिन् । अधिवक्ता सुरेन्द्र थापामगरको विचारमा वैदेशिक रोजगारी र आधुनिक प्रविधि सम्बन्धविच्छेद हुनुको प्रमुख कारण हुन् । श्रीमतीको मोबाइलमा आएको एसएमएस र फेसबुकको मित्रताले सम्बन्धविच्छेद गराउनुलाई उनी त्यसको उदाहरण देखाउँछन् । नेपाल बार एसोसिएसन कास्कीका अध्यक्ष कमलप्रसाद अर्याल समाजलाई पति रहेको देखाउन कैयौं महिलाले सम्बन्धविच्छेद नगरी अंश लिएर छुट्टै बस्ने गरेको बताउँछन् । पति नभएका महिलालाई समाजले नराम्रो दृष्टिले हेर्ने र असुरक्षित पनि हुने भएकाले महिलाहरूले अर्को पुरुषको सहारा नपाउँदासम्म सम्बन्धविच्छेद नगर्ने उनको भनाइ छ ।

पृथ्वीनारायण क्याम्पसका प्राध्यापक विश्वकल्याण पराजुली विकसित देशको नागरिक बन्न कतिपयले कानूनी रूपमा सम्बन्धविच्छेद गरे पनि व्यावहारिक रूपमा मिलेर बसेको देखिएको बताउँछन् । “श्रीमान् र श्रीमतीमा एकले अर्कोलाई नबुझनु र अर्कोमाथि आधिपत्य जमाउन खोज्नु सम्बन्धविच्छेद हुने एउटा कारण हो” पराजुली भन्छन्, “आधुनिक जमानामा दुवै अपहेलित हुन नचाहने भएकाले अहिले सम्बन्धविच्छेद बढेको हो ।”

माधव बराल, पोखरा


स्कूल पुग्न दिनहुँ १२ किलोमिटर

गोकुल घोरसाइने
बाराको डुमरवाना—७ टाँगियावस्तीको प्राथमिक विद्यालय उत्तीर्ण गरेकाहरू माध्यमिक तह पढ्न १२ देखि १५ किलोमिटर टाढाको निजगढ पुग्छन् । धेरै जना सुकुम्बासी रहेको सो गाउँमा दुई प्राथमिक विद्यालय र एउटा प्रस्तावित माध्यमिक विद्यालय (हाल कक्षा ८ सम्म) मात्र रहेकाले त्यहाँका विद्यार्थी जंगलको लामो बाटो छिचोल्न बाध्य भएका हुन् ।

निजगढका गौरीशंकर उच्च मावि, नेत्रोदय मावि, बकैया ठाकुर मावि र शिवभक्तेश्वर निमाविमा टाँगियावस्तीबाट पढ्न आउनेको संख्या झ्ण्डै साढे चार सय छ । उनीहरू सबै साइकल चढ्छन् ।

“पढ्दा भविष्य राम्रो होला भनेर दुःख गरेको” नेत्रोदयमा १० कक्षामा अध्ययनरत टाँगियावस्तीका जीतबहादुर ब्लोन भन्छन् । जंगलको बाटोमा हात्ती लगायत जनावरको डरले सधैं आतङ्कित भएर बाटो काट्नुपर्ने उनको भनाइ छ । दिनहुँ झ्ण्डै ३० किलोमिटर पार गर्नुपर्ने भए पनि टाँगियावस्तीका धेरै विद्यार्थी मिहिनेती र जेहेन्दार रहेको गौरीशंकर उमाविका प्रधानाध्यापक सुदर्शन कोइराला बताउँछन् । त्यहाँ टाँगियावस्तीका २७५ जना विद्यार्थी पढ्छन् । त्यहाँको कक्षा ९ र १० का उत्कृष्ट विद्यार्थी विजय घलान र विजय लामा टाँगियावस्तीकै हुन् ।

गाउँभन्दा राम्रो पढाइ हुने राजमार्गछेउको निजगढमा टाँगियावस्तीबाट प्राथमिक तहका विद्यार्थी पनि आउने गरेका छन् । गाउँको विद्यालयमा भर्ना शुल्क बढी लिएर पनि राम्रा शिक्षक नराखेकाले छोराछोरीलाई पढ्न निजगढ पठाउनुपरेको अभिभावकहरूको भनाइ छ । जिल्ला शिक्षा कार्यालयले पर्याप्त दरबन्दी उपलब्ध नगराएकाले त्यहाँका विद्यालयले निजी स्रोतबाट शिक्षक राख्न रु.७०० देखि रु.१००० सम्म भर्ना शुल्क लिने गरेका छन् ।

