६-१२ साउन २०७५ | 22-28 July 2018

उच्च शिक्षामा फड्को

Share:
  
- रामु सापकोटा
खुला विश्वविद्यालयले अनलाइन शैक्षिक प्रणाली विकास गरेपछि उच्च शिक्षामा नयाँ आयाम थपिएको छ।

कैलाली जिल्ला सदरमुकाम, धनगढीकी शान्ति भट्ट (३३) ले आठ वर्षअघि सुदूरपश्चिमाञ्चल विश्वविद्यालय (सुपवि) बाट शिक्षा संकायमा स्नातकोत्तर (एमएड) गरिन् । त्यसपछि एमफिल (मास्टर्स अफ फिलोसफी) गर्ने चाहना पूरा गर्न उनले काखको छोरा र घरपायक जागिर छाडेर ६६२ किलोमिटर पूर्वको काठमाडौं आउनुपर्ने भयो, जुन गर्न सकिनन् । आठ वर्षपछि उनको एमफिल पढ्ने धोको पूरा भएको छ, त्यो पनि धनगढीमै बसेर ।

ललितपुरको मानभवनस्थित खुला विश्वविद्यालयले पहिलो पटक २९ फागुन २०७४ मा एमफिल तहमा भर्ना खोलेपछि भट्ट जस्ता सयौं विद्यार्थीले घरमै बसेर पढ्ने सुविधा पाएका छन् ।

खुला विश्वविद्यालय त्यस्तो अवधारणा हो, जसबाट विद्यार्थीले घरैमा बसीबसी अनलाइन कोर्स पढ्छन् । सेमेस्टरको अन्तिम परीक्षा दिन विद्यार्थी विश्वविद्यालयले तोकेको परीक्षा केन्द्रमा उपस्थित हुनुपर्छ । गएको वैशाखमा भर्ना भएर जेठदेखि शिक्षा संकायको एमफिल तहको पढाइ शुरू गरेकी शान्ति भट्ट अहिले पहिलो सेमेस्टरमा चार विषय पढिरहेकी छन् । यसअघि विभिन्न विषयमा अनलाइन कोर्स गरेकाले खुला विश्वविद्यालयको पढाइ सहज लागेको बताउँदै उनी भन्छिन्, “पेशा–व्यवसाय र अध्ययनलाई सँगै अघि बढाउनेका लागि ठूलो अवसर हो, खुला विश्वविद्यालय ।”

अनलाइन अध्ययन

अनलाइनको पढाइ सम्बन्धी अनुभव नभएका विद्यार्थीलाई खुला विश्वविद्यालयको पढाइ शुरूमा प्राविधिक रूपमा कठिन लाग्न सक्छ । तिनैमध्येका एक बर्दघाट, नवलपरासीका पुष्पराज पौडेल (३४) शुरूमा कम्प्युटर खोलेर सफ्टवेयर मार्फत पढ्दा कता–कता हराए जस्तो भएको बताउँछन् । वैशाखदेखि शिक्षा संकायमा एमफिल तहमा भर्ना भएका उनी हरेक बेलुका ६ देखि ९ बजेसम्म अनलाइन कक्षा लिन्छन् । “विस्तारै बानी परेपछि कक्षा कोठाको साटो घरमा बसेर पढ्न मज्जा लाग्न थाल्छ”, उनी भन्छन् ।

काठमाडौं उपत्यकामा क्याम्पस पढ्नेहरूका लागि सबभन्दा ठूलो सास्ती हुन्छ– ट्राफिक जाम र धुलो–धुवाँ । खुला विश्वविद्यालयको अनलाइन कोर्सले यो समस्याबाट मुक्ति दिन्छ । फेरि, अनलाइनको पढाइ कक्षा कोठाको पढाइभन्दा कुनै पनि हिसाबले कमजोर नहुने पौडेल बताउँछन् । बिहान ९ देखि अपराह्न चार बजेसम्म भक्तपुर, सल्लाघारीको सैनिक महाविद्यालयमा कक्षा ११–१२ लाई पढाउने उनको पेशाले पढाइमा कुनै असर पुर्‍याएको छैन । उनी भन्छन्, “पढाइका लागि कक्षा कोठा पुग्नैपर्ने बाध्यता अनलाइन शिक्षाले हटाइदिएको छ ।”

रामु सापकोटा
खुला विश्वविद्यालयमा सामाजिक शास्त्र तथा शिक्षा र विज्ञान स्वास्थ्य तथा प्रविधि संकायमा ४०८ विद्यार्थी अध्ययनरत छन् । स्नातक र स्नातकोत्तर तहमा विश्वविद्यालयले चालू शैक्षिक सत्रदेखि व्यवस्थापन तथा कानून संकायका चार विषयमा भर्ना खुलाएको छ । विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय अन्तर्गत दुईवर्षे ‘मास्टर्स इन इ–गमर्नेन्स’ विषयमा पढाइ भइरहेको छ । विश्वविद्यालयले सामाजिकशास्त्र तथा शिक्षा संकायमा एमफिल तहको एकवर्षे कोर्स पूरा गर्न रु.१ लाख १० हजार र विज्ञान स्वास्थ्य तथा प्रविधि संकायको एमफिल इन आईसीटी तह अध्ययन गर्न रु.१ लाख ७० हजार शुल्क तोकेको छ ।

