६-१२ साउन २०७५ | 22-28 July 2018

सफा भान्सा स्वस्थ परिवार

Share:
  

बिक्रम राई
हामीमध्ये धेरैलाई भान्सामा जुठा भाँडा माझेर एकपटक पुछपाछ गरेपछि सफा भयो भन्ने लाग्न सक्छ, तर भान्साको सफाइ यत्तिले मात्रै पुग्दैन । अधिक ब्याक्टेरिया र रोगका जीवाणुहरु उत्पादन हुनेमध्येको ठाउँ हो भान्सा, त्यसैले भान्साको सफाइमा विशेष ध्यान दिनु जरुरी हुन्छ । भाँडा माझ्ने ठाउँ, स्पन्ज, साबुनदानी, चपिङ बोर्ड, चक्कु, पुछ्ने रुमाल–टालो जस्ता सामग्रीको सफाइमा ध्यान दिइएन भने भान्साबाटै रोगको संक्रमण हुने सम्भावना अधिक हुन्छ ।

भान्सामा चलाइने रुमालको सफाइमा ध्यान नदिंदा रुमालमै हानिकारक ब्याक्टेरिया उब्जिने कुरा यसअघि १७–२३ असार २०७५ को हिमाल मा आइसकेको छ । (हे. http://nepalihimal.com/article/15813) भाँडा पुछ्ने, हात पुछ्ने, तातो भाडा समाउने (पट होल्डर) जस्ता कामका लागि बेग्लाबेग्लै रुमाल प्रयोग र नियमित सफाइ गरेमा रुमालबाट हुने संक्रमणको सम्भावना कम हुन्छ ।

त्यसैगरी भाँडा माझ्न प्रयोग हुने स्पन्ज, ब्रश वा जालीको नियमित सफाइ नगर्दा त्यसमा हानिकारक जीवाणु उत्पन्न भएर खानामा संक्रमण हुने नर्वेको रिसर्च इन्ष्टिच्यूट नोफिमाले जनाएको छ । स्पन्जले पानीसँगै खानाको अवशेष पनि सोस्ने भएकाले विभिन्न खालका ब्याक्टेरिया उब्जिने गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । त्यसैले स्पन्जको सट्टा ब्रश प्रयोग गर्न इन्ष्टिच्यूटले सुझाव दिएको छ । स्पन्ज नै चलाउनु परेमा बेलाबेला तातोपानी र ब्लिचले सफा गरेर मजाले घाममा सुकाउनुपर्छ ।

चपिङ बोर्डबाट पनि हानिकारक ब्याक्टेरिया र रोगाणु संक्रमणको सम्भावना हुन्छ । मासु काटिने चपिङ बोर्ड र चक्कुको सफाइमा त विशेष ध्यान दिनुपर्छ । काँचै खाइने सलाद वा धनियाँ जस्ता पदार्थ र मासु काटिने चपिङ बोर्ड र चक्कु बेग्लाबेग्लै हुनुपर्छ । त्यस्तै, साबुनदानी, सोप डिस्पेन्सर जस्ता सामान पनि बारम्बार सफा गरिरहनुपर्छ ।

फ्रिजको सफाइ

अचेल फ्रिज आधारभूत आवश्यकता भइसकेको छ तर, त्यसको सफाइमा धेरैको ध्यान गएको पाइँदैन । फ्रिजको भित्री भागलाई प्रत्येक दुई सातामा सफा गरेर जीवाणुरहित भएको सुनिश्चित गर्नुपर्छ । नत्र फ्रिजबाट पनि हानिकारक जीवाणु संक्रमणको सम्भावना रहन्छ । फ्रिज सफा गर्नका लागि तातोपानी र साबुनको प्रयोग उत्तम उपाय हो । यद्यपि बजारमा फ्रिज सफा गर्ने विशेष खालका डिटर्जेन्टहरु पनि उपलब्ध छन् । फ्रिजबाट आउने गन्ध हटाउनका लागि मनतातो पानीमा बेकिङ सोडा हालेर सफा गर्नुपर्छ ।

त्यसैगरी फ्रिजमा पकाएका खाद्यपदार्थ र नपकाइएका फलफूल–तरकारी बेग्लाबेग्लै खण्डमा राख्नुपर्छ । मासु जस्ता छिट्टै संक्रमित हुने पदार्थ बेग्लै खण्डमा राख्दा संक्रमणको सम्भावना कम हुन्छ । मासु, चीज जस्ता पदार्थ डिप फ्रिजमा राख्दा राम्रो हुन्छ । भर्खरै पकाइएको तातो खाना चाहिं केही सेलाइसकेपछि फ्रिजमा राख्नु उपयुक्त हुन्छ । तातो खाना सोझै राख्दा फ्रिजभित्रको तापक्रम बढ्न गई जीवाणु पन्पिने सम्भावना रहन्छ ।

मासु वा तरकारी काटिसकेपछि हात नधोएर एप्रोन वा अन्य रुमालमा पुछ्ने धेरैको बानी हुन्छ, जुन निकै हानिकारक हो । खाना बनाउनु अघि, तरकारी काटिसकेपछि, खाना छोएपछि वा छुनुअघि साबुनपानीले हात धुन र सुक्खा हुन्जेल पर्खन बिर्सनुहुँदैन ।

त्यसैगरी चुल्हो, क्याबिनेट र प्mलोर सहित सम्पूर्ण भान्सालाई साबुनपानीले राम्रोसँग पुछेर सुक्खा पार्नु निकै जरुरी हुन्छ । भान्सा सुक्खा राख्न र पकाउँदा निस्कने धुवाँको निकासका लागि भान्सामा एक्सहस्ट पंखा वा चिम्नी राख्नु उत्तम हुन्छ ।

comments powered by Disqus

रमझम