गोकुल घोरसाइने, बारा


नेपालीका अब्बल

२०६९ सालको प्रवेशिका (एसएलसी) परीक्षामा नेपाली विषयमा उत्कृष्ट अंक ल्याउन सफल भए, तीन छात्रा ।

सलिना राई, आश्मा पोखरेल (बीचमा) र अनु सिवाकोटी ।
तीन जनाको जिल्ला एउटै थियो, मोरङ । अनि मोरङको पनि विराटनगर । त्यहाँस्थित एभरेष्ट इङ्गलिस बोर्डिङ स्कूलका दुई छात्रा, सलिना राई र आश्मा पोखरेल तथा अर्को स्कूल सुमन विवेक जीवन मुना रञ्जिता (सुविजीमुर) विद्यालयकी अनु सिवाकोटीले यस वर्षको प्रवेशिका परीक्षामा नेपाली विषयतर्फ ९१–९१ अंक ल्याउन सफल भएपछि यो संयोग जुटेको थियो ।

हाल काठमाडौंस्थित युनिभर्सल कलेजमा पढ्दै गरेका सलिना र आश्मा तथा एम्बिसन एकेडेमीमा अध्ययनरत अनु सिवाकोटी यस वर्षको केदार पारितोषिक पुरस्कार संयुक्त रूपमा ग्रहण गरेसँगै यो सुखद् संयोग जुट्न पुग्यो । आफूले एसएलसीमा गरेको मिहिनेतले दिलाएको पुरस्कारले अहिले परिवारै खुशी पार्न सफल भएकोमा दंग छिन्, सलिना । आश्मालाई नेपाली विषयमा आफूले राम्रो गरेको लागे पनि यति धेरै नम्बर आउला भन्ने लागेको थिएन । पुरस्कृत अर्की छात्रा अनु सिवाकोटी पुरस्कारले भविष्यमा केही गर्ने प्रेरणा मिलेको बताउँछिन् ।

उत्कृष्ट छात्राहरूलाई ११ भदौमा एक कार्यक्रमबीच नगद रु.१० हजार, प्रमाणपत्र र शिक्षासँग सम्बन्धित पुस्तक प्रदान गरिएको थियो । मदन पुरस्कार पुस्तकालयले हरेक वर्षको एसएलसी परीक्षामा नेपाली विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई विगत १५ वर्षदेखि केदार पारितोषिक पुरस्कार दिंदै आएको छ ।


नामका लागि रु.३५ लाख !

विद्यालय भवनहरू बारीका कान्ला–कान्लामा ठड्याइएका छन् । विद्यार्थीलाई फराकिलो चौर छैन । आवश्यक जग्गा किन्न आर्थिक स्रोत छैन । यस्तो समस्याबाट उम्किने प्रयासमा छ– सात दशकअघि स्थापित खोटाङको लफ्याङ–७ बाँसबोटेस्थित श्रीमावि । यसका लागि विद्यालय संचालक समितिका अध्यक्ष राजेन्द्र राई र प्रधानाध्यापक केशरकुमार राईको जोडीले जग्गा किन्न रु.३५ लाखभन्दा बढी रकम दिने दाताको नाममा विद्यालयको नामकरण गर्ने जुक्ति निकालेका छन् ।

दमन राई
दाता व्यक्ति वा संस्था जो पनि हुन सक्छन् । त्यस्ता दाता पाए तुरून्त श्री हटाएर विद्यालयको नाम फेर्ने संचालक समितिका अध्यक्ष राजेन्द्र बताउँछन् । “त्यसपछि प्लस टु पनि चलाउँछौं”, घरको काम छाडेर रातदिन विद्यालयकै लागि खटेका राजेन्द्र भन्छन्, “विद्यालयसम्म सडक पनि ल्याउँछौं ।”

राजेन्द्र (दायाँ) र केशरकुमार राई ।
२०१७ सालमा खाल्ले–२ मा राष्ट्रिय प्राविको नामबाट स्थापना भएको यो विद्यालय अहिले १७.५ रोपनी पाखो बारीमा छ । लफ्याङ र खाल्लेका अगुवाबीच भएको तानातानका क्रममा पुरानो नाम गुमाएर श्रीमावि बनेको विद्यालयमा अहिले ४५०० विद्यार्थी र २६ शिक्षक–शिक्षिका छन् । विद्यालयलाई फराकिलो बनाउन २० रोपनी जमीन चाहिएको छ । नजिकै प्रतिरोपनी ६० हजारमा किनबेच भइरहेको निजी जग्गा लिन चाहेको प्रअ केशरकुमारले बताए ।

दमन राई, खोटाङ

comments powered by Disqus

रमझम