समाजशास्त्रको एमफिलमा अर्थशास्त्र, समाजशास्त्र र राजनीतिशास्त्र पढाइन्छ । विद्यार्थीले ‘बिग ब्लु बटन’ र ‘स्काइप फर बिजनेस’ सफ्टवेयर मार्फत कक्षा लिन्छन् । विश्वविद्यालयले भिडियो र म्यासेजबाट पनि पढाइलाई प्रभावकारी बनाएको छ । भिडियो मार्फत शिक्षकले पढाइरहेका बेला विद्यार्थीले नबुझ् तुरुन्त म्यासेज पठाएर सोध्न सक्छन् ।

भर्ना प्रक्रिया र पढाइ

खुला विश्वविद्यालयमा पढ्न चाहने विद्यार्थीले अनलाइनमा ब्यांक भौचर र फारम भरेर पठाउनुपर्छ । त्यसपछि प्रवेश परीक्षा हुन्छ । त्यसका लागि प्रत्येक प्रदेशमा परीक्षा केन्द्र तोकिन्छ । प्रवेश परीक्षा पास गरेका विद्यार्थी फेरि अनलाइन फारम भरेर भर्ना हुन्छन् । कक्षा संचालन हुनुअघि विद्यार्थीलाई ललितपुरको स्टाफ कलेजमा तीनदिने अभिमुखीकरण कक्षामा सहभागी गराइन्छ, जहाँ पढ्ने सामग्रीदेखि गृहकार्य बुझउनेसम्मको जानकारी गराइने रजिष्टार कमल ढकाल बताउँछन् । विद्यार्थीलाई रोजेको विषय अनुसार युजरनेम र पासवर्ड पनि त्यहीं दिइन्छ ।

खुला विश्वविद्यालयले सफ्टवेयर मार्फत गरिने कक्षा संचालनमा शिक्षकहरूले पावर प्वाइन्टको स्क्रिन सेयर गर्छन् । त्यसक्रममा विद्यार्थीले कक्षामा नबुझ्ेको कुरा शिक्षकलाई म्यासेज गरेर सोध्छन् । तोकिएको समयमा अनलाइन कक्षामा सहभागी हुन नसकेका विद्यार्थीले फुर्सद भएको बेला आफ्नो अकाउन्ट खोलेर अध्ययन गर्न सक्छन् । “विद्यार्थीलाई सकेसम्म अनलाइन कक्षा नछुटाउन भनेका छौं” रजिष्टार ढकाल भन्छन्, “कक्षा छुटे शिक्षकसँग दोहोरो छलफल हुँदैन ।”

उनका अनुसार, विश्वविद्यालयको मोडुलमा शैक्षिक सामग्री अपलोड हुन्छ । विद्यार्थीले उत्तर सफ्टवेयरमा अपलोड गरेपछि शिक्षकले मूल्यांकन गरेर अंक दिन्छन् । विद्यार्थीले सेमेस्टरको अन्त्यमा आन्तरिक अनलाइन गृहकार्य बापत ४० प्रतिशत र कक्षामा उपस्थित भएर दिइने लिखित जाँचबाट ६० प्रतिशत अंक पाउँछन् । आन्तरिक मूल्यांकन र लिखित दुवैमा न्यूनतम ५०–५० प्रतिशत अंक ल्याउने विद्यार्थी उत्तीर्ण हुन्छन् ।

नेपालमा खुला विश्वविद्यालय

औपचारिक शिक्षामा नसमेटिएकाहरूलाई समेट्न बेलायतबाट खुला विश्वविद्यालयको अवधारणा शुरू भएको मानिन्छ । नेपालमा २०३६ सालपछि उच्च शिक्षामा विद्यार्थीको चाप बढ्दै गयो । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसले भर्ना लिन सम्भव नभएपछि औपचारिक शिक्षा उपलब्ध गराउन वैकल्पिक उपायहरू खोज्नुपर्छ भनियो । त्यसअनुसार २०३७ सालको छैटौं पञ्चवर्षीय योजनामा ‘खुला तथा दूर शिक्षाको माध्यमबाट उच्च शिक्षा उपलब्ध गराउने’ व्यवस्था गरियो ।

आठौं योजना बाहेक त्यसपछिका हरेक योजनामा खुला तथा दूर शिक्षा उल्लेख गरियो । २०६९ सालमा बनेको खुला विश्वविद्यालय पूर्वाधार विकास समितिले २०७३ सालमा खुला विश्वविद्यालय ऐन जारी गर्न सुझयो । सुझव अनुसार सरकारले ‘खुला विश्वविद्यालय ऐन २०७३’ जारी गरेपछि मुलुकमा वैकल्पिक शिक्षा पढाउने बाटो खुल्यो । अनलाइन मार्फत विद्यार्थी पढाउन दक्ष शिक्षकको आवश्यकता पूरा गर्न विश्वविद्यालय अनुदान आयोगले तीन जनालाई तालिमका लागि श्रीलंका पठायो । शिक्षक र पूर्वाधार तयार गर्दा समेत विद्यार्थी आउनेमा विश्वविद्यालयका पदाधिकारीहरू ढुक्क हुन नसकेको अवस्थामा भर्ना आवेदन खुलाउँदा तोकिएको सिटभन्दा पनि बढी विद्यार्थीले पढ्ने रुचि देखाए । अहिले विश्वविद्यालयले प्रत्येक विषयमा ५० विद्यार्थी पढाउने व्यवस्था मिलाएको छ ।

विश्वविद्यालयले सरकारबाट गएको आर्थिक वर्षमा रु.१० करोड र चालू आव २०७५÷७६ मा रु.१४ करोड पाएको छ । मानभवनमा भाडाको भवनमा कार्यालय संचालन गरिरहेको खुला विश्वविद्यालयमा पाँच पदाधिकारी र ५३ जना ‘पार्टटाइम’ शिक्षक छन् ।

comments powered by Disqus

रमझम