त्यहाँ ‘हट वाटर बोतल’ रहेछ, तातोपानी सहितको उक्त बोतल नजिक राखेपछि नानी निदाई । नानीको रुवाइबाट दुःखी भएकी कमलाको मुहारमा मुस्कान आयो ।
त्यसलगत्तै कमलाका श्रीमान्ले फोन गरेर नानीको स्वास्थ्यबारे बुझे । उनले छोरीको निकै चिन्ता गरेको सुनेपछि मैले कमलालाई सोधें, “नानीका लागि किन तपाईंहरू यति धेरै चिन्तित हुनुभएको ? बच्चाहरु रोइहाल्छन् नि !”
कमलाले भनिन्, “हाम्रो विवाह भएको ६ वर्षसम्म सन्तान भएनन् । एक वर्षअघि काठमाडौं गएर डा. उमा श्रीवास्तवबाट उपचार गरी जन्माएको हुनाले हामीलाई यो छोरीको धेरै माया लाग्छ । मेरो दुईचोटि उपचार भयो । मसँगै उपचार गराइरहेका चार जनाको त तीन–चार चोटि उपचार गर्दा पनि गर्भ रहेको छैन ।” मैले भनें, “डा. उमा त मेरी साथी हुन् । उसको काम एकदम राम्रो छ ।”
काठमाडौं फर्केपछि मैले डा. उमालाई भनेकी थिएँ, “तिमीले उपचार गरेर जन्मिएकी नानीलाई हेरेर आएँ । तिमीसँग यस्ता केस त धेरै होलान् । उपचारबारे सफलता र असफलताको कथा समेटेर किताब लेख, राम्रो हुन्छ ।”
आज आठ वर्षपछि मेरो हातमा उमाको सन्तान सुख पुस्तक छ । यो पुस्तक एक डाक्टरको कठोर परिश्रमको कथा हो नै, सँगै यसले नेपाली समाजको लैंगिक विभेद पनि देखाएको छ । पुस्तकमा सन्तान नहुँदा महिलालाई मात्र दोष लगाउने, सन्तान नभएको बहानामा महिलालाई अनेक प्रताडना दिएर मानसिक रोगी बनाउने, उपचार गरेर सन्तान भए पनि छोरै हुनुपर्ने चाहना राख्ने परिवारको पनि कथा समेटिएको छ ।
सन्तान नहुँदा श्रीमतीलाई मात्र दोष दिने श्रीमान् पनि कुरा बुझेपछि आफ्नो उपचार गर्न तयार रहेको कथा पुस्तकमा छन् । एक श्रीमान्को वीर्यमा शुक्रकीट रहेनछ । तीन वटी विवाह गर्दा पनि सन्तान नभएपछि उनी डा. उमाको क्लिनिकमा पुगेछन् । उनकी जेठी श्रीमतीले ‘बाँझी’ भन्ने अपमान सहन नसकेर आत्महत्या गरेको, अर्की श्रीमती बच्चा नभएको चिन्तामा ‘डिप्रेसन’ भएर घर छाडेको कुरा पनि डा. उमालाई थाहा भयो ।
ती पुरुषलाई कुरा बुझाएर उनकी कान्छी श्रीमतीले अरुको शुक्रकीटबाट बच्चा जन्माइन् । उमा लेख्छिन्, “पतिको शुक्रकीट नभएर महिलाले आत्महत्या गर्नुपर्ने अवस्था ज्यादै विडम्बनापूर्ण हो ।”
‘बाँझी महिला, बाँझी आइमाई’ भन्ने हाम्रो समाजमा ‘बाँझो पुरुष’ भनेको सुनिंदैन । सन्तान नहुनुमा पुरुषको पनि समस्या हुनेबारे हाम्रो समाज अनभिज्ञ छ भने कतिले ‘मर्दपनको ढोंग’ बोकेर यस्तो कुरा बुझ्न पनि चाहँदैनन् । डा. उमाको पुस्तकले सन्तान नहुनुमा महिलाको मात्रै नभएर पुरुषको पनि समस्या हुने प्रष्ट्याएको छ । उनले उपचारपछि सन्तान जन्माउनेको कथा मात्रै नभएर उपचार असफल भएका कथा पनि पुस्तकमा समेटेकी छन् । उपचार असफल हुँदा आफैंलाई ‘डिप्रेसन’ भएको कुरा पनि उमाले लुकाएकी छैनन् ।
अनियमित महीनावारीका कारण प्रजनन् स्वास्थ्यमा समस्या आएकी एक महिलालाई हर्मोनको सुई दिएर आठ वर्षपछि मात्र गर्भ रहेको कुरा बताउँदै उमा लेख्छिन्, “विवाहअघि महीनावारीमा समस्या छ भने डाक्टरसँग परामर्श लिनुपर्छ ।”
वंशानुगत रुपमै समस्या भएर, महिलाको पाठेघरमा डिम्बको विकास नभएर वा पाठेघर राम्रोसित विकसित नभएको अवस्थामा कहिलेकाहीं उपचार सफल नहुने पनि पुस्तकमा उल्लेख छ ।
एक जना युवतीलाई मोटोपनको कारण पाठेघर र डिम्बमा असर परेको रहेछ । औषधि दिएर महिला गर्भवती भइन् । तर, उनको तौल बढेर ११९ किलो पुगी सास फेर्नै समस्या भएछ । आमा र बच्चा दुवैको ज्यान खतरामा भएकाले ३४ हप्तामै शल्यक्रिया गरेर दुई केजीको बच्चा निकालियो । त्यसैले मोटोपनमाथि ख्याल गर्नुपर्ने डा. उमा बताउँछिन् । मोटोपन कम गर्न खानपिनमा ध्यान दिनुका साथै योग–व्यायाम गर्नुपर्नेमा उमाले जोड दिएकी छन् ।
सन्तान होस् भनेर समाजमा कस्ता–कस्ता प्रपञ्च रचिन्छन् भन्ने पनि पुस्तकमा उल्लेख गरिएको छ । छोराको शुक्रकीट नभएपछि वंश चलाउन एक ससुराले आफ्नै वीर्य प्रयोग गरेर बुहारीले बच्चा जन्माउनुपर्ने बताउँछन्, तर डा. उमाले अस्वीकार गर्छिन् । पैसाको धाक देखाएर उनले “जति पैसा लागे पनि दिन्छु, तर मेरो वंशको सन्तान हुनुपर्छ” भनेपछि उमाले “म त्यस्तो गर्न सक्दिनँ” भन्छिन् । तीन वर्षपछि ती दम्पती उमाकहाँ आएर अन्य दाताबाट वीर्य लिएछन् र सन्तान भएछ ।
एक आँखा नदेख्ने दम्पती सन्तान नभएको भन्दै उपचारका लागि उमाकहाँ आएछन् । केही समय परामर्शपछि ती दम्पतीलाई सन्तान भएछ । परामर्श मात्रले पनि कतिपयलाई सन्तान भएको उमाले लेखेकी छन् । आजकाल ‘परामर्श’ दिने इच्छा प्रायः स्वास्थ्यकर्मीले राखेको पाइँदैन ।
स्वास्थ्यकर्मीको बोली–वचन, हाउभाउ र व्यवहार पनि उपचारमा महत्वपूर्ण हुने किताबका कतिपय घटनाले पुष्टि गर्छन् । उमाले आफूले उपचार गर्ने पद्धतिमा पनि समस्या हुनसक्ने स्वीकारेकी छन् ।
पुस्तकको दोस्रो भागमा डा. उमाले आफ्ना वैयक्तिक अनुभव पनि समेटेकी छन् । उपचारपछि गर्भ रहँदा पनि छोरी भए गर्भपतन गर्ने कतिपयको मानसिकता देखेर खिन्न बनाउँछ, लेखिकालाई ।
तराईका एक निसन्तान दम्पतीको उपचारपछि पत्नीलाई गर्भ रहन्छ, यो कुरा सुनाउँदा दम्पती दुवैले प्रश्न गरेछन्– “छोरा कि छोरी ?” उमाले भनिछन्, “हामीले छोराछोरी के छ भनेर हेर्दैनौं ।”
तर, ती दम्पतीले अरु डाक्टरबाट जँचाएर आएछन् । उमाले ती दम्पतीलाई बेस्सरी झपारिछन् । पुस्तकमा आफ्नो सन्तान नभए ‘धर्मपुत्र’ पाल्ने सल्लाह पनि दिइएको छ